कृषिजन्य वस्तुको निर्यात निराशाजनक

इलाम : कृषिजन्य उत्पादनको निर्यात निराशाजनक बन्दै गएको छ । चालु आवको गएको चार महिनामा अलैँची, अदुवा र जडीबुटी निर्यात ओरालो लागेको छ । वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको साउनदेखि कात्तिक महिनासम्मको तथ्याङ्कमा कृषिजन्य वस्तुको निर्यातबाट हुने आम्दानी घटेको देखिएको छ ।

 कृषिजन्य उत्पादन निर्यातबाट हुने आम्दानीमा ७८ प्रतिशतसम्म ह्रास आएको छ । अलैँचीको आम्दानी २८ प्रतिशत तथा अदुवाको १७ प्रतिशतले घटेको छ । नेपालबाट भारत निर्यात हुने कृषिजन्य उत्पादन लैजान भारतले असहज वातावरण सिर्जना गरेका कारण निर्यात घटेको हो । एक हजार र पाँच सयका भारतीय नोटमा त्यहाँको सरकारले प्रतिबन्ध लगाउँदा कृषिजन्य वस्तुको निर्यात अझैसम्म पनि सहज हुन सकेको छैन ।

नेपालमा उत्पादन हुने प्रायः सबैजसो कृषिजन्य उत्पादन भारतहुँदै तेस्रो मुलुक निकासी हुने गरेको छ । भारतले विभिन्न बहानामा कृषिजन्य उत्पादन निकासी रोक्दा निकासी प्रभावित भएको छ । आव २०७२÷७३ को पहिलो चार महिनामा नेपालले आठ लाख १६ हजार ८८७ किलो जडीबुटी निर्यात गर्दा रु ५७ करोड ३२ लाख ५३ हजार रकम भित्रिएको थियो ।

चालु आवको चार महिनामा आठ लाख २६ हजार आठ किलो जडीबुटी निर्यात गर्दा रु १२ रकोड २३ लाख ५७ हजार मात्र आम्दानी भएको वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । गत आवको साउनदेखि कात्तिकसम्ममा नौ लाख छ हजार ८५३ किलो अलैँची निर्यात गरेर रु एक अर्ब ३१ करोड पाँच लाख ३२ हजार रकम भित्रिएको थियो । चालु आवको सोही अवधिमा सात लाख ४२ हजार ७९७ किलो अलैँची निर्यात भएको छ ।

अदुवा गत आवमा ८९ लाख २६ हजार ४६६ किलो निर्यात भएको थियो भने चालु आवको चार महिनामा ३३ लाख ४४ हजार ३९८ किलो मात्रै निर्यात भएको छ । चियाको आम्दानी ५२ प्रतिशतले बढेको छ । चालु आवको चार महिनामा ५७ लाख चार हजार १२७ किलो चिया निर्यात गरेकामा अघिल्लो आवको सोही अवधिमा ४६ लाख ११ हजार ५३१ किलो निर्यात गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार