नेपाली कम्युनिष्ट आन्दोलनको हस्तान्तरणका चुनौती

– अमृतनाथ तिमल्सिना

Cover Amritnath Timalsinaकार्ल मार्क्स युगको दोश्रो शताब्दीमा बगिरहँदा विश्व राजनीतिमा कम्युनिष्ट आन्दोलनको भविष्यमाथि प्रश्न उठिरहेको सन्दर्भमा नेपाली राजनीतिमा कम्युनिष्ट शक्ति एउटा सशक्त शक्तिको रुपमा उभिएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ६७ औं वर्षगाँठ मनाईरहँदा अहिलेसम्मको राजनीतिक यात्राको समिक्षा हुन जरुरी छ । नेपाली कम्युनिष्ट पार्टीहरु स्थापनाकालदेखि नै अन्यौल नै अन्यौलको बीचबाट गुज्रिएको इतिहासलाई समिक्षा गर्ने हो भने अवको सही र दूरगामी दिशा के हुने भन्ने निर्क्याैल हुन जरुरी छ । नेपाली कम्युनिष्ट आन्दोलन फुटपुरस्त, अवसरवादी दक्षिणपन्थ र उग्र वामपन्थी अतिवादबाट अन्यौलमा परेको कुरालाई करिब करिब स्वीकारेको अवस्था पाइन्छ तर यो अवस्थाबाट मुक्ति पाउनका लागि के गर्ने ? कम्युनिष्ट पार्टीको राजनीतिलाई हिजोको रुस र चीनको मोडलबाट मात्रै अगाडि बढाउने कि नयाँ ढंगबाट अगाडि बढाउने ? विश्व राजनीतिमा अस्तित्वको प्रश्न उठ्न लागिरहेको बेलामा मौलाईरहेको नेपाली कम्युनिष्ट राजनीतिलाई नै नयाँ मोडलको रुपमा फैलाउनेतर्फ सोच्दा के हुन्छ ? यी विषयहरुको समिक्षा हुन जरुरी छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र यसै सिद्धान्तसंग मिल्दोजुल्दो गरी अगाडि सारिएका कम्युनिष्ट राजनीतिको लोकतान्त्रिकरण सम्बन्धि राजनीतिक कार्यक्रमहरु नेपाली राजनीतिमा कम्युनिष्ट पार्टीको भविष्य हो । राजनीतिक रुपमा नेपाली मौलिक क्रान्तिले नयाँ ढंगको पहिचान बनाएको छ । लोकतान्त्रिक पद्धतिबाट जनताका बीचमा निर्वाचनका माध्यमबाट गएर जनताको मतले आफ्ना सिद्धान्त र कार्यक्रमलाई शासनसत्तामा स्थापित गराउने म्यान्डेट पाउने गरी नेपालमा सम्पन्न गरिएको जनवादी क्रान्तिलाई अव कम्युनिष्ट राजनीतिको दीर्घकालीन व्यवस्थापन र हस्तान्तरणको मोडलको रुपमा लिन सकिन्छ । जनवादी क्रान्तिका मोडलहरु रुसी र चिनियाँ मोडलमै तुलना गर्नुपर्छ भन्ने छैन भन्ने प्रष्ट पारेको नेपाली मोडललाई पनि अव उत्तिकै स्थापित गर्न पर्छ । यो सैद्धान्तिक सवाललाई उठाउँदा यससंग जोडिएको कोही व्यक्तिले जस पाउँछ भन्ने संकीर्ण मानसिकताका कारण नेपाली मोडलको जनवादी क्रान्तिको मार्गचित्रलाई साझा रुपमा दस्तावेजमै स्वीकार्न केही कन्जुस्याईहरु भएका छन् । यी कन्जुस्याईहरु कम्युनिष्ट राजनीतिको हस्तान्तरणका बाधक बन्नेछन् ।

नेपाली कम्युनिष्ट आन्दोलन अहिले दोश्रो पुस्ताबाट तेस्रो पुस्तातर्फ हस्तान्तरणको क्रममा छ । मूल रुपमा पहिलो पुस्ताले निरंकुश जहानियाँ राणा शासनको अन्त्यका लागि लड्यो । दोश्रो पुस्ताले पञ्चायती व्यवस्थाका विरुद्ध लड्यो र तेस्रो पुस्ताले सामन्तवादको अवशेषको रुपमा रहेको राजतन्त्रको अन्त्य र लोकतान्त्रिक संघीय गणतन्त्रको स्थापनाका लागि लड्यो । तेस्रो पुस्ताको प्रवल सहभागिता तथा दोश्रो पुस्ताकै नेतृत्वमा लडिएको तेस्रो चरणको लडाईको उपलब्धि तेस्रो पुस्ताको प्रवल उपस्थितिमा हुने कार्यान्वयनले मात्रै सुनिश्चित गर्छ । अझै पनि कम्युनिष्ट पार्टीहरुभित्र नेतृत्वको हस्तान्तरण तथा विचार एवम् कार्यक्रममा केन्द्रीकरण हुन नसक्दा फुटपरस्त गतिविधिहरु मौलाईरहेका छन् । जसका कारण कम्युनिष्ट आन्दोलन कमजोर भईरहेको छ । सेलीव्रेटी बन्ने नाउँमा भएका केही गैर राजनीतिक तथा पुँजीवादी प्रवृतिमा गतिविधिहरु र केही सामन्तवादी अवशेष प्रवृतिका गतिविधिहरुले कम्युनिष्ट पार्टी राजनीतिक सिद्धान्तको जगमै सुदृढ ढंगले नयाँ पुस्तामा हस्तान्तरण हुन सम्सया सिर्जना हुने देखिन्छ ।

राजनीतिक दलहरुमा विचार र कार्यक्रमका आधारमा भन्दा व्यक्तिमा केन्द्रीत भएर हुने गुटबन्दीहरु, राज्य र शासकीय संरचनाको जनपक्षीय उपयोग भन्दा व्यक्तिवादी प्रभावमा हुने दुरुपयोगले कम्युनिष्ट आन्दोलन अर्को पुस्तामा हस्तान्तरित हुँदा सहज ढंगले नहुन सक्छ । यो बेलाको नेपाली युवा पुस्तामा परेको प्रभावलाई हेरेर कम्युनिष्ट राजनीतिको हस्तान्तरणलाई समिक्षा गर्न जरुरी छ । हिंसाको भुंग्रोमा पिल्सिएर आएको युवा पुस्ता अहिले विगतको ध्वंशको ठाउँमा निर्माण गर्दैछ । हिजोको अविकास, अचेतनाका विरुद्ध विकास र सचेतनाको मुद्धा बोकिरहेको छ तर उसको दिमागमा कम्युनिष्ट पार्टीको सैद्धान्तिक पक्षलाई हामीले कसरी स्थापित गराएका छौं ? भनेर आत्मसमिक्षा गर्न जरुरी छ । अर्को एउटा युवा जमात छ जो जुनसुकै बेला आफ्नो देशमा कुनै पनि कामको सम्भावना छैन, भविष्य छैन भनेर श्रम र पसिना बेच्न विदेशिएको छ । अझ सचेत र बुज्रुक पुस्ता नेपालमा सम्भावना सकियो भन्दै अमेरिका र युरोप लगायतका विकसित मुलुकहरुमा कुनै न कुनै रुपमा प्रवेश गरेर गैरु कानुनी बसाइ तथा शरणार्थी बसाईको विकल्पतर्फ अग्रसर भईरहेको छ ।

यो पुस्तालाई हामीले कम्युनिष्ट आन्दोलनको सैद्धान्तिक तथा कार्यक्रमकि पक्ष कसरी लैजान सक्यौं यो समिक्षा गर्न जरुरी छ । हामीले खाडीमा श्रम बेच्ने अर्ध शिक्षित तथा अशिक्षित वर्गदेखि युरोप अमेरिका भासिएको बुज्रुक र सचेत युवा तप्का जो नेपाली समाजमै राजनीतिलाई बोझको रुपमा हेरिरहेको छ त्यसलाई कम्युनिष्ट राजनीतिक कसरी बुझाउने ? यो विषयमा समिक्षा हुन जरुरी छ । हो निश्चय नै समस्याहरु छन् । नयाँ पुस्तामा राजनीतिप्रति मोह छैन । अझ पछिल्ला दिनमा राजनीतिक अभियान र नारा बोक्ने पुरानो अस्तित्वका दलहरुप्रति घृणा बढ्दो छ । राजनीतिक तथा कार्यक्रमिक हिसावले राम्रो विकल्पसहित दूरगामी बाटो तय गरेका कम्युनिष्ट दलहरुले युवालाई सिकाउन जरुरी छ कि कम्युनिष्ट राजनीतिक शक्तिले श्रममा विश्वास गर्छ । श्रम र सीप तथा क्षमताले सिर्जना गरेको पुँजी दलाल पुँजीभन्दा सशक्त हुन्छ ।

समाज पुँजीवादी चरणमा प्रवेश गर्यो भनेर राजनीतिक दस्तावेजमा आउनासाथ पार्टीका सिद्धान्त तथा कार्यक्रम नै संसोधन गरेर जसरी पनि पुँजी निर्माण गर्ने अभियानमा जानु सरासर दलाल पुँजीको फन्दामा फस्नु हो । यसले दीर्घकालीन रुपमा जनपक्षीय काम गर्न सक्दैन । यो सामाजिक कलंक लाग्ने पुँजी हो । यसैले सिर्जनात्मक पुँजी निर्माण गर्दै अगाडि बढ्न श्रम र सीप सहितको राजनीतिक मिसन जरुरी छ । श्रम र सीपमा विश्वास गर्ने उत्पादनमूलक आर्थिक गतिविधिलाई आर्थिक नीतिको रुपमा अवलम्वन गर्ने नीति बोक्न जरुरी छ । नयाँ पुस्तालाई श्रम र सीप तथा योग्यता र क्षमतालाई प्राथमिकता दिने पार्टीको रुपमा कम्युनिष्ट पार्टीहरुलाई चिनाउन सक्यौं भने नेपाली मोडलको कम्युनिष्ट आन्दोलन अझ मौलिक हुनेछ । राजनीतिक क्रान्तिलाई मूल लक्ष्य बनाइएको कालखण्डमा राजनीतिक प्रशिक्षण परिचालन र कौशललाई नै क्रान्तिको सुत्रधारका रुपमा मानिन्थ्यो, मानिन्छ र मान्नुपर्छ ।

अब राजनीतिक क्रान्तिले एउटा चरण पार गरेको छ । पुँजीवादी क्रान्ति सुरु भएको छ त्यसैले पुँजीवादी क्रान्तिको चरणमा आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि उत्पादनलाई तीव्र गतिमा बढाउने, आयात घटाई निर्यात बढाएर स्वावलम्वी व्यापार नीतिको कार्यान्वयन गर्ने, राष्ट्रिय पुँजी निर्माण गरी गौरवका कामहरु गर्ने, अनुदान तथा ऋणलाई उद्यमशील अभियानमा मात्रै परिचालन गर्ने र दलाल पुँजीको अन्त्य गरी स्वाधीन, सवल र राष्ट्रिय पुँजीको निर्माण गरी जनपक्षीय हीतमा प्रयोग गर्न सके नयाँ पुस्ताले कम्युनिष्टहरुप्रति भरोसा गर्नेछ । कम्युनिष्ट राजनीतिको हस्तान्तरण व्यवहारत सांगठानिक र कार्यक्रमिक रुपले हुनुपर्छ । सांगठानिक रुपमा मात्रै नयाँ पुस्तालाई ह्वार्रह्वार्ती हुलेर राजनीतिको हस्तान्तरण अर्को पुस्तामा जान सक्दैन । कार्यक्रमिक रुपमा मात्रै नयाँ पुस्तालाई हस्तान्तरण गरिएका दस्तावेज ल्याएर मात्रै पनि राजनीतिक हस्तान्तरण हुन सक्दैन । त्यसैले विचार र कार्यक्रम तथा सांगठानिक हिसावले कम्युनिष्ट राजनीतिको हस्तान्तरणलाई सिर्जनात्मक बनाउन सके नेपाली कम्युनिष्ट आन्दोलन दीर्घजीवी, अनुसरणीय र मौलिक मोडलको हुनेछ ।

तिमल्सिना प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुन् । 

नयाँपेजबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार