मूल्य घटेपछि अलैंची कारोबार ठप्प

तेह्रथुम : जिल्लामा उत्पादित अलैंचीको मूल्यमा निरन्तर गिरावट आएपछि कारोबार ठप्प भएको छ । गत वर्षको तुलनामा ६० प्रतिशतभन्दा बढी मूल्य घटेपछि अलैंचीको कारोबार ठप्प बनेको हो । किसानले बिक्री गर्न भट्टीबाट निकालेर तयार गरेको अलैंची मूल्य नपाएपछि त्यसै थन्किएको छ । उचित मूल्य पाइने आशमा किसान पर्खेर बसेका छन् । मूल्य घट्दै जान थालेपछि किसानको अलैंची बिक्री हुन सकेको छैन । किसानले यस वर्ष नयाँ विरुवा थप्ने र बोट गोडमेल गर्न उत्साह देखाएका छैनन् । तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलामलगायत जिल्लामा गत वर्ष यही याममा अलैंची प्रतिकिलो २ हजार ७ सय ५० सम्ममा किनबेच भएको थियो । यस वर्ष मूल्य घटेर ९ सय पुगेको छ ।

गत वर्षको अलैंची बिक्री गर्न नपाएका किसान यस याममा अलैंंची कसरी बिक्री गर्ने भनेर चिन्तित छन् । ‘पोहोरको अलैंची त्यसै छ,’ इवाका नरेन्द्र इङनामले भने, ‘बेचौं बिक्री हुँदैन, थन्काएर राख्ने ठाउँ छैन ।’ अलैंंचीले किसानलाई मात्र होइन, व्यापारीलाई समेत समस्या भएको छ । सक्रान्ति बजारका व्यापारी दीपेश सिटौला गत वर्ष प्रतिमन ९० हजारदेखि १ लाख १० हजारमा खरिद गरेको १ सय मन अलैंची गोदाममै थन्क्याएर राखेको बताउँछन् । ‘महँगोमा खरिद गरेको अलैंची गोदाममै कुहिने अवस्थामा छ’ उनले भने । एक वर्षसम्म गोदाममै राख्दा ब्याजको मारमा परेको सिटौलाले बताए । मूल्य घटेका कारण किसानले अलैंंची बिक्री गर्न चाहेका छैनन् । ‘किसान मूल्य सोध्न मात्र आउँछन्’ नेपाल अलैंची व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले भने, ‘मूल्य बढ्ने आशमा बिक्री गरेका छैनन् ।’ जिल्लामा उत्पादन भएको अलैंची व्यापारीले तेस्रो मुलुकसम्म निर्यात गर्दै आएका छन् ।

अलैंची व्यवसायी संघका अनुसार साउन पहिलो साता स्थानीय बजारमा अलैंची प्रतिमन ३६ हजारदेखि ४० हजारमा किनबेच भएको थियो । गत वर्ष भदौबाट अलैंचीको कारोबार सुरु भएको हो ।  ‘किसान गत वर्षको जस्तो उत्साहित छैनन्’ संघका वरिष्ठ उपाध्यक्ष नेपालले भने । बिक्रीका लागि अलैंची बजारमा नआएपछि व्यापारीसमेत निराश छन् । गत वर्षसम्म अलैंचीबाट मनग्य आम्दानी गरेका किसान यस वर्ष निराश छन् ।गत वर्षको तुलनामा यस वर्ष अलैंचीको उत्पादन बढ्ने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । मूल्य बढ्दा अलैंची खरिद गर्न तछाडमछाड गर्ने व्यापारी मूल्य घटेपछि चुपचाप छन् । सक्रान्तिबजार, म्याङलुङ, वसन्तपुर, लसुने, जिरिखिम्ती, शुक्रबारे, मोराहाङलगायत बजारमा अलैंची किनबेच भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार