“विकासलाई निकास दिन्छु” : केशव थापा

इलाम जिल्ला निर्वाचन क्षेत्र नम्वर दुईबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएका नेपाली कांग्रेस इलामका पूर्व सभापति तथा ब्यवस्थापिका सांसदका निवर्तमान सांसद केशव थापा यतिबेला जनताको घरघरमा मत माग्दै आफु र आफ्नो पार्टीलाई जिताउन साथै लोकतन्त्रको रक्षा गर्न आग्रह गरिरहेका छन् । उनै थापासँग चुनावकै पेरीफेरीमा रहेर संक्षिप्त कुराकानी गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वारी मनोनयन दर्ता गराउनु भएको छ, किन र के का लागि तपाईको उम्मेद्वारी ?

मेरो उम्मेद्वारी लोकतन्त्रको रक्षा, संविधानको सर्व स्विकार्यताका साथ सफल र सहज कार्यन्वयन, प्राप्त उपलब्धिहरुको रक्षा, आर्थिक समृद्धि र विकासका लागि निकास दिन हो ।

तपाईलाई नै किन दिने त जनताले मत ?

२००७ सालदेखि आजका दिनसम्म जनतालाई सार्वभौम सत्ता सम्पन्न बनाउन, जनातको हक र अधिकार स्थापित गर्न, परिवर्तनका लागि नेपालमा भएका महत्र्वपूर्ण आन्दोलनहरुलाई नेतृत्व गर्ने पार्टी नेपाली कांग्रेस हो र सोहि पार्टीमार्फत जनताको उम्मेद्वार भएका कारण पनि जनताले मत दिनुहुनेछ ।

जस्तै क्रमश भन्दा ?

नेपाली कांग्रेसको नेतृत्वमा अगाडी वढेको शान्ति, संविधान र समृद्धिको अभियानलाई तार्किक निष्कर्षमा पुर्याउन अव देशमा नेपाली कांग्रेसकै नेतृत्व आवश्यक भएकाले पनि हो । म यहि इलाम क्षेत्र नम्वर दुईमा जन्मेको र नाममा भन्दा काममा विश्वास गर्ने ब्यक्ति हो । केहि काम यस अघि जित्दा पनि गरेको छु, अझै धेरै काम गर्न बाँकी छ । विकास निर्माण, सामाजिक विकास र यहाँका जनताको आर्थिक समृद्धिका लागि यस अघि जितेर गएका उम्मेद्वारले ठुला नाम कमाउन बाहेक केहि पनि गर्न सकेनन । यो मेरो मात्र आरोप हैन, त्यस क्षेत्रका सवै जनताले यहि कुरा बोलिरहनु भएको छ । बिसौँ वर्ष सोहि ठाउँबाट जित्नुभयो तर सडक, स्वास्थ्य, सञ्चार, शिक्षा, रोजगारी र जनताको आर्थिक स्थिति माथि उकास्नेतर्फ उहाँको नजर कहिल्यै परेन । ती सम्पुर्ण कामहरु पुरा गर्नका लागि पनि जनताले मलाई भोट दिनुहुनेछ ।

तपाइँले जिते चैँ विकास निर्माण हुन्छ नै भन्ने के छ र त्यस्तो ?

तपाइँ लगायत सम्पुर्ण जनताले लेखेर राखे या यो रेकर्ड सुरक्षित राखेपनि हुन्छ, अवको ५ वर्षभित्र विगत विसौँ वर्षदेखि हालसम्म भएका विकास निर्माण र अन्य प्रगति भन्दा दोब्बर काम गर्ने यहिँबाट प्रतिवद्धता जनाउँदछु ।

बाम गठबन्धनले गर्दा जित्न गाह्रो होला नि ?

हेर्नुहोस बाम अभिष्ठ अन्तत साम्यबाद हो, यो नेपालमा न पहिल्यै, न अहिल्यै न कहिल्यै सम्भव छ । यो कुरा अहिलेका सचेत मतदाताले राम्रोसँग बुझेका छन् र अर्को कुरा यो गठबन्धन स्वार्थले भरिएका पार्टीका नेतृतवमा रहेका एक, दुई नेतृत्वले लगाएको रट सचेत एमाले होस, माओवादी या सामान्य जनता सवैले हालको गठबन्धन मान्नै पर्छ भन्ने छैन, उनीहरुले यो कुरा राम्रोसँग बुझिसकेका छन् ।

त्यसैले यो गठबन्धनले मलाई असहज हैन जित्न सजिलो भएको छ । अर्को महत्वपूर्ण कुरा यो निर्वाचन लोकतन्त्र भर्सेस साम्यवाद विचको एक किसिमको जनमत संग्रह हो । यो निर्वाचन कुनै दल वा ब्यक्तिले हार्छ वा जित्छ भन्ने कुरा भन्दा पनि लोकतन्त्रको हार वा जित महत्वपूर्ण कुरा हो । लोकतन्त्रका पक्षमा मतदान गर्नु भनेको स्वयम आफ्नै लागि पनि मतदान गर्नु हो । लोकतान्त्रिक ब्यवस्थालाई कायम राख्न स्वतन्त्रता, समावेशीता र समृद्धिका लागि यहाँका सम्पुर्ण सचेत जनताले नेपाली कांग्रेसका चुनाव चिन्ह रुखमा छाप लगाई कांग्रेसकै उम्मेद्वारलाई विजय गराउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

एक ह्याभीवेटसँगको भिडन्त सहज त पक्कै नहोला ?

तपाईँ केलाई ह्याभीवेट भन्नुुन्छ म जान्दिन । बिसौँ वर्ष सम्म जितेर पनि माखो नमार्ने नामको त्यस्तो ह्याभीवेट म बन्नु पनि छैन साथै यो क्षेत्र र जनतालाई त्यस्तो ह्याभीवेटको आवश्यक्ता पनि छैन । कामको ह्याभीवेट म नै हुँ, त्यसैले कामको ह्याभीवेटलाई नै जनताले चाहान्छन् ।

अन्त्यमा केहि भन्नु छ ?

म यसै जिल्लाको म उठेकै निर्वाचन क्षेत्रमा जन्मेको मान्छे, मलाई यहाँका गाउँवस्ती अनि टोलटोलका दुःख, पीडा, यहाँका जनताको माग, चाहाना र आवश्यक्ता राम्रोसँग थाहा छ । यहाँका अवसर र चुनौती के छन्, त्यो पनि मैले राम्रोसँग बुझेको छु र समस्या सामधान गर्ने योजना अनि सामथ्र्य समेत मसँग छ । तसर्थ लोकतन्त्रको रक्षा, यहाँका विकासलाई निकास दिन, आर्थिक, सामाजिक विकास र समृद्धिकालागि तपाइँको अमुल्य मत रुख चिन्हमा लगाई नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई विजय गराउनु हुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद, जय नेपाल ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार