विप्लव भट्टराई
इलाम : प्रशस्तै सम्भावना भए पनि जिल्लाको पश्चिमी क्षेत्रमा रहेका पर्यटकीय स्थलको प्रवद्र्धन हुन सकेको छैन । जैविक विविधता, धार्मिक आस्था र दृश्यावलोकनका लागि महत्त्वपूर्ण रहे पनि पूर्वाधार विकास र प्रचारको अभावमा यी क्षेत्रहरू ओझेलमा परेका हुन् ।
माङसेवुङ गाउँपालिकामा रहेको माङमालुङ, गजुरमुखीधाम, मिक्लाजुङ, राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मस्थल चुक्चिनाम्बाजस्ता क्षेत्र पर्यटकीय गतिविधि बढ्न सकेको छैन । भौतिक पूर्वाधार विकास र प्रचारप्रसारको पर्खाइमा रहेको माङमालुङ पूर्वकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको सम्भावना बोकेको स्थान हो ।
हिमशृंखला दृश्यावलोकन अनौठो प्रकृतिक चट्टान, जैविक विविधतासँगै किरात धर्मावलम्बीहरूको तीर्थस्थल रहेकाले यो क्षेत्र महत्त्वपूर्ण मानिन्छ । सदरमुकामबाट करिब ५० किलोमिटरको दूरीमा रहेको यो क्षेत्रमा सडकको राम्रो व्यवस्था हुने हो भने पूर्वी नेपालको गतिलो पर्यटकीय क्षेत्र बन्नेमा स्थानीयवासी आशावादी छन् ।
प्राकृतिक र धार्मिक विषेशतालाई उजागर गर्दै पर्यटन प्रवद्र्धनका लागि स्थानीयले गएको चैतमा महोत्सव सञ्चालन गरेर पर्यटन विकासमा स्थानीयवासीको अभिरुचि देखाए । पर्यटन विकास समिति गठन गर्दै पूर्वाधार विकास र प्रचार प्रसारलाई पनि स्थानीयले तीव्रता दिएका छन् ।
स्थानीयले आफ्नै प्रयासमा पर्यटकीय क्षेत्रमा पदमार्ग, चौतारा निर्माण गर्दै नियमित सरसफाइ गर्ने गरेका छन् । पछिल्लो समय मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले केही पूर्वाधार निर्माण गरे पनि पर्याप्त छैन । दुई हजार मिटरको उचाइमा रहेको माङमालुङ डाँडामा एउटै औंलाले हल्लाउन सकिने ठूलो ढुङ्गा आकर्षणका रूपमा रहँदै आएको छ । ‘पहरामाथिको ठूलो ढुंगालाई एउटै औंलाले नै हल्लाउन सकिन्छ ।
पटकपटकका ठूला भूकम्पको धक्काले पनि ढुंगा जहाँको त्यहीं रहनुले थप आश्चर्यका रूपमा पनि रहँदै आएको छ,’ स्थानीय रमा लिम्बूले भनिन्, योसँगै यहाँ रहेका धार्मिक र पर्यटकीय महत्त्वका बस्तुहरूलाई उचित प्रचार र सडकसहितका पूर्वाधार विकास गर्ने हो भने यो गाउँपालिकावासीको आम्दानी बन्ने सम्भावना छ ।’
किराती भाषामा माङमालुङको अर्थ देवता ढुङ्गा भन्ने हुन्छ । यो ढुङ्गालाई अर्को पाटाबाट हेर्दा मान्छेको अनुहारजस्तै भान हुन्छ । झट्ट हेर्दा पल्टिएर गइहाल्लाझैं लाग्ने यो ढुङ्गा सदियौंदेखि जस्ताको तस्तै अवस्थामा छ । सडक, विद्युतजस्ता विकासको पूर्वाधारमा पछि परेकै कारण सम्भावना भएर पनि यो क्षेत्रको विकास हुन नसकेको स्थानीय जयप्रकाश राई बताउँछन् ।
प्राकृतिक सौन्दर्य र धार्मिक सद्भावको यो स्थानमा ईश्वरीय शक्ति रहेको स्थानीयवासी विश्वास गर्छन् । यही क्षेत्रमा सर्पको आकृतिजस्तो ढुङ्गा पनि छ । विभिन्न आकृतिका ढुंगा, गुफालगायतका प्राकृतिक सम्पदा, जैविक विविधता र रैथाने जनवार पक्षीसमेत पाइने यो क्षेत्रबाट तराईका फाँट अनि हिमशृंखला नियाल्न सकिन्छ । माङमालुङ पुग्न झापाको दमकबाट हिउँदयाममा करिब ३० किलोमिटरको मोटर यात्रा तय गर्नुपर्छ । दमक रवि सडक खण्डअन्तर्गत हिउँद बर्खा नै मोटर चल्न सक्ने अवस्था
भए त्यहाँको पर्यटन विकासले उचाइ लिने सम्बन्धितको भनाइ छ ।
पर्यटन प्रवद्र्धनको चेतना पुगिसकेको यो गाउँमा व्यवस्थित ठूला होटल नभए पनि खान र बस्नको प्रबन्ध राम्रै मिलाइएको छ । राई र लिम्बू समुदायको बसोबास धेरै रहेको यो क्षेत्रमा आगन्तुकले यी जातिका परम्परागत भेषभूषा, संस्कृति र खाद्यान्नबाट पनि आनन्द लिन सक्छन् । यही गाउँपालिकामा पर्ने अर्को सम्भावनाको धार्मिक स्थान हो गजुरमुखी धाम । मनोकांक्षा पूरा हुने आशामा नेपालबाट मात्र नभएर भारतबाट पनि श्रद्धालुहरू यहाँ आउने गर्छन् । मंसिरे पूर्णिममा ठूलो मेला लाग्ने गजुरमुखी धाममा हिउँद बर्खा नै श्रद्धालु पुग्ने गरेका छन् ।
तुलनात्मक रूपमा यो क्षेत्रमा सडक अवस्था राम्रो छ । धाम आसपास होटल र लज खुल्ने क्रम बढदै गएकाले बजारको रूप लिँदै गएको छ । विकट मानिने देउमाई पारिको यो क्षेत्रमा दुई दर्जनभन्दा धेरै घर निर्माण भएका छन् । पश्चिमी व्यापारिक केन्द्र मंगलबारेदेखि गजुरमुखीसम्मको १८ किलोमिटर सडक ग्राभेल भएको छ । ‘२०/२२ वर्षअघि यो क्षेत्र जंगलामुलुक थियो,’ सीमावर्ती धुसेनीका लक्ष्मण ढुंगेलले भने, ‘मान्छे आउनेक्रम बढेपछि सहरको रूप लिँदै गएको छ ।’
शनिबार र मंगलबार सात/आठ सयसम्म श्रद्धालु पुग्छन् । सदरमुकामसँगै झापाको बिर्तामाड र दमकबाट पनि सीधा यातायात सञ्चालन हुन थालेको छ । नियमित चल्ने गाडी भएकाले एक रातको बासपछि बिहान दर्शन गरेर फिर्न सकिन्छ । यहाँको धार्मिक आस्था नयाँ हैन । परापूर्वकालदेखि नै साक्षात देवीको अवतार भएको विश्वासमा टाढाका भक्तजन पनि पुग्ने गरेका हुन् । नेपालभर र दक्षिण भारत, असम, पश्चिमबंगाल, भुटान, सिक्किमबाट दर्शनका लागि आउने उल्लेख्य भेटिन्छन् ।
भारतीयहरूले असमको कामाक्षको बहिनीका रूपमा गजुरमुखीलाई विश्वास गर्ने गरेको पुजारी बताउँछन् । सन्तान र बोली माग्नेहरू यहाँ धेरै आउँछन् । यही गाउँपालिकाको अर्को धार्मिक पर्यटनका आधार बन्दै गएको क्षेत्र हो माङसेवुङ । यही स्थानको नामबाट गाउँपालिकाको नामकरणसमेत गरिएको हो । किरात धर्मस्थस्लका रूपमा परिचित माङसेवुङ धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास हुँदै गएको छ । धार्मिक भावना बोकेर नै यो क्षेत्रमा पुग्नेहरूको कमी हुँदैन । धर्मगुरु आत्मनन्द लिङदेनको बासस्थान रहेको यो क्षेत्रमा गुरुको जन्मोत्सवका अवसरमा महोत्सव नै सञ्चालन हुने गरेको छ ।
झापाको दमकबाट करिब २० किलोमिटर उत्तरमा रहेको यो क्षेत्र पुग्न सडकको दुरावस्थाले भने निक्कै कठिन हुन्छ । दमकबाट रतुवाखोला तिरैतिर सडक निर्माणाधीन छ । झापाको बिर्तामोडबाट दानाबारी, महमाई हुँदै पनि माङसेवुङ पुग्न सकिन्छ । माइखोलामा पुल निर्माण भइनसकेकाले बर्खायाममा भने सवारीका साधन सञ्चालन हुँदैनन् । किरात धर्मावलम्बीको भाषा, लिपि, संस्कृतिलगायत विभिन्न पक्षको अध्ययनका लागि यहाँ पश्चिमा पर्यटक पनि आउने गरेका छन् । मासुमंश, मदिरा र सूर्तीजन्य पदार्थ निषेध गरिएको यो क्षेत्रमा होमस्टेमा पर्यटकलाई राख्ने गरिएको स्थानीय सुमन लावतीले बताए ।
‘माङसेवुङ गाउँपालिकाका मुख्य धार्मिक र पर्यटकीय क्षेत्रको गुरुयोजना निर्माणका काम अघि बढाएका छौं,’ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङगोले भने, ‘समग्र पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी आगामी वर्षमा योजनाअनुसार काम गर्नेछौं ।’ माङसेवुङ गाउँपालिकाकै अर्को महत्त्वपूर्ण स्थल हो इभाङस्थित चुक्चिनाम्बा । राष्ट्रिय विभूति धर्मगुरु फाल्गुनन्दको जन्मस्थान चुक्चिनाम्बाको प्रवद्र्धनका लागि स्थानीयसँगै सरोकारवाला क्रियाशील छन् ।
१९४२ सालमा जन्मिएका फाल्गुनन्दले सात वर्षको उमेरदेखि नै ज्ञान प्राप्त गरेर समाज सुधारमा लागेको किरात धर्मालवम्बीहरूको विश्वास छ । भारतीय सेनामासमेत काम गरेका फाल्गुनन्दले फर्केर धर्म प्रचारमा लागेका थिए । सरकारले राष्ट्रिय विभूति घोषणा गरेसँगै उनको सम्झना गर्ने क्रम बढेको छ ।
अहिलेसम्म कालोपत्रेले नछोएको र चुरे क्षेत्र, खोलानाला र सदरमुकाम टाढा भएका कारण यो क्षेत्र पिछडिएको हो । मुलुक संघीयतामा गएसँगै कषि र पर्यटनलाई यस क्षेत्रको प्रमुख आम्दानीको स्रोत बनाउने ध्याउन्नमा स्थानीय लगेको पनि सम्बन्धित क्षेत्रमा पर्याप्त बजेट नछुट्टिँदा समस्या छ । कान्तिपुरबाट