इलामका सरकारी कार्यालयमा पुनः बिचौलियाको सक्रियता बढ्दै !

  नयाँ बुलन्द
1.4k Shares

इलाम :  सेवाग्राहीको प्रत्यक्ष सहभागिता रहने कार्यालयहरूमा पुनः बिचौलियाहरू सक्रिय हुन थालेको गुनासो बढ्न थालेको छ। विशेषगरी यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा सेवा लिन पुगेका नागरिकहरूले पछिल्लो समय बिचौलियाको हस्तक्षेप पुनः बढ्दै गएको बताएका छन्।

केही समयअघि सरकारले देशभरका सरकारी कार्यालयहरूमा सक्रिय बिचौलियामाथि कडाइ गर्दै धमाधम पक्राउ अभियान सञ्चालन गरेपछि इलाममा समेत यसको सकारात्मक प्रभाव देखिएको थियो। सेवाग्राहीहरूले सहज रूपमा सेवा लिन थालेका थिए भने कार्यालयको कामकाज पनि पारदर्शी बन्दै गएको अनुभूति गरिएको थियो।

तर पछिल्ला दिनहरूमा भने अवस्था पुनः पुरानै ढर्रामा फर्किन थालेको सेवाग्राहीहरूको गुनासो छ। “कागजात मिलाइदिन्छु, छिटो काम गरिदिन्छु” भन्दै केही व्यक्तिहरू कार्यालय परिसरमै सक्रिय देखिन थालेको एक सेवाग्राहीले बताए। उनीहरूका अनुसार सामान्य प्रक्रियाबाट काम गर्दा ढिलाइ हुने तर बिचौलियामार्फत जाँदा छिटो हुने प्रवृत्ति अझै कायम छ।

यातायात र मालपोतजस्ता संवेदनशील सेवासँग सम्बन्धित कार्यालयहरूमा यस्ता गतिविधि बढ्दा सेवाग्राही आर्थिक तथा मानसिक रूपमा पीडित हुने गरेका छन्।

स्थानीय सरोकारवालाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पुनः कडाइका साथ अनुगमन र नियन्त्रण अभियान सञ्चालन गर्न माग गरेका छन्।

यस विषयमा सम्बन्धित कार्यालयहरूले भने बिचौलियाको कुनै पनि  प्रलोभनमा नपरी सेवाग्राही स्वयंले प्रक्रिया अनुसार सेवा लिन आग्रह गरिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार