नयाँ पर्यटकीय गन्तव्य बन्दै ढापपोखरी

इलाम : स्थानीयको संरक्षणपछि विस्तारित र व्यवस्थित बनेको सन्दकपुर ५ स्थित जमुना २ मा रहेको ढाप सिमसार क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

सदरमुकाम इलाम बजारबाट २१ किलोमिटर उत्तरमा रहेको यो पोखरी स्थानीयको पर्यटन विकास प्रतिको मोह र सक्रियताका कारण अढाई वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भए पनि आवश्यक पूर्वाधारकालागि बजेट अभावले समस्या छ ।

क्षेत्रफलको हिसाबले जिल्लाकै ठूलो मानिएको पोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । विस्तार गर्ने पर्याप्त ठाउँ रहेकाले आवश्यकताअनुसार पोखरीको क्षेत्रफल बढाउन सकिने अवस्था छ । पोखरीको सौन्दर्यताले आसपास गाउँका मात्र हैन पूर्वी नेपाल, सीमापारी भारतीय दार्जिलिङ र पश्चिमा पर्यटकको पनि आवागमन सुरु भएको छ । नयाँ वर्ष २०७४ लाई स्वागत गर्न ढापपोखरीमा आयोजित कार्यक्रममा चार हजार धेरै सहभागी भएर स्थानीयलाई पर्यटन प्रवद्र्धनका लागि थप हैसला प्रदान गरे ।

२०७२ वैशाख १ गते करिव एक हजार भेला भएर पोखरीको विस्तार थालिएको हो । दलदल र सिमले भरिएको उपत्यका जस्तो क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलोमाटो र ढुंगाको बाँध बनाएर काम थालिएको हो । उही बेला निरन्तर दुई सातासम्म श्रमदान गरेर पोखरीको आकार बढाइएको थियो । जति पोखरीको आकार बढ्यो उति नै स्थानीयमा पनि उत्साह थपिँदै गयो । चर्चा परिचर्चासमेत बढ्ने र घुमघामका लागि आउने क्रम सुरु भएपछि पोखरीलाई थप बृहत् बनाउँदै व्यवस्थित बनाउने उद्देश्यले सरोकारवालको आँखा पोखरीमा पर्न थाल्यो । त्यहाँसम्म पुग्ने सडकको विग्रदो अवस्थाले भने स्थानीयलाई चिन्तित बनाएको छ ।

पोखरी विस्तारसँगै पर्यटन गन्तव्य निर्माणका लागि मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, जिल्ला भू–संरक्षण कार्यालले सघाएका हुन् । ‘जैविक विविधता रक्षासँगै पर्यपर्याटनको अथाहा सम्भावनासँगै जमुनावासीको पर्यटन मोह देखेर साथ दिएका हौं,’ भू–संरक्षण कार्यालय प्रमुख बिजेन्द्र कृष्ण सिंहले भने । साविक जमुना गाविस, जिविस, निर्वाचन क्षेत्र पूर्वाधार विषेश कार्यक्रम, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला कृषि विकास कार्यालयलगायतले सघाउँदै आए पनि स्थानीयको योजनाअनुसार पर्याप्त हुन सकेको छैन ।पोखरीमा करिब सात हजार माछा हालिएको छ । डुंगा संचालनको तयारीमा स्थानीय लागेका छन् । जमुनाको हागेथाम, चोयाटार र जौवारीमा रेडपाण्डा पाइन्छ । हाागेथाममा कााडेभ्याकुरलगायत विभिन्न चराचुरुङ्गीको बासस्थान छ । ढापपोखरीमा लोपन्मुख ठकठके (सुन गोहारो) लगायतका जिव छन् । यो पोखरीको संरक्षणले जैविक विविधताको रक्षामा ठूलो योगदान पुगेको महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्वप्रमुख युद्ध वैद्यको धारणा छ । जिल्लाका उत्तरी गाविसका पर्यटकीय स्थलहरूको केन्द्रमा पर्ने भएकाले यसले अन्य पर्यटन स्थललाई पनि फाइदा पुग्ने स्थानीयको भनाई छ । ‘नजिकैको जौवारी, हाँगेथाम, चोयाटार, टोडे झर्ना, माइपोखरी, मावुथाम, चोयाटार, सन्दकपुर, प्याङपातललगायत स्थानमा पुग्न र त्यहाँबाट पोखरीको रमणीयतामा रमाउन पनि पर्यटकलाई सहज हुने ठानेका छौं,’ चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिका उपाध्यक्ष निरबहादुर फागोले भने, ‘यो पोखरीले जमुनाको मात्र हैन जिल्लाकै पर्यटकीय गतिविविधि बढाउँदै उत्तरी गाउँका बासिन्दाको आयस्तरमा उल्लेख्य योगदान गर्ने छ ।’

चाँडै डुंगा सञ्चालन गरिने भएकाले आगन्तुक संख्या बढ्ने छ । जसका कारण यहाँ उल्लेख्य मात्रामा पर्यटक भित्रिने आशा रहेको सदस्य नेत्रबहादुर गुरुङले बताए । यो पोखरीलाई धार्मिक आस्थाको केन्द्रका रूपमा पनि मानिँदै आएको छ । हरेक वर्ष वैशाख १ गते हिन्दु, बौद्ध, किरातलगायत धर्मावलम्बीले सामूहिक रूपमा पूजाआजा गर्ने चलन बसेको छ । जिल्लाकै पुरानो माइखोलामा पुल बनाउनेसहित उल्लेख्य सामाजिक काम गरेका चन्द्रपाल थेवेको नाममा पोखरीको नामकरण गरिएको हो । वि.सं. १९६० देखि निर्माण थालेर ०६४ मा पुलको निर्माण सकिएको थियो । मुलुक नयाँ संरचनामा गएकाले यहाँको प्रमुख आम्दानीको स्रोतका रूपमा पोखरी रहन सक्ने वडाध्यक्ष जितबहादुर सावा बताउँछन् ।

पानीका स्रोत बढे
पानीका स्रोत सुकेर गाउँ नै खाली हुँदै गएको अवस्थामा इलामको सन्दकपुर ५ जमुनामा भने पानीका स्रोत बढेका छन् । ढाप सिमसार क्षेत्रलाई पाखरी बनाउन थालिएपछि त्यस तल रहेका खानेपानीको स्रोतमा पानी बढेको हो । गाविसको तीन र चार नम्बर वडामा रहेका खानेपानीका स्रोत बढेपछि स्थानीय थप उत्साहित भएका छन् । जमुना बजारलगायत ५० घर उपभोक्ता रहेको सेलेले मुहानमा पोखरी विस्तार थलिएलगत्तै पानीको स्रोत बढेको स्थानीय बताउँछन् । ‘यसअघि लोडसेडिङ गरेर आलोपाले पानी खानुपर्ने बाध्यता थियो,’ उपभोक्ता भरत थेवेले भने, ‘पोखरीमा पानी भरिँदै गएपछि त्यो समस्याबाट मुक्ति मिलेको छ ।’

धारामा पानी आउने क्रम बढेपछि पानीको जोहोका लागि लामो समय खर्चनुपर्ने बाध्यता हटेको स्थानीय बताउँछन् । साउन भदौमा मात्र मूल फुट्ने ती स्रोतहरूमा अहिले हिउँद बर्खै पानी पर्याप्त हुने गरेको छ । बाक्लो बस्ती र भरपर्दो पानीको स्रोत नभएकाले पोखरी तलका बस्तीहरूमा खानेपानीको चरम अभाव खडकने गरेको थियो । यस क्षेत्रमा बर्खामा पानी आउने र हिउँदमा सुक्ने दुई दर्जनभन्दा धेरै पानीका मुहान छन् ।पोखरीबीचमा सेल्फी डाँडा
पोखरीको दक्षिणी क्षेत्रमा मााटोको डाँडा बनाइएको छ । यसलाई मजबुत बनाउँदै सुन्दर पार्क बनाउने समितिको लक्ष्य छ । पाखरीको आकर्षक विन्दु हुने ठानिएको यो डाँडालाई स्थानीयले सेल्फी डाँडा उपनाम दिएका छन् । पानी सुकाएर सतहभन्दा तलबाट ढुंगाको पर्खाल बनाउँदै माथि पार्क हुनेछ । रेलिङ सहित पर्यटक बस्ने मेच बन्ने छ । यो स्थानलाई सुन्दर बनाउँदै पूर्वी ड्याम साइडमा ठूलो मैदान बनाउने कार्य जारी छ । जसका कारण पोखरी मजबुत हुने र विभिन्न कार्यक्रम गर्न र संरचना बनाउन पर्याप्त स्थान मिल्ने सचिव तिलबहादुर खाम्दाक बताउँछन् ।

पोखरी आशपास भ्युटावर, चौतारा, पार्क, मन्दिरलगायतका संरचना बन्ने छन् । योजनाअनुसार काम गर्न आर्थिक स्रोतको अभाव छ । पोखरीको आकार बढदै गएपछि देखिएको चहलपहलका कारण आवश्यक सहयोग पाए चाँडै ढापपोखरी जिल्लाकै प्रमुख पर्यटकीय स्थल बन्नेमा बन्नेमा शंका नभएको समिति सदस्य रमेश भट्टराईको बुझाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार