राम योङहाङ
इलाम : रामनवमीको असवरमा इलामको सन्दकपुर गाउँपालिका ५ जमुनास्थित ढाप पोखरीमा साँस्कृति महोत्सव हुने भएको छ ।
जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको ढाप पोखरीमा आगामी १० र ११ चैतमा महोत्सवको आयोजना गर्न लागिएको आयोजक चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष विप्लव भट्टराईले जानकारी दिए । आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक आयोजना गर्न लागिएको महोत्सवमा ५० हजार बढी पर्यटक भित्र्याउने लक्ष्य आयोजकको छ ।
महोत्सवका लागि आन्तरिक तयारी सुरु भएको छ । ‘रामनवमीमा ढाप पोखरी जाउँ, आन्तरिक पर्यटन प्रर्वधनमा सहयोग पुर्याउ’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा विविध जातिय संस्कृतिसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहनेछ ।
महोत्सवमा विभिन्न प्रजातिका वनस्पति, जडबिुटीहरु, स्थानीय हस्तकला र विभिन्न कृषिजन्य वस्तुहरुको अवलोकन प्रमुख आकर्षण बन्नेछन् । महोत्सवमा ढाप पोखरीमा डुङ्गा सयर गर्न साथै हाँगेथाम, चोयाटार, जौवारीलगायत रमणीय स्थलको घुमघामसँगै लोपोन्मुख रेडपाण्डाको समेत अवलोकन गर्न पाईनेछ ।
महोत्सवमा कलाकारहरु कुवेर राई, गणेश पराजुली, यशोदा पराजुली, इन्द्र गुरुङ, कोमल निरौला, देवि गौतम, रगुन गुरुङ, पुजन प्रधान, भुपेन्द्र राई, राजेश चाम्लिङ, प्रकाश वस्नेत, महेन्द्र लिङदम, रमेश बोखिम, बृज प्रधान, कृष्ण भट्टराई, युगल क्षेत्री टंकमणि भट्टराई लगायतको प्रस्तुती रहनेछ । साथै युनिक डान्स सेन्टरको कौडा, मारुनी, संगिनीलगायत मोर्डन नृत्र्य सहित विभिन्न खेलकूद कार्यक्रम समेत सञ्चालन हुने जनाईएको छ ।
स्थानीयको सक्रियतामा निर्मित ढापपोखरी

ढापपोखरी सदरमुकाम इलाम बजारबाट २१ किलोमिटर उत्तरमा पर्दछ । स्थानीयको सक्रियताका अढाई वर्षअघि निर्माण गरिएको सो पोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । क्षेत्रफलको हिसाबले यो जिल्लाकै सबैभन्दा ठूलो पोखरी मानिएको छ ।
१ वैशाख २०७२ मा करिब एक हजार स्थानीय भेला भएर पोखरीको निर्माण र विस्तार थालिएको थियो । दलदल र सिमले भरिएको उपत्यका जस्तो क्षेत्रमा स्थानीयले बाँस, हिलोमाटो र ढुंगाको बाँध बनाएर पानी जमाउन थालेका थिए । स्थानीयले लागातार दुई सातासम्म श्रमदान गरेर पोखरीको आकार बढाइएका थिए ।
जति पोखरीको आकार बढ्यो उति नै स्थानीयमा पनि उत्साह थपिँदै गयो । चर्चा परिचर्चासमेत बढ्ने र घुमघामका लागि आउने क्रम सुरु भएपछि पोखरीलाई थप बृहत् बनाउँदै व्यवस्थित बनाउने उद्देश्यले सरोकारवालको ध्यान त्यतातिर जान थाल्यो ।
पोखरी विस्तारसँगै पर्यटन गन्तव्य निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, जिल्ला भू–संरक्षण कार्यालय, साविक जिल्ला विकास समिति, साविक जमुना गाविस, निर्वाचन क्षेत्र पूर्वाधार विषेश कार्यक्रम, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला कृषि विकास कार्यालयलगायतले सघाएको थियो ।
हाल त्यस पोखरीमा करिब सात हजार माछा समेत हालिएको छ । समितिले दुईवटा डुंगा समेत संचालन सुरु गरेका छन् । ढुङ्गा सञ्चालन सुरु भएपछि पर्यटकको आवागमनमा समेत वृद्धि भएको चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष भट्टराईले बताए ।
पोखरीको संरक्षणले जैविक विविधताको संरक्षणका साथै अन्य पर्यटन स्थललाई पनि फाइदा पुगेको भट्टराईका भनाई छ । ‘नजिकैको जौवारी, हाँगेथाम, चोयाटार, टोडे झर्ना, माइपोखरी, मावुथाम, चोयाटार, सन्दकपुर, प्याङपातललगायत स्थानमा पुग्न र त्यहाँबाट पोखरीको रमणीयतामा रमाउन पनि पर्यटकलाई सहज हुने ठानेका छौं,’ अध्यक्ष भट्टराईले भने, ‘यो पोखरीले जमुनाको मात्र हैन जिल्लाकै पर्यटकीय गतिविविधि बढाउँदै उत्तरी गाउँका बासिन्दाको आयस्तरमा उल्लेख्य योगदान गर्ने छ ।’
यस पोखरीलाई धार्मिक आस्थाको केन्द्रका रूपमा पनि मानिँदै आएको छ । हरेक वर्ष १ वैशाखमा हिन्दु, बौद्ध, किरातलगायत धर्मावलम्बीले सामूहिक रूपमा पूजाआजा गर्ने चलन छ । जिल्लाकै पुरानो माइखोलामा पुल बनाउनेसहित उल्लेख्य सामाजिक काम गरेका चन्द्रपाल थेवेको नाममा सो पोखरीको नामकरण गरिएको हो ।


















































