इलाममा नयाँ गुफा पत्ता लाग्यो

नयाँ बुलन्द

इालम : इलाम नगरपालिका ६ मा नयाँ गुफा पत्ता लागेको छ । ओढारे भालुढुङ्गा सामुदायिक बन क्षेत्रमा सो गुफा पत्ता लागेको हो । भालुढुङ्गा ओढारकै सामुन्नेबाट बिस मिटर पश्चिमतर्फ जाने वित्तिकै पहरामुनि गुफा भेट्टाईएको हो ।

ओपिधारा–चियाबारी–भालुढुङ्गा क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति इलामका पदाधिकारीहरुले भालुढुङ्गा क्षेत्रमा पर्यटकीय विकासका लागि विभिन्न सम्झावना खोज्ने क्रममा भालुढुङ्गाकै पहरामा पल्लो छेउमा गुफा भेटिएको समितिका अध्यक्ष हरि गुरुङले बताए । समितिकै सचिव डम्बर गुरुङ र समितिका पदाधिकारी अर्जुन कँडेल गुफभित्र प्रवेश समेत गरेका छन् । गुफाभित्र छिरेर बाहिरिएपछि प्रतिक्रिया दिदै गुरुङले भने, ‘यो नयाँ गुफा पत्ता लागेको छ । यहाँको पर्यटन विकासमा यसले सेतुको काम गर्नेमा म विश्वस्त छु ।’ सो गुफाको हालसम्म नामाकरण गरिएको छैन ।

ओढारे भालुढुङ्गा झै नयाँ गुफाको पस्ने द्वार सानो भएपनि भित्र पुगेपछि उभिन र हिडडुल गर्न सकिने स्पेस रहेको छ । कँडेलले गुफाको २० मिटर भित्रसम्म आफुहरु प्रवेश गर्न सकेको बताए । उनले भने, ‘त्यहाँ भुईचालो वा केहि कारणले विचमा ढुङ्गा खसेकोले बाटो छेकिएको रहेछ । हामी समिति लागिपरेर केहि समयमा नै त्यो बाधा पन्छाउने सोचमा छौं ।’

नयाँ गुफा पत्ता लागेको सुनेपछि जिल्ला बन कार्यालय इलामका प्रमुख भरतबाबु श्रेष्ठ, जिल्ला भु संरक्षण कार्यालय इलामका प्रमुख विजेन्द्रकृष्ण सिंह, जिल्ला बनस्पति कार्यालय इलामका प्रमुख सजिद आलम, इलाम उद्योग बाणिज्य संघका उपाध्यक्ष दिपेश श्रेष्ठ तथा इलामका सञ्चाकर्मीहरु अवलोकनका लगि त्यहाँ गएर नयाँ गुफाको अवलोकन गरेका थिए । अवलोकनपछि प्रतिक्रिया दिदै श्रेष्ठले भने, ‘यो गुफा पत्ता लाग्नु भनेको इलामको पर्यटन क्षेत्रको लागि सुखद समाचार हो ।’ समितिका सदस्य तोया ढकालले गुफाभित्र अत्याधिक सङ्ख्यामा चमेरा भेटाईएको बताए ।

भालुढुङ्गा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि हरि गुरुङको नेतृत्वमा सो क्षेत्रमा काम हुन थालेपछि हाल दैनिक सैयौको सङ्ख्यामा आन्तरिक पर्यटक भित्रने गरेको तथ्याङ्क समितिसँग छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार