काठमाडौं : नेपाली कांग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धन⁄संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच अन्ततः तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै गठबन्धनले प्रधानमन्त्रीको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मतदान गर्ने भएको छ ।
प्रधानमन्त्रीका लागि प्रचण्ड एक्लै भए पनि उनले संसदमा दुई तिहाइ बहुमत पुर्याउनुपर्ने हुन्छ । तर गठबन्धनको सहयोग पाएपछि उनले सहज रुपमै बहुमत पुर्याउनेछन् ।
गठबन्धनले प्रचण्डलाई मतदान गरे पनि तत्काल सरकारमा नजाने जनाएको छ । तीन पक्षबीच भएको सहमति अनुसार नयाँ सरकारले मोर्चा र गठबन्धनले उठाउदै आएको मागमध्ये संविधानसँग सम्बन्धित माग सम्बोधन गर्नका लागि व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराउनेछ ।
सहमतिको पहिलो बुँदामै यो कुरा उल्लेख गरिएको छ । दोस्रो बुँदामा भने आन्दोलनका क्रममा मधेसमा भएका हत्या, हिंसा र आगजनी लगायतका घटनाको सत्यतथ्य छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा छानविन आयोग गठन गर्ने, आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गर्ने र परिवारलाई उचित क्षतिपूर्ति दिने उल्लेख छ । यस बुदामा आन्दोलनमा घाइते भएकाहरुको उचार सरकारले गर्ने र आन्दोलनकारी माथि लगाइएका मुद्दाहरु फिर्ता गर्ने उल्लेख ।
तेस्रो बुदामा भने आज हुने प्रधानमन्त्रीको निर्वाचनमा गठबन्धनले प्रचण्डलाई मतदान गर्ने उल्लेख छ ।



















































