अदुवाको बजारीकरणका लागि परियोजना

इलाम : अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसैवर्षदेखि परियोजना सञ्चालन भएको छ । जिल्ला सहकारी संघले उन्नति समावेशी परियोजनाको सहयोगमा उक्त परियोजना सञ्चालन गरेको हो ।

जिल्ला सहकारी संघका अध्यक्ष नरेन्द्रनाथ भट्टराईले परियोजनाका लागि अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओमार्फत रु ३१ लाख सहयोग प्राप्त भएको र त्यसले अदुवाको उत्पादन र बजारीकरणलाई व्यवस्थित गरी किसानलाई अदुवाको उचित मूल्य दिलाउने बताए । यो परियोजना जिल्लाका चार नगरपालिका र छवटा गाउँपालिकामा यही महिनादेखि एक वर्षसम्म सञ्चालन गरिने छ ।

संघले परियोजनामार्फत अदुवामा देखिएका समस्या समाधानका लागि बहस पैरवीसमेत चलाउने अध्यक्ष भट्टराईले बताए । जसअन्तर्गत सहकारीका सदस्यहरूलाई विभिन्न किसिमका तालीम दिइने संघले जनाएको छ । बिब्ल्याँटेका अदुवा व्यवसायी गोविन्द पौडेलले भारतले अदुवामा कर लिइरहेको र गुणस्तर नबढाई निकासी भइरहेकाले समस्या सिर्जना भइरहेको बताए ।

जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अदुवाको मूल्य अभिवृद्धि नहुँदा कच्चीरूपमै भारत निकासी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार