श्रीअन्तु : चिया उत्पादनको सिजन सुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी नेपाल भित्रिन थालेका छन् । गुणस्तरिय चिया छनौट र खरिदका लागि उनीहरु यहाँ आएका हुन् । चियाको राजधानी मानिएको इलाममा हाल विभिन्न देशका नागरिकहरु (चिया ब्यापारी) इलाम आएका छन् । उनीहरुले चियाको स्वाद चाख्नुका साथै गुणस्तरिय र अग्र्यानिक चिया खोजी गर्दछन् । यहाँ उत्पादित चिया तेस्रो मुलुक निर्यात गर्न तिनै ब्यापारीहरुको प्रयोग गर्नुपर्ने हुन्छ । सूर्योदय नगरपालिका र साना चिया ब्यवसायी किसानहरुको आयोजनामा इलाममा तेस्रो चिया महोत्सव समेत सम्पन्न भएको छ । सूर्योदय नगरपालिका वडा नम्बर चार श्रीअन्तुमा भएको महोत्सवमा आठ देशका १७ जना नागरिकहरु समेत यहाँ आएका छन् । उनीहरुले यहाँ उत्पादन भएका विभिन्न कम्पनीका चिया समेत चाखेका थिए ।
आफुलाई मन परेको चियाको स्वाद सहित कम्पनी छनौट समेत गर्दै उनीहरुले चियाको अर्डर गर्नेछन् । २१ वटा साना चिया किसान तथा उद्योगीहरुले उत्पादन गरेको चिया स्वाद परिक्षणका लागि राखिएको थियो । विदेशी ब्यापारीहरुले समेत नेपाली चिया प्रति आफुहरुको आकर्षण बढेको बताएका थिए । गुणस्तरिय चिया छनौटकै लागि आफुहरु चियाको बुट्टा भएकै स्थानमा आएको बताउँदै उनीहरुले किसानलाई अब पनि गुणस्तरिय चिया उत्पादन गर्न हौसला प्रदान गरेका थिए । पर्यटकिय स्थल अन्तुमा भएको कार्यक्रममा ब्यवसायीहरुले साना चिया किसानहरु अझैपनि तल परेको धारणा राखे ।
अन्तराष्ट्रिय बजारमा नेपालको चिया पुगे पनि भर्खरै मात्र नेपालमा चियाको आफ्नो लोगो पाएकोमा आफुहरु खुसी भए पनि एकलौटी ढंगबाट लोगो प्रयोग हुने किसानहरुको भनाई छ । होड्पा र ठुला चिया उद्योगीहरुले लोगो आफुखुसी प्रयोग गर्ने भन्दै उनीहरुले चिन्ता ब्यक्त गरेका हुन् । चिया उद्योगी सुजन नेपालले नेपाली चियाको लोगो ठुला ब्यपारी र उद्योगीको हातमा आएको र उनीहरुले मात्र यसलाई प्रयोग गर्ने धारणा राखेका थिए । सबै किसान र ब्यापारीहरुले गर्व गर्नेगरी लोगो प्रयोग गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका थिए ।


















































