पाथीभरा मन्दिरबाट दुई लाखभन्दा बढी रकम चोरी

ताप्लेजुङ : तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट दुई लाख २१ हजार रुपैयाँभन्दा बढी चोरी भएको छ।

तीर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका आजीवन र विशिष्ट सदस्यले गरेको सहयोगबाट प्राप्त दुई लाख २१ हजार रुपैयाँ चोरी भएको समितिका सहसचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिए।

मन्दिर परिसरमा पुजारीका लागि बनाइएको पुरानो भवनको भित्री भागको कोठामा प्रवेश गरी लकर फोरेर उक्त रकम चोरी भएको बताइएको छ।

काफ्लेका अनुसार सदरमुकाममा रहेको संस्थाको खातामा रकम जम्मा गर्न तयारीस्वरुप गनेर राखिएको रकम चोरी भएको हो। प्रजिअ नरबहादुर खड्काले सोे घटनाका बारेमा पाथीभराको विकासमा क्रियाशील पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिसँग छलफल गरिने प्रतिक्रिया दिए।

यसैबीच प्रहरीले नेपाली र भारतीय गरी एक लाख ३१ हजार तीन सय ५५ रुपैयाँ र एक सय अमेरिकी डलरसहित लिङ्खिम गाविस घर भएका ११ वर्षीय सागर लिम्बुलाई पक्राउ गरेको छ।

ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार बोरामा हालेर खाल्डो खनी गाड्दै गरेको अवस्थामा लिम्बूलाई पैसासहित नियन्त्रणमा लिइएको हो । पक्राउ परेका लिम्बूको बयानका आधारमा सो घटनामा नाल्वो घर भई लिङ्खिमस्थित मामाघरमा बस्दै आएका १४ वर्षीय रमेश नाल्वो र लिङ्खिम नै घर भएका अन्दाजी १४ वर्षीय मोहन लिम्बूको समेत संलग्नता देखिएकाले उनीहरुको खोजी जारी रहेको केसीले बताए। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार