‘जनता दलीय ‘सिण्डिकेट’ चाहदैनन्’

पदम जवेगु, झापा क्षेत्र नम्बरमा राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् । पार्टीका केन्द्रीय सचिव जवेगु राजनीति बुझ्न सक्ने एक सचेत युवा पनि हुुुनुहुन्छ । प्रष्ट स्वाभाव, आर्थिक पारदर्शीता, सबै जातिको अधिकारलाई सम्मान गर्न सक्ने क्षमता भएको दावी उहाँको छ । राजनीति बाहेक दमकको सामाजिक क्षेत्रमा चिनिएका युवा व्यक्तित्व जवेगु ठुला दलहरुले मुलुकलाई ‘सेण्डिकेट’ गरेको आरोप लगाउनुहुन्छ । ठुला दलको हुकमीले राजनीति बेइमानी चुलिएकाले अब जनताले बुझने बेला आएको उहाँको जिकीर छ । उम्मेदवार जवेगुले आसन्न निर्वाचनमा देखिएको राजनीतिक धु्रवीकरणबाट मुलुकले थप जटिल अवस्था भोग्नु पर्ने अनुमान गर्नुहुन्छ । दमक–८ निवासी जवेगु पहिचानमा आधारित पूर्ण संघियता शुनिश्चित्ताका लागि जनमुक्ति पार्टीलाई आसन्न निर्वाचनमा विजयी गराउन खाँचो देख्नुहुन्छ । प्रस्तुत छ : उम्मेदवार जवेगुसंग चुनावी सेरोफेरोमा गरिएको कुराकानी ।

तपाईको उम्मेद्वारी के का लागि ?

– पटक–पटक विजय प्राप्त गरेर गएका यस क्षेत्रका नेताह?ले दमकवासीका लागि विकासे उपहार केही दिन सकेनन् । क्षेत्रका कुरा गर्ने हो भने त्यस्तो ठूलो परिवर्तन र देख्न लायकको काम केही गरेनन् । यो मेरो आरोप होइन, यस क्षेत्रका प्रत्येक नेपाली जनतालाई सोध्नुहोस् उहाँहरको मुखारावृन्दबाट पनि यही कुरा आउँछ । म विकासे नेता मात्र होइन समग्र सबै जातजातिको प्रतिनिधित्व गर्न उभिएको हुँ । त्यसैले मेरो उम्मेद्वारी यो पटक परेको हो । यस क्षेत्रका बासिन्दाहरु यसपटकको निर्वाचनमा परिवर्तनसंगै पहिचानका पक्षधरलाई विजयी गराउनेमा उत्साहित देखेको पाएको छु ।

तपाईको चुनावी माहौल कस्तो बन्दै गएको छ ?

– म त अहिले पनि जित्छु भन्छु । किनभने यस अघिकाले जितरे पनि जनताका लागि केही गर्न सकेनन् । भलै आफ्नो र आफू रहेको पार्टीको लागि गरे होलान् । जनताका लागि केही नगरिएको हुँदा जुन दिन जनताले मलाई पूर्ण रुपमा चिन्छन् र जनमुक्तिको विचार आत्मसम्मान गर्छन् त्यस दिन मलाई मात्र होइन सबै क्षेत्रबाट जनमुक्ति पार्टीका उम्मेद्वारहरुको जित निश्चित हुनेछ । यस क्षेत्रका बासिन्दाहरुसंग घरघरमा पुग्दा यसपटक पटक पटक जित्दै आएका पार्टी त्यागेर परिर्वतनका पक्षधरलाई जिताउने पक्षमा उभिएको पाएको छु ।

चुनावी मुद्दा के बोकेर आउनु भएको छ ?

– इलामको माङसेबुङबाट चुनावी महाप्रचार अभियान सुरु गरेका छौं । त्यसमा राष्ट्रिय निर्माणका लागि ३८ बुँदे प्रतिवद्धता समेत गरेका छौं । पूर्ण संघीयताको मूल मर्म अनुसार प्रदेश, स्थानीय तह र स्वायत्त, संरक्षित तथा विशेष क्षेत्रहरुलाई राजनीतिक, आर्थिक, प्रशासनिक र विकास निर्माण सम्बन्धि बढीभन्दा बढी अधिकार सुनिश्चित गर्ने लक्ष्य रहेको छ । ५ सदस्यीय राष्ट्रपति मण्डल र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने व्यवस्था जस्ता प्रतिवद्धता उठाएका छौं । भ्रष्टाचारीलाई संवैधानिक रुपमै देशद्रोही घोषणा गरिने, सरकार, सेना, प्रहरी, न्यायलय, प्रशासन आदि संवेदनशिल अंगमा बसी गम्भीर प्रकृतिका भ्रष्टाचार गर्नेलाई जन्मकैद र तिनीहरुका सम्पत्ति राष्ट्रियकरण गर्ने, सबै धर्म तथा समुदायलाई समान अधिकार, गरिबीका रेखामुनी रहेकालाई स्वास्थ्य बीमा जस्ता मुद्दाहरु बोकेर र लागू गराएर छाड्ने अठोट लिएर आएका छौं । यससंगै स्थानीय घोषणापत्र तयार गरेर हामी मतदाताका घरघरमा पुगेका छौ ।

स्थानीय घोषणापत्र निकाल्नुभएको छ भन्नुभयो के छ त्यहाँ ?

हाम्रो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुन गईरहेको निर्वाचनमा केन्द्रीय स्तरमा ३८ वुदे घोषणापत्र सार्वजनिक गरिसकेको छ भने स्थानीय क्षेत्रमा त्यहाँका विषयबस्तुहरुलाई समेटेर आफना प्रतिवद्धता जनताका माझ प्रस्तुत गरेका छौ ।

जहाँसम्म यस क्षेत्रमा हामीले यहाँको विभिन्न योजनाहरुलाई पूरा गराउन सक्ने मात्र प्रतिबद्धताहरु ल्याएका छौ । जनताका माझ गरिएका वाचालाई भोलि निर्वाचित भएर गएको खण्डमा सम्पन्न गर्न सकिने विषय प्राथमिकतामा राखेका छौ । दमक–रवि सडकलाई लखनपुरको गौरादहहुदै गौरीगञ्जमा सुख्खा बन्दरगाहा स्थापना गरिने, सुविधा सम्पन्न आदिवासी रंगशाला निर्माण गरिने,दमकमा आदिवासी सग्रहालयलाई अघि बढाउने, दमकको बसपार्कलाई आधुनिक बसपार्कका रुपमा स्तरन्नति गरिने, दमकको पशुहाट, स्वास्थ्य संस्था,शिक्षण संस्थाहरुलाई व्यवस्थित लैजाने, दमकदेखि सेतुमारी मार्ग, दमकको निर्माणाधीन चक्रपथ जस्ता विकासका काममा इमान्दारीताका साथ काम गरेर देखाउने प्रतिबद्धता गरेका छौ ।

एमालेले यस क्षेत्रमा धेरै विकास गरे भन्ने दावी गरिआएको छ नी ?

– सरासर झुठ । एउटा आकाशे पुल बन्दैमा विकास भयो भन्न सुहाउदैन् । सबै खोलानालामा पुल बनेको छ भनेर चित्त बुझाउने ठाउँ पनि छैन् ।यस क्षेत्रबाट एमालेले पटक पटक जितेर पनि विकास नभएको घामजतिको छर्लङ छ ।

देशका पूर्व प्रधानमन्त्री केपी ओलीले दमकमा केहि गरे जस्तो मात्र गरेर भोट बटुल्दै ,जनतालाई झुक्याउदै आएका कुरा अव जनताले बुझ्दै आएशा छन् । दमक बाहेक अन्य क्षेत्रमा एमालेले जालझेल गरेको छ । त्यहाँको विकास निर्माण तथा दुरगामी योजनाहरुमा ओलीले नाटक रच्दै आउनुभएको छ ।

हामीलाई लागेको छ , ओली विकासे कार्यबाट यस क्षेत्रका आममतदाताहरुले बुझने बेला आएको छ । ठुला मान्छे, ठुला पार्टी भन्दैमा जनतालाई प्रलोभनमा पारेर जसरी पनि चुनाव जित्ने दाउको विरुद्धमा यस पटक यहाँका सचेत मतदाताले आफनो अभिमत दिने छन् भन्ने विश्वास लागेको छ ।

आदिवासी रंगशालामा पनि एमालेले राजनीति गर्यो भन्ने हो ?

-हो नी , यस योजनालाई तुहाउने षडयन्त्रमा ओलीले आफना हर्कत देखाए । आफू प्रधानमन्त्री भएका बखत आफनो पार्टीको नेता मदन भण्डारीको नाममा रंगशाला नामाकरण गराएर विवादमा ल्याएर यसलाई अगाडी बढाउन दिएनन् । यस क्षेत्रका बासिन्दाहरु, रंगशालाका सरोकारवालाहरुले बुझेका छन् , ओलीका कारण संभावना बोकेको रंगशालालाई लथालिङ बन्न पुगेको छ । रंगशाला बनाउने बेला गरिएका सवै प्रतिबद्धताहरुलाई एमालेका ओलीले राजनीतिक दाग दिने गलत काम गरेका छन् । हामी सवैं यस क्षेत्रका बासिन्दाहरु आदिवासी रंगशालाको यहि नामबाट सुविधासम्पन्न रंगशाला बनाउनु पर्ने अभियानमा छौं । हाम्रा पितृको चिहानलाई उत्खनन् गरेर बनाउन शुरु गरिएको रंगशालामा राजनीति गन्धको सधै विरुद्धमा छौं । हाम्रा अधिकारलाई दमन गर्न खोजिए या रंगशालालाई कसैको स्वार्थ पूर्तिको विषय बन्न नदिने पक्षमा जनमुक्ति प्रष्ट छ ।

मूलत अहिले देशको साँझा मुद्या के भन्ने ठान्नुभएको छ यहाँले ?

– हाम्रो देश बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुआयामिक सोच बोकेको राष्ट्र हो । यहाँ सबै जातिको समान अधिकार हुनुपर्छ भन्ने हाम्रो सोचाई छ र पार्टीको मूल धारणा पनि यही हो । मैले गाउँ–गाउँमा मत माग्दै जाँदा पूर्ण संघीयता, संविधानमा सबै जातिको समान अधिकार र राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समान सहभागिता भन्दै हिंडेको हुँदा र हाम्रो पार्टीको विचार पनि त्यही भएको हुँदा सबै जातिको प्रतिनिधित्व गर्छु भन्ने खोजिएको हो र म गरेर पनि छाड्छु ।

देशको विकास हुन नसक्नुको कारण के लिनुभएको छ ?

– सत्ता स्वार्थ । मुलुकको समृद्धि र विकास पक्षमा ठुला दलहरु असफल हुनुभएको छ । कसरी सत्तामा पुग्ने खेलहरुले लोकतन्त्रलाई कमजोर बनाउने काम हुदै आएको छ । कांग्रेस पनि ४ दशकपछि सत्तामा पुग्यो । एमाले त्यस्तै । यी दलहरुसंगै माओवादी केन्द्रलाई जनताले बुझिसकेका छन् । देशलाई समृद्धि बनाउने नसक्ने उनीहरुको शासनले देखाई सकेको छ नी । जनता कसैको पेवा हुदैनन् , न त हिजो कांग्रेसका जनता कहिले एमाले , माओवादी भए , आज त्यहि जनता ती दलहरुबाट देशको भविष्य देख्दैनन् । हाम्रो पार्टी प्रष्ट छ, अव मुलुकलाई लोकतन्त्र र समृद्धि अभियानमा सवैको समान सहभागीता विना अघि बढ्न सक्ने अवस्थामा छैन् ।तसर्थ, हाम्रो पार्टीले शान्तिपूर्ण रुपमा सबैलाई सचेत गराउँदै जाने दल भएको हुनाले प्रत्यक्ष निर्वाचनमा यसपटक हाम्रो उपस्थिति बलियो हुने छ । एक दिन न एक दिन जितेरै जानेछौ भन्ने हाम्रो दावी छ । त्यसमा तपाई ढुक्क हुनुहोस् । यो पटक हामी केही ठाउँबाट जित हाँसिल गर्नेछौं ।

पार्टीले भ्रष्टाचारीलाई पनि महत्वका साथ उठाउदै आएको छ नी , के यो साध्य होला त ?

– हामीले राजनीति विग्रीएका कारण मुलुकमा भ्रष्चार बढ्ेको ठहर गरेका छौ । पञ्चायतमा मात्र होइन् प्रजतान्त्र, लोकतन्त्र आएपछि पनि भ्रष्टचार रोकिएन् । जनताले जनताको शासन आएपछि भ्रष्टचारको अन्त्य ,शुसासन असम्भव भन्ने नै देखिदै गएको छ । तर हामीले लोकतन्त्र र गणतन्त्रको बिकल्प देखेका छैनौ । तर यति चाहि के हे भने देश नबनिनु भ्रष्टचार पनि एक कारकका रुपमा बढ्दै गएको छ , त्यसलाई कडाईका साथ कारवाही गर्ने बाटो निर्माण गर्ने पर्छ । त्यो साँध्य छैन् भन्ने सोच्नु पनि हुदैन् । हामीले भ्रष्ट्रचार निर्मुल गर्न कदम चालिए त्यति टाढा छैन् भन्ने देखेका छौ । एक जमनामा पञ्चायतले बहुदलवादीलाई समातेर जेल भरी थुपारेका इतिहास हामीसंग ताजै छ । त्यस्ता भ्रष्टाचारीहरुलाई पनि नीति र कानून बनाएर जन्म कैदको फैसला गरियो भने आउने दिनमा भ्रष्टाचार गर्नु नहुने रहेछ भन्ने पाठ त सिक्न सकिन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

– यो व्यस्त समयमा पनि हाम्रो पार्टीलाई सम्झेर अनि मलाई हेरेर मेरो विचार क्षेत्रबासी माझ पुर्याईदिनुभएकोमा तपाईं लगायत सम्पूर्ण पत्रिका टिमलाई धन्यवाद दिन चाहन्छु । वास्तवमा हामी साना दलका रुपमा उभिएका छौं ।हामीलाई सदैव तपाईंहरुको माया, स्नेहता रहनेछ भन्ने आशामा छु र जनमुक्तिको चुनाव चिन्ह ‘घर’मा मतदान गरेर राष्ट्रिय पार्टी निर्माणमा तपाईहरुको साथ रहनेछ भन्ने आशामा छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार