नयाँ बुलन्द
गजुरमुखी : रवि फूटबल क्लब पाँचथर इलामको जगुरमुखीमा जारी ‘हर्कबहादुर देवान स्मृति नकआउट फूटबल प्रतियोगिता’ को सेमीफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको अन्तिम क्वाटर फाइनलमा महमाई-७ लाई ६-२ को सहज जित निकाल्दै रविले सेमीफाइनलको यात्रा तय गरेको हो ।
खेलको आठौं मिनेटमा सनिल राईको गोलबाट अग्रता लिएको रविले खेल अवधिभर विपक्षीको पोलमा लगातार गोलको वर्षा गरेको थियो । ५ गोल गरेको सनिलले दर्शकको नजरमा आफूलाई हिरो सावित गर्न सफल भए । उनले १३, २१, ४३ र ५४ मिनेटमा गोल गरेका थिए । रविबाट दिवस राईले ३३ मिनेटमा एक गोल गरेका थिए ।
उता महमाईका तर्फबाट भने राजन राईले १७ र दिनेश तामाङले ५७ औं मिनेटमा एक एक गोल गरेका थिए ।
प्रतियोगिताको दुवै सेमीफाइनल शुक्रबार हुँदैछ । पहिलो सेमीफाइलनमा रवि फूटबल क्लब र गजुरमुखीधाम तथा दोस्रोमा कोसिस क्लब कुरुम्बा र युवाइ सी साङ्गरुम्बाबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।
भुलभुले सामुदायिक विकास केन्द्रको आयोजनामा जारी प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
।