सिरिया : अमेरिकी सेनाको साथ रहेको लडाकु समूहले सिरियाको मानबिज शहर छोड्न बिद्रोही संगठन इस्लामिक स्टेट आइएसलाई ४८ घण्टे अल्टिमेटम दिएको छ ।
अमेरिकी सेनाको हवाई आक्रमणको सहयोगमा आइएस विरुद्ध लडिरहेको अरब–कुर्दिस सिरियन डेमोक्र्याटिक फोर्स एसडिएफले आइएसलाई मानबिज शहर छोड्न ४८ घण्टे अल्टिमेटम दिएको समाचार संस्था एएफपीले जनाएको छ ।
एसडिएफले गएको गएको जुनदेखि एलेप्पो राज्यको मानबिजमा आइएस विरुद्ध अभियान चलाएको छ । गएको मंगलबार मानबिजमा हवाई आक्रमणको क्रममा कम्तिमा ५६ जना सर्वसाधारण नागरिकको ज्यान गएपछि बिहीबार एसडिएफले आइएसलाई त्यो ठाउँ छोड्न अल्टिमेटम दिएको हो ।
हवाई आक्रमणमा मारिनेमा बालबालिका पनि छन् । सर्वसाधारण नागरिकको सुरक्षा र भौतिक सम्पत्तिको नोक्सानी रोक्नका लागि यस्तो आग्रह गरिएको एसडिएफले जनाएको छ । ४८ घण्टा भित्र आइएसका लडाकुले मानबिज छोडे उनीहरुलाई केही नगरिने एसडिएफले जनाएको छ । आइएसले मानबिजमा नागरिकलाई युद्धमा मानव ढालको रुपमा प्रयोग गरेकाले एसडिएफको भनाई छ ।
मानबिजमा भएको हवाई आक्रमणको युनिसेफसहितका मानवअधिकारवादी संस्थाले निन्दा गरेका छन् । मानबिजमा भएको पछिल्लो हवाई आक्रमणमा २० जना बालबालिका मारिएको खबर आएको युनिसेफले जनाएको छ । एसडिएफले घटनाको बारेमा आफूहरुले छानबिन गरिरहेको जनाएको छ ।