काठमाडौँ : सरकारका वरिष्ठ उपप्रधानमन्त्री विजयकुमार गच्छदारको पार्टीले पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छाड्ने निर्णय गरेको छ।
उनको पार्टी मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने समेत निर्णय गरेको छ।
पहिलोपोस्टसँगको कुराकानीमा फोरम लोकतान्त्रिकका महासचिव तथा ओली सरकारमा मन्त्री रहेका रामजनम चौधरीले बजेटका आश्रित विधेयक पारित नभएको तथा अल्पमतमा परिसकेकाले सरकारमा रहनु औचित्यपूर्ण नरहेको ठहर गरेको बताए।
‘संसदीय दल र पार्टी केन्द्रीय समितिको संयुक्त निर्णय हो, हाल सरकार अल्पमतमा परेको र संसदमा विधेयकहरु अस्वीकृत भइसकेको अवस्थामा निर्णय लिएको हो’, चौधरीले पहिलोपोस्टसित भने।
फोरम लोकतान्त्रिकको संसदमा १४ जना सांसद रहेका छन्। वरिष्ठ उपप्रधानमन्त्री गच्छदार केही दिन यता सदनमा अनुपस्थित रहँदै आएका थिए।


















































