नेपाली कांग्रेस वडा कार्यसमिति माइजोगमाई-१ (साबिक नयाँबजार गाविस) ले आगामी बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि गत चैत्र ३० गते नै वडाका लागि आफ्नो तर्फबाट सम्पुर्ण पदका लागि उम्मेदवार सिफारिस गरेको छ ।
केही पदमा सर्वसम्मत र केहीमा आवश्तकता भन्दा बढी नाम सिफारिस भएको छ । यसै क्रममा सो वडामा अध्यक्षका लागि ३ जना उम्मेद्वार आकाङ्क्षी देखिएका छन् । घनश्याम निरौला, मदनकुमार भण्डारी र पूर्णबहादुर निरौला ।
प्रत्येक उम्मेद्वार को आ-आफ्नो दाबेदारी रहे पनि पार्टीले एक जनालाई मात्र टिकट दिने हुँदा प्रत्येक उम्मेदवारसँग नयाँ बुलन्दकर्मी नरेन इलामेले प्रत्यक्ष सम्पर्क गरी तपाईको टिकट पाउने आधार के-के हुन् र टिकट पाउनेमा कति आशावादी हुनुहुन्छ ? भनेर सोध्नुभएको थियो ।
हामीले उहाँहरु तीनै जनाको जवाफ जस्ताको तस्तै राखेका छौं ।
१. घनश्याम निरौला
म २०५४ सालदेखि अमरकल्याण माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघ (नेवि संघ) बाट राजनिति सुरु गरी निरन्तर सक्रिय रुपमा काम गर्दै आएको छु । २०५६ सालमा नेवि संघको क्षेत्रीय सदस्य भएर काम गर्दै नेपाली कांग्रेसको १२ औं अधिवेशनमा गाउँ कार्य समितिको सचिव हुँदै कार्यवाहक सभापतिको कार्यभार सम्हालेको अनुभव रहेको छ । १३ औं अधिवेशनपछि चाहिँ पार्टीको कुनैपनि पदमा नरहेर अरुलाई पालो दिएर पनि पार्टीका कामहरुमा सक्रिय रुपमा लागि परेको छु । साथीभाईहरुसँगको साथ सक्रियता र कार्यकर्ताको विस्वासका कारण पनि आफ्नो उम्मेदवारी सशक्त रहेको छ । क्षेत्रीय कार्य समितिको उम्मेद्वार चयनको मापदण्डमा म योग्य रहेकोले यसलाई पार्टीले पनि मुल्याङ्कन गर्ने हुँदा मैले नै टिकट पाउनेमा आशावादी छु ।
२. मदनकुमार भण्डारी
म २०५२ सालदेखि नेपाली कांग्रेस निकट नेवि संघ मार्फत राजनितिमा प्रवेश गरेको हुँ । म अमरकल्याण माध्यमिक विद्यालय नयाँबजारमा नेवि संघको सचिव हुँदै क्षेत्रीय सदस्य भई काम गरेको र नेपाली कांग्रेसको १२ औं अधिवेशनमा गाउँ कार्य समितिको मनोनित सचिव हुँदै १३ औं अधिवेशनमा गाउँ कार्य समितिको सभापतिमा निर्वाचित भएको हुँ । राज्य पनर्संरचनापछि नेपाली कांग्रेस गाउँ समन्वय समिति माइजोगमाई गाउँपालिकाको सभापति रहेर कार्यभार सम्हालिरहेको र विकासका काममा सक्रिय छु । निरन्तर स्थानीय क्षेत्रको विकासमा सक्रिय सहभागी आएकाले पनि आफूले टिकट पाउनेमा आशावादी छु ।
३. पूर्णबहादुर निरौला
पार्टीको उम्मेदवार चयनको मापदण्ड अनुसार पार्टीको नियम र अनुशासन भित्र रहेर काम गर्ने मान्छेले टिकट पाउनु पर्छ । म भन्दा माथिको योग्य र सक्षम मान्छे आउँछ भने मेरो दाबीको केही लाग्दैन । मलाई गाउँपालिकको अध्यक्षमा उम्मेदवारी दिन साथीहरुले सुझाव दिए पनि हरेक कारणले उक्त पदका लागि सक्षम नरहेको र वडा मै बस्न रुचाएको छु ।
२०४२ सालमा शाही शासनबाट प्रतिबन्धित नेपाली कांग्रेसबाट अञ्चल सभापतिमा लडेको र २०४८ सालमा अध्ययनको क्रममा किर्तिपुरमा नेवि संघको सदस्य भएकै कारण जेल परेको थिए । पार्टीको हरेक काममा सक्रिय हुँदै आएको छु । विकासका काम र समाजसेवा प्रत्यक्ष सहभागी हुँदै आएको छु । त्यसैले पार्टीले संघर्षशील र जनताले रुचाएको व्यक्तिले टिकट पाउने र पार्टीले सहि मुल्याङ्कन गर्यो भने मैले नै टिकट पाउँछु ।
यसरी तीनै जना उम्मेद्वारले आआफ्नै दाबेदारी सशक्त रहेको बताए पनि क्षेत्रबाट मुल्याङ्कन भएर जसको नाममा टिकट आए पनि एकले अर्कालाई सहयोग गरि नेपाली कांग्रेसलाई वडादेखि गाउँपालिकासम्म बिजयी गराउन सक्दो सहयोग गर्ने पनि तीनै जना उम्मेदवारले प्रतिबद्धता व्यक्त गरेका छन् ।