माइभ्याली गोल्डकपको तयारी तीव्र, दर्शकका लागि बाँसका प्यारापिट (फोटोफिचर सहित)

नयाँ बुलन्द

इलाम : इलाममा सञ्चालन हुन लागेको चौथो अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको तयारी तीब्र पारिएको छ । जिल्लामा हरेक वर्ष महासंग्रामको रुपमा आयोजना गरिने गोल्डकपको ९९ प्रतिशत तयारी पूरा भएको आयोजक माईभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिए ।

६ देखि १७ वैशाखसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्यारापिट निर्माण गरिएको छ । करिब १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण भएको आयोजकले जनाएको छ ।

मैदानमा पक्की प्यारापिट नभएपछि बाँसको प्यारापिट निर्माण गर्नुपरको अध्यक्ष धिरेन चम्जोङले बताए । मैदानको माथिल्लो भागमा माटोको प्यारापिट भएपनि तीनतिरको भागमा वर्सेनि बाँसको प्यारापिट निर्माण गर्नुपर्ने बाध्यता छ । श्रमिक र बाँसको मूल्य पनि बढ्दै गएकाले आयोजकलाई आर्थिक भार बोझिलो बन्दै गएको छ । जसका कारण हरेक वर्ष प्यारापिट व्यवस्थापनमा हम्मे पर्ने गरेको छ ।

यसवर्ष आठ लाख रुपैयाँ खर्चेर प्यारापिट निर्माण गरिँदै छ । दुई हजार घना बाँस आवश्यक पर्ने प्यारापिट निर्माणमा वर्षेनी लाखौं खर्चिदै आएको छ । विगतका तीन वर्षमा बाँसको प्यारापिट निर्माणमा मात्र २५ लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ ।

एकपटक प्रयोग भएको बाँस अर्को पटक काम नलाग्ने हुँदा बर्सेनि ठूलो परिमाणमा किन्नुपर्ने बाध्यता छ । प्रतियोगिता सकिएपछि लाखौं खर्चेर किनेको बाँस कौडीको मूल्यमा बेच्ने गरेको आयोजकको भनाइ छ ।

यस संस्करणमा नेपाल, भारत र बंगलादेशका १२ टिमको सहभागिता रहनेछ । भारतको दुर्गापुर स्टिलक्लब, सिक्किम युनाईटेड, बंगलादेशको एएचएम कामारुजमान, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, संकटा, थ्रीस्टार, मनाङ–मरस्याङ्दी, झापा ११, कास्की ११ र आयोजक माइभ्याली फूटबल क्लबले प्रतिष्पर्धा गर्नेछ ।

विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपबिजेताले चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले यमाहाको १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछ । त्यसैगरी सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ र म्यान अफ दि म्याचले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

२०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार