‘इलाम : हाम्रो गौरव’ को लोगो सार्वजनिक

नयाँ बुलन्द

इलाम : इलाम सदरमुकाम (खलंगा) स्थापनाको दुई सय वर्ष पूरा भएको अवसरमा ‘इलाम : हाम्रो गौरव’ भन्‍ने मुल नाराको साथ २०७५ भर विभिन्न कार्यक्रम गरि मनाईने वर्षगाँठको आधिकारिक लोगो सार्वजनिक गरिएको छ ।

१८७५ मा स्थापना भएको इलाम सदरमुकाम (खलंगा) ले आगामी साल दुई सय वर्ष पूरा गर्दैछ । यस सन्दर्भमा तयार गरिएको लोगोको निर्माण तथा सम्पादन डा. योगेन्द्रमान श्रेष्ठ, विशिष्ट नागरिक युद्धप्रसद वैद्य, नवराज शंकर र जनक रेग्मीले गरेका हुन् ।

मन्दिर, जङ्गी निसान झल्कनेगरी प्रतिकात्मक राष्ट्रिय झण्डा, शान्तिको प्रतीक परेवा, पहाडी भु-वनावट र चिया झल्किने लोगोमा ‘इलान : हाम्रो गौरव, इलाम सदरमुकाम (खलंगा) स्थापनाको २०० वर्ष, वि.सं. १८७५-२०७५’ लेखिएको छ ।

वर्षभरी गरिने कार्यक्रमको आगामी वैशाख १, २ र ३ गते विशेष समारोहको आयोजना गरि राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिने इलाम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याङ्गले जानकारी दिए ।

वर्षभरी गरिने कार्यक्रमहरुको व्यवस्थापन/संयोजन उपसमितिको संयोजक नवराज शंकरले “इलाम : हाम्रो गौरव” को लोगो अङ्कित टिकट प्रकाशनको काम अघि बढाइएको बताए । ‘वर्षभरी गरिने कार्यक्रमहरुको तयारी तीब्र गतिमा अघि बढाइएको छ’ संयोजक शंकरले भने, ‘यसको लागि संरक्षक समिति, एक हजार एक सदस्यीय मुल समारोह समिति, ३७ सदस्यीय सचिवालय र १९ वटा उपसमिति गठन गरिएको छ ।’

वर्षगाँठको उद्घाटनको अवसरमा इलाम नगरपालिकाले इतिहासविद, इलामविद युद्धप्रसाद वैद्यलाई विशिष्ट नागरिकको रुपमा सम्मान गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार