ब्रिटिस आरोही लन्डन दूतावासमा

लण्डन : ९ औं सगरमाथा दिवस (एभरेष्ट डे)का अवसरमा लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा विदेशी आरोहीले आफ्ना अनुभव साटे ।

कार्यक्रममा ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरिसकेका ब्रिटिस आरोही एलन हिन्क्स (ओबीइ) ले सगरमाथा चड्ढाको अनुभव बाँडेका थिए । अर्का आरोही काल्साङ शेर्पाले पनि शेर्पा गाइडका रुपमा सगरमाथा आरोहण गर्दाको अनुभव सुनाए । साथै, लिटल शेर्पा फाउण्डेशनका निर्देशक जेम्स् ल्याम्बले सोलुखुम्बुको स्थानीय च्यारिटीसंग काम गर्दाको अनुभव सहभागीसमक्ष बाँडे ।

आइतबार साँझ नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र शेर्पा एसोसिएसन यूकेको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । आइतबार न्यूजिल्याण्डका नागरिक सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखरको सफल आरोहण गरेको ६३ औं वर्ष पुगेको छ भने नेपाल सरकारले औपचारिक रुपमा एभरेष्ट डे मनाउन थालेको यो ९ औं हो ।

कार्यक्रममा बेलायती सांसद, मेयर, काउन्सिलरहरु, सगरमाथा आरोहीहरु, ट्राभल एण्ड टुर अपरेटर्स, यात्रा लेखक, वायु सेवा कम्पनी, पत्रकार लगायत अन्य विशिष्ठ व्यक्तिहरु सहभागी थिए । मन्तव्यका क्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले सगरमाथा चढ्ने सफल आरोहीहरुलाई वधाई दिंदै आरोहणका क्रममा दिवंगत हुन पुगेका प्रति श्रद्धासुमन अर्पण गरे ।

क्षेत्रीले सगरमाथा क्षेत्रमा बढिरहेको प्रदुषणप्रति गम्भीर चासो व्यक्त सबैलाई यसको नकारात्मक प्रभावबारे जनचेतना जगाइदिन आग्रह गरे । उक्त अवसरमा हाइथ, केन्टका मेयर काउन्सिलर माइकल लायन्स्ले पनि आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा शेर्पा एसोसिएसन यूकेका अध्यक्ष साना शेर्पाले स्वागत मन्तव्य दिएका थिए भने नेपाल पर्यटन बोर्ड यूकेका प्रतिनिधि पशुपति भण्डारीले नेपालको पर्यटन, सगरमाथा, यसको सुन्दरता, नेपालका प्राकृतिक रमणीय गन्तव्यस्थल र नेपालको जारी पुनर्निर्माण झल्कने भिडियो प्रस्तुत गरे ।

अतिथिहरुलाई शेर्पा एसोसिएसन यूकेका तर्फबाट खादाले स्वागत गरिएको थियो । उक्त कार्यक्रम दूतावासका अट्याची तेजेन्द्र रेग्मी र एभरेष्ट इन ग्रुपका यादव भण्डारीले सञ्चालन गरेका थिए । कार्यक्रमका अवसरमा शेर्पा एसोसिएसनले शेर्पा नाच र नेपाली साँस्कृतिक नृत्य प्रस्तुत गरेको थियो ।

-इकान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार