समर्थकलाई हिलरी क्लिन्टनको धन्यवाद

न्यूयोर्क : हिलरी क्लिन्टनले डेमोक्रेटिक पार्टीको तर्फबाट आफूलाई राष्ट्रपति पदका निम्ति मनोनयन गराउने अवस्थामा ल्याइ महिलाहरुलाई एउटा ऐतिहासिक मोडमा पुर्याएको भन्दै आफ्ना समर्थकहरुलाई धन्यवाद दिएकी छन्।

न्यूयोर्कमा खुसियाली मनाइरहेका आफ्ना समर्थकहरुलाई उनले भनिन्, “तपाईंहरुलाई धन्यवाद छ, हामी एउटा कोसेढुंगामा पुगेका छौँ।”

क्लिन्टनले ‘अमेरिकी इतिहासमै एउटा प्रमुख दलको तर्फबाट पहिलोपटक राष्ट्रपति पदका लागि एकजना महिला उम्मेदवार बन्ने’ भन्दै खुशी व्यक्त गरिन्।

यसअघि न्यूजर्जीमा सम्पन्न पार्टीगत चुनावमा जीत हात पार्दै उनले पार्टीको तर्फबाट आफ्नो मनोनयन पक्का गरेकी थिइन्।

समाचार संस्था एसोसिएटेड प्रेस एपीले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी पाउन क्लिन्टनले आवश्यक डेलिगेट्स अर्थात प्रतिनिधिहरुको संख्या प्राप्त प्राप्त गरिसकेको सोमबार हिसाब निकालेको थियो।

पार्टीगत चुनावमा रहेका ६ वटा राज्यहरुमध्ये क्यालिफोर्नियाको जीत सबैभन्दा महत्वपूर्ण हुने ठानिएको छ।

क्लिन्टनका प्रतिद्वन्द्वी बर्नी स्याण्डर्सले उक्त राज्यमा जित्ने अपेक्षा गरेका छन्, जहाँ कडा प्रतिस्पर्धा हुने मत सर्वेक्षणले देखाएका छन्।

पार्टीका सुपरडेलिगेट्सले क्लिन्टनलाई नभइ आफूलाई समर्थन गरुन् भन्ने स्याण्डर्सको उद्देश्य रहेको देखिन्छ।

यद्यपि पार्टीको तर्फबाट उम्मेदवारी पाउने आफ्नो प्रयासमा उनी सफल हुने नदेखिएको टिप्पणीकारहरुको अनुमान छ।

-वीवीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार