पर्यटकको रोजाईको केन्द्र बन्दै जामुनखाडी (फोटोफिचर सहित)

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको प्रवेशद्वार ।

नरेन इलामेली

जामुनखाडी : पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य हो झापाको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र । जामुनबारी सामुदायिक वन उपभोक्ता समितिद्वारा सञ्चालित जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्र पछिल्लो समय पर्यटकको रोजाईको केन्द्रबिन्दु बन्दै गएको छ । पारिवारिक घुमफिर, पिकनिक स्पट र डेटिङ्ग स्पटका लागि लोकप्रिय बन्दै छ जामुनखाडी ।

२०५२ सालमा जामुनबारी सामुदायिक वन स्थापना गरि २०५६ सालबाट जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्र संचालन गर्न थालिएपछि यस क्षेत्रमा वर्सेनी लाखौँ पर्यटकहरु आउने गरेका छन् । कूल ४३४.१९ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन परिसर भित्रको २६.५४ हेक्टर क्षेत्रफलमा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्र संचालित रहेको छ ।

झापाको कनकाई नगरपालिका १ र २ लाई कार्यक्षेत्र बनाएर संचालित यस क्षेत्रमा विभिन्न प्रजातिका वनस्पतिका साथै लोपोन्मुख दुर्लभ वन्यजन्तुहरू नील गाई, अष्ट्रिच, एमु, अजिङगर, चितुवा, भालु, मृग, खरायो, हुचिल, सेतो मुसा, साँरस तथा विभिन्न प्रजातिका चराहरू तथा विभिन्न प्रजातिका सरिसृप जिवजन्तुहरूको अवलोकन गर्न सकिन्छ । उक्त क्षेत्रभित्र रहेको पोखरी र झोलुंगे पुल र पोखरी पनि विशेष आकर्षण हुन् ।

पोखरीमा डुङ्गा खियाउन समेत सकिने हुँदा आगन्तुकहरुले विशेष मनोरन्जन समेत लिन सकिन्छ । यति मात्र हाईन यहाँ भएका विभिन्न प्रजातिका फूलवारी र बच्चाहरूका विभिन्न प्रकारका खेलहरूले बालक देखि बृद्धसम्मको मनलाई आकर्षण गरिरहेको छ । जामुनखाडीले भने विभिन्न प्रजातिका जिवजन्तु र वनस्पतिको अध्यन अनुसन्धानका लागि पनि जामुनखाडी तिर तानिँदै छन् पर्यटकहरू ।

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा डुङ्गा खियाउँदै पर्यटक ।

करिब २ दशक अगाडि स्थापित जामुनवारी सामुदायिक वनले एक आर्थिक वर्षमा करिब २ करोड ५० लाख आम्दानी गर्दै आएको र त्यसैबाट विपन्न परिवारका उपभोक्ताहरूको शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा प्रत्यक्ष सहयोग गर्दै आएको छ भने आम समुदायमा यातायात, विद्युत, खानेपानी विस्तारमा प्रत्यक्ष रूपमा सहयोग गर्दै आएको जामुनवारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ख्यामराज सिटौलाले बताए ।

जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य हो यसको संचालनका लागि केकस्ता समस्याहरू रहेका छन् भन्ने नयाँ बुलन्दको प्रश्नमा अध्यक्ष सिटौलाले भने, ‘केही भौतिक पूर्वाधारको अभाव छ । साथै सोचे जति जनावर पनि उपलब्ध छैनन् । जामुनखाडी कनकाई नगरपालिकाको मात्र होइन झापा कै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो ।’ उनले सरकारी निकायबाट कुनै पनि सहयोग नभएको गुनासो पोखे ।

जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्र हरेक पर्यटकहरू पुग्नै पर्ने एउटा आकर्षक गन्तव्य हो । यसका भावी योजनाहरू बारे बताउँदै सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष बुद्धिमान बोहोराले भने, ‘भविष्यका लागि हामीले केही योजनाहरू बनाएका छौँ । यहाँ एउटा भ्यूटावर, संग्रालय, स्विमिङ पुल र आधुनिक प्रकारको चिल्ड्रेन पार्क निर्माण गर्ने योजनामा छौँ । जसले जो कोहीलाई पनि जामुनखाडीसम्म आइपुग्दा बिशेष आनन्द प्रदान गरोस् ।’

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रभित्र पालिएका साँरस ।

जामुनखाडी वास्तवमै राम्रो पर्यटकिय सम्भावना बोकेको क्षेत्र हो । बाह्रै महिना पर्यटकले खचाखच हुने जामुनखाडी भदौदेखि पुससम्म झनै पर्यटकहरूको घूईँचो लाग्ने गरेको छ । पछिल्लो समय पारिवारिक घिमफिर र पिकनिक स्पटका रूपमा जामुनखाडी रोजाईमा पर्ने गरेको छ । प्रेम जोडीहरुका लागि डेटिङका रूपमा पनि चर्चित बन्दै गएको छ जामुनखाडी । जामुनखाडीलाई अधिकतम प्रचारप्रसार गरि सबै सामु पुर्याउन सके कनकाई नगरपालिकाको मात्र नभई पूर्वी नेपालकै पर्यटन प्रवर्धनमा सहयोग पुग्ने देखिन्छ । तर यसका लागि सरकारी निकायको पनि ध्यान जान जरुरी देखिन्छ ।

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा पालिएको अजिङ्गर ।

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा पालिएको संरक्षित पंक्षी एमु ।

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा पालिएको अष्ट्रिज ।

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा पालिएको जरायो ।

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा पालिएको मयुर ।

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा पालिएको नीलगाई ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार