प्रथम राष्ट्रपति यादव भन्छन्,‘अहिलेको नेताहरुले देश बुझेन’(अन्तरवार्ता)

गणतन्त्र दिवसको अवसरमा नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादव आफ्नौ पैतृक गाउँ धनुषा जिल्लाको सपहीमा छन् । उनी अहिलेको संविधानबाट पूर्ण सन्तुष्ट छैनन् । त्यसैले उनी बारम्बार संविधान संशोधनको कुरा गर्छन् । अहिलेका नेताहरुले देश नबुझेर यस्तो समस्या आएको बताउँदै डा.यादवले सरकार लचिलो हुनु पर्ने बताउँछन् । मधेशी–पहाडी नमिलेसम्म राष्ट्र एक हुन नसक्ने बताउँदै डा. यादव आफु पहिले देशको नागरिक भएको र मधेशमा जन्मेकोले मधेशी भएको बताउँछन् । हुलाकी न्यूज सहयोगी पुरण साहले उहाँको पैतृक गाउँमा स्थानीय अप्पन टिभीका लागि गरेको अन्तर्वार्ताको संक्षिप्त अंश ।

गणतन्त्र दिवसको अवसरमा के भन्न चाहानु हुन्छ ?

संविधान जारी गरेको सात महिना भएछ । संबिधान जारी पछिको पहिलो गणतन्त्र दिवस मनाउँदै छौं । निश्चय नै सबै समस्या समाधान भएको छैन । तर यसलाई ७० वर्षको उपलब्धीको रुपमा लिनु पर्छ ।

संघीय गणतान्त्रिक लोकतान्त्रिक संविधानमा संशोधन भएर समावेशी र समानुपातिक स्थापित भएको छ । निश्चय नै सतप्रतिशत अन्तरिम संविधानमा जे थिए त्यो आएको छैन । केही कटौती भएको छ । जति कुरा अहिले आएको छ त्यही नै लागु गर्न सक्नु ठूलो कुरा हो ।
देस्रो कुरा, संघीयताको सवालमा मधेशी जनताको चित्त बुझ्न सकेको छैन । किनभने जुन बैज्ञानिक आधार थियो त्यो अनुसार भएको छैन । सामर्थ र पहिचानको आधारमा भएको छैन ।

मैले भन्दै आएको कुरा हो, काँग्रेस, एमाले, माओवादी र मधेशवादीहरु जबसम्म एक हुन सक्दैन तबसम्म राष्ट्र एक हुँदैन ।

– गणतन्त्र दिवसमा जुन उत्साह हुनु पर्ने थियो त्यो यस पटक छैन नि ?

हामीले जति पाएका छौं त्यतीमा खुशी हुनु पर्छ । अरु कुरा हुँदै गर्छ । अहिलेको मुख्य समस्या संविधानलाई लागु गर्नु हो । कानुन बनाउनु छ । संविधान संशोधन गर्नु हो । प्रदेशका सिमा विवाद बारे आएका कुरालाई समाधान गर्नुछ । यि सबै विषयलाई समाधान गर्नका लागि सरकार लचिलो हुनु पर्छ । मधेशी जनजातिको माग यथोचित ढंगले समाधान गर्दै अगाडि बढ्नु पर्छ ।

– काठमाडौंमा भव्य कार्यक्रम गरी गणतन्त्र दिवस मनाईयो । तपाई यहाँ गाउँमा हुनु हुन्छ । त्यस कार्यक्रममा पूर्व उपराष्ट्रपतिलाई अपमान गरेको कुरा आएको छ । त्यस्तै तपाई पूर्व राष्ट्रपति भएर पनि घर भाडा जस्ता समान्य कुरामा पनि विवादमा तानिनु हुन्छ किन नि ?

जुन काम सरकारको छ त्यो सरकारले गर्नेछ । सभाको जे काम छ त्यो सभाले गर्दैछ । अन्तर्राष्ट्रिय मान्यता अनुसार पूर्व राष्ट्राध्यक्षलाई जे गर्नु पर्ने हुन्छ त्यो सरकारले गर्नु पर्छ । यस विषयमा म बोल्न चाहँदिन ।

उनीहरुलाई जे गर्नुछ गर्दैछ, म गाउँमा छु । गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालको जनतालाई, मधेशको जनतालाई, पहाडको जनतालाई मेरो के अनुरोध रहनेछ किन हजारौं हजारको बलिदानबाट भएको उपलब्धीलाई अहिलेको सरकार र सरकारमा भएका पार्टीहरुले लचिलो भएर काम गर्नु पर्नेछ । लोकतन्त्रमा सरकारलाई नै लचिलो हुनु पर्छ । जर्वजस्तिको कुनै बाटो हुँदैन ।

मधेशका दललाई पनि संयमित हुनु पर्छ । जसरी हुलाकी राजमार्गमा उभिएर लाखौं लाख मधेशीले आफ्ना कुरा राखे । यही हो लोकतन्त्रको विधि । सरकारले पनि उग्र हुनु हुँदैन । सभाबाट समाधान गर्नुपर्छ ।

तपाईले भन्दै आएको कुरा हिमाल पहाड तराई एक हुनु पर्छ । तर संविधान जारी गर्ने बेलामा असन्तुष्टि किन ? आफु मधेशी भएर हो ?

सबभन्दा पहिले म देशको नागरिक छु । मधेशमा जन्मेकोले म मधेशी छु । जति बेला म राष्ट्र प्रमुख थिए त्यबी बेला मेरा धर्म थियो राष्ट्र धर्म । सबै जनताको माग लोकतन्त्रको विधिबाट पुरा हुनु पर्ने थियो तर भएन । त्यसैले म संविधान जारी गर्दा खुशी थिएन ।

तर म यसकारण खुशी छु कि जनताद्वारा लिखित संविधान राष्ट्रको धर्म अनुसार मैले जारी गर्नु प¥यो । तर मधेशको समस्या समाधान भएन ।

सबै पार्टीलाई मैले बुझाउन सकिन । मैले बुझाउन सकेको भए समाधान हुने थियो । त्यसकारण मलाई पीडा थियो । संबैधानिक कर्तव्य पुरा गरेको हुँ ।

म यतिकै भन्न चहान्छु, जुन अहिलेको संविधान छ त्यहीलाई अगाडि बढाउनु पर्छ । होइन भने यसमा पनि घटौती हुन सक्छ । अंग्रेजीमा ‘इरोज’ भन्छ त्यो हुन सक्छ । त्यो हुनु भएन ।

हाम्रा पालाका नेताहरुलाई देशको समझ थियो । तर अहिलेको पहाडका नेतालाई मात्र पहाडको समझ छ मधेशका नेतालाई मात्र मधेशको समझ छ । त्यसैले म सँधै भन्छु बैज्ञानिक आधारमा देशलाई अगाडि बढाउनु पर्छ ।

तपाईले जसरी सेनापति प्रकरण होस् वा चुनावका विषयमा भूमिका खेल्नु भयो त्यसरी संविधानका विषयमा खेल्न सक्नु भएन भन्ने कुरा छ नि ?

सेनापतिको विषय होस् वा चुनावको विषय होस मैले समाधान गरे । सबै जनताको साथ लिएर । अन्तर्राष्ट्रिय जगतको सद्भावन र सहयोग थियो ।
संविधान जुन तरिकाले बन्यो । जुन संविधानमा १३८ धाराको अनुसार संघीयताको विषय पनि समाधान गरेर जानु पर्ने थियो । तर भएन । मेजर तीन पार्टी एक ठाउँमा आए र सरकारले साथ दियो त्यस पछि मैले राष्ट्राध्यक्षको कर्तव्य पुरा गर्नै प¥यो ।

यसै संविधान अनुसार कानुन बनोस् र यसमा संशोधन भयो भने म झनै खुशी हुनेछु । संघीयतालगायत सबै विषय समाधान होस् । अहिले तीनवटा चुनाव हुन बाँकी छ । भूकम्प प्रभावितहरुको पुर्णनिर्माण होस् मधेशको जनताको समस्या समाधान होस् । सबै जनताले लोकतन्त्रको अनुभुति गरोस् ।

तर समस्या समाधान भइरहेको छैन नि ?

७० वर्षसम्म त लडाई लडेकै छु । अहिले जुन उपलब्धी भएको छ त्यसलाई नै मन्थन गरेर अगाडि बढ्नु पर्ने ज्ञान हुनु पर्छ अहिलेका नेताहरुमा । परिवर्तनका सम्बाहक अहिलेकै पार्टी हो । यिनीहरुले नै समस्या समाधान गर्नुपर्छ । मेरो धर्म जे थियो त्यही धर्म पुरा गरे ।

मेरो जनतासँग अनुरोध छ अहिले जति उपलब्धी छ त्यसलाई सकारात्मक रुपमा लिनु पर्छ । गणतन्त्र भनेको अक्सिजन हो देशका लागि । यो अक्सिजनका लागि विरुवा चाहियो । त्यो विरुवा संघीय लोकतान्त्रिक संविधान हो त्यसलाई बचाएर लानु पर्छ । त्यसले हामीलाई अक्सिजन दिनेछ ।

-हुलाकी न्युज डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार