सरकार परिवर्तनको खेललाई नजिकबाट हेरिरहेका छौं : अशोक राई

काठमाडौं : संविधानमा उल्लेखित केही विषयमा असहमति राख्दै आन्दोलनरत मधेस केन्द्रित दलले केही जनजाति दलहरुसँग मिली बनाएको संघीय गठबन्धन अहिले काठमाडौंमा रिले अनसनमा छ। गठबन्धनले २८ दिनदेखि खुलामञ्चमा अनसन जारी राखेपनि उनीहरुको माग संबोधनका लागि सरकारसँग वार्ता हुन सकेको छैन। यसै समयमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकार परिवर्तनका लागि केही प्रयासहरु सुरु गरेको छ। यसै सन्दर्भमा आन्दोलनको टुंगो कसरी लाग्ला र सरकार परिवर्तनका विषयमा गठबन्धनको धारणा के छ? भन्नेबारे संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईसँग थाहाखबरका लागि जयसिंह महराले गरेको कुराकानी :
तपाईहरुको आन्दोलन कुन अवस्थामा पुगेको छ?
छ महिनासम्म चलेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले ठोस परिणाम प्राप्त हुन नसकेपछि हामीले आन्दोलनलाई राष्ट्रव्यापी रुप दिने र राजधानी केन्द्रित गर्ने र संघीय गठबन्धनको माध्यमबाट यसलाई अगाडि लैजाने निणर्य गर्‍यौं। यो रिले अनसनले धेरै मानिसहरुको ध्यानाकर्षण भएको छ र ऐक्यवद्धता प्राप्त गरेको छ। महत्वपूर्ण कुरा के हो भने, मधेस आन्दोलनका बारेमा सत्ताधारीहरुले जुन विष वमन गरेका थिए, त्यो विषको प्रभावलाई पूणतः शून्य गराउने काम यो अनसनबाट भएको छ। अनसनले सरकारमाथि पनि ठूलो दबाब सिर्जना भएको छ। तर पनि सरकार अझै पनि संघीय गठबन्धनसँग वार्ता गर्न तयार देखिदैन र वार एसोसिएसनले एउटा मध्यस्तकर्ताको टोली बनाएर वार्ताको वातावरण बनाइरहेको छ।
सरकारले आन्दोलनकारीलाई वार्तामा बस्न निमन्त्रणा गरेको थियो, तपाईंहरु किन जानुभएन?
सरकारले संघीय गठबन्धनलाई वार्तामा बोलाएकै छैन। संघीय गठबन्धन भित्रको एउटा घटक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई मात्र बोलाएको छ। अहिले आन्दोलन संघीय गठबन्धनको हो र मोर्चा एक अंश मात्र हो। मोर्चालाई मात्रलाई बोलाउँदा गठबन्धन वार्तामा संलग्न हुन सक्ने अवस्था हुँदैन। गठबन्धनले पछिल्लो बैठकबाट ७ बुँदे प्रस्ताव पठाएका छौं, गठबन्धनलाई वार्तामा बोलाउ भनेर। त्यसपछि प्रधानमन्त्रीसँग वार्ताको टेवलमा बस्नेछौं। त्यसपछि प्रधानमन्त्री, सरकारबाट कुनै किसिमको रेस्पोन्स आएको छैन। अहिले बल सरकारको कोर्टमा छ।
तपाईंहरु सरकारसँग माग राख्दै सिंहदरबार नजिकै रिले अनसनमा बसिरहनुभएको २८ दिन भइसक्यो, तर दलहरु सरकार परिवर्तनमा लागेका छन् नि?
अहिले सरकार परिवर्तन गर्ने खेलमा एकथरी दलहरु लागेको देखिन्छ, जुन हाम्रो आन्दोलनले सिर्जना गरेको पाटो हो भन्ने हामीले बुझेका छौं। किनकी, सत्ताधारीकै बीचमा आन्दोलनकारीसँग वार्ता गरेर मिलेर जानुपर्छ भन्ने र पेलेर जानुपर्छ भन्ने अन्तरविरोधले काम गरेको छ। जहाँसम्म हाम्रो कुरा हो, हाम्रा मागमा प्रतिवद्ध छौं। असमावेशी संविधानलाई राज्यशक्ति प्रयोग गरेर लागु नगरियोस् र सबैलाई सहमतीमा लिएर नै अगाडी बढनुपर्दछ भन्ने हाम्रो आग्रह हो। सरकार मात्र परिवर्तन भएर कागलाई बेल पाक्यो हर्ष न विस्मात हुने कुरामा हाम्रो चासो छैन।
यो सरकार फेरियो र अर्को सरकार बन्यो भने त्यमा तपाईंहरु सहभागी हुने कि नहुने?
केपी ओलीजीले नेतृत्व गर्नुभएको सरकार महिला, मधेसी, जनजाति, शिल्पी समुदाय, मुस्लिमहरुको मागप्रति अत्यन्त कठोर र यथास्थितिवादी देखिन्छ। कुनै किसिमको लचिलोपन र विकल्प यो सरकारसँग छैन। यो सरकारको विकल्पमा मात्राको हिसाबमा भएपनि लचिलो शक्ति र व्यक्ति आउँछ भने त्यसलाई अगाडि लानु आन्दोलनको हितमा हुन्छ भनेर विगतमा सुशीलजीलाई भोट हालेका हौं। आउने दिनमा सरकार परिवर्तको खेल कहाँ पुग्छ हेरेर निर्णयमा पुग्छौं।
तपाईहरुले निकाल्ने निर्णय सरकार परिवर्तनको पक्षमा जान्छ कि?
पूर्व घोषणा गर्ने अवस्था त छैन। अहिले उनीहरु सरकार परिवर्तन गर्ने विषयको टुंगोमा पुगेका छैनन्, यो विषयलाई हामीले नजिकबाट अध्ययन गरिराखेका छौं।
आन्दोलन कहिलेसम्म जारी रहन्छ?
रिले अनसन असार मसान्तसम्म जारी रहन्छ। आन्दोलन भने जबसम्म माग पूरा हुँदैनन् निरन्तर जारी रहन्छ।
असार मसान्तपछि कस्तो आन्दोलन हुन्छ?
आन्दोलनलाई जारी राख्छौं तर संघर्षको स्वरुप परिवर्तन हुन्छ।
आन्दोनल फेरि मधेसतिर मोडिन्छ कि?
अहिले त्यसबारे कुनै छलफल भएको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार