ताप्लेजुङ : ताप्लेजुङ जिल्ला अलैंचीको बिरुवामा आत्मनिर्भर बनेको छ । पछिल्लो वर्ष जिल्लाका किसान आफैँले नर्सरीमार्फत गुणस्तरीय बिरुवा उत्पादन गर्न थालेसँगै अलैंची बिरुवाका लागि जिल्ला आत्मनिर्भर बनेको हो ।गएको वर्षदेखि बिरुवाका लागि आत्मनिर्भर मात्र नभई अलैंची बिरुवा जिल्ला बाहिर पठाउन सक्ने क्षमतासमेत ताप्लेजुङले बनाएको छ ।
करिब तीन वर्षअघिसम्म ताप्लेजुङमा अलैंचीको खेतीका लागि अन्यत्रबाट बिरुवा ल्याउनुपर्ने अवस्था थियो तर यस वर्षदेखि लाखौँ अलैंचीका बिरुवा अन्यत्र पठाउन सक्ने गरी जिल्लाभित्रै बिरुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ । हाल जिल्लामा विभिन्न १८ वटा अलैंची नर्सरी केन्द्रबाट बिरुवा उत्पादन हुँदै आएको छ ।
विगतका वर्षमा अलैंचीका बिरुवा नपाएर किसानले समयमा रोप्न सकेका थिएनन् । ताप्लेजुङका किसानले विगत वर्षमा इलाम, धनकुटा, संखुवासभालगायतका जिल्लाबाट बिरुवा खरिद गरेर रोप्ने गरेका थिए ।
आजभन्दा तीन वर्षअघिसम्म जिल्लामा किसानको मागअनुसार बिरुवा उपलब्ध नहुने गरेको अवस्था थियो तर यस वर्षदेखि भने करिब १५ लाख बढी बिरुवा बाहिर बिक्री गर्न सक्नेगरी जिल्लाभित्रै उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी किसुनदेव राउतले जानकारी दिए ।
सूचना अधिकारी राउतका अनुसार यस वर्ष २० लाख बढी अलैंची बिरुवा जिल्लामा उत्पादन भएको छ । उत्पादित बिरुवामध्ये करिब सात लाख जिल्लाभित्र खपत हुने र बाँकी बिरुवा जिल्ला बाहिर बिक्री गर्नसक्ने अवस्था रहेको राउतले बताए ।