सुर्खेत : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको समग्र विकासका लागि यहाँको वस्ती आधुनिक ढंगले विस्तार गर्नु पर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीको सम्मानमा मध्यपश्चिम विश्व विद्यालयले आयोजना गरेको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको बिकट भूगोलका कारण अहिले कै अवस्थामा सबै जनतालाई विकाशका पूर्वाधार पु¥याउन मुस्किल भएकोले आधुनिक ढंगले बस्ती विस्तार गर्नुपर्ने बताएका हुन् । “कर्णाली आर्थिक र मानव विकाश सुचकांकका दृष्टिले पछाडि परेको छ” प्रधानमन्त्री ओलीले भने, “तर सरकारले यस प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाइरहेको छ ।”
कर्णाली प्रदेशको सिमाना दक्षिणी छिमेकीसंग नजोडिएकोले उत्तरी छिमेकसँग जोडिएका सबै नाका खोल्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “कर्णाली प्रदेश दक्षिणी मित्रराष्ट्रसंग जोडिएको छैन” प्रधानमन्त्री ओलीले भने “त्यस कारण उत्तरी छिमेकीसंगका नाका खोल्नुु पर्छ ।”
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशलाई बिषादीमुक्त प्रदेश बनाउन सकिने बताएका छन् । अन्य प्रदेशमा यस्तो सम्भावना कम भए पनि कर्णाली प्रदेशमा यस्तो सम्भावना रहेको बताए ।
प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशबाटै समृद्धिको यात्रा सुरु गरिने स्पष्ट पारेका छन् । आफ्नो तीन दिने कर्णाली भ्रमणका क्रममा यहाको भूगोल, जनजीवन, सम्भावना, चुनौति आदि पक्षका बारेमा प्रत्यक्ष जानकारी लिन पाएको बताए ।


















































