
इलाम : इलामको सूर्योदय नगरपालिकाले असार १६ गते सोमबार ५ नं. वडा कार्यालय समाल्बुङमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्दैछ । स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले वडा कार्यालयको प्राङ्गणमा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
सूर्योदय नगरपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिका, विषयगत शाखा तथा वडा कार्यालयबाट आर्थिक वर्ष २०८२/०८३ को अन्तिम चौमासिकमा सञ्चालन भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहसम्बन्धी गतिविधिको समीक्षा गरिनेछ । साथै नागरिकबाट प्रत्यक्ष रूपमा सुझाव, गुनासा र प्रतिक्रियासमेत संकलन गरिने नगपालिकाले जनाएको छ ।
कार्यक्रममा नगपालिका र ५ नं. वडा कार्यालयले पूर्वाधार विकास, सडक, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा भएका गतिविधि र उपलब्धिबारे प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछ । नागरिकहरूले सेवा प्रवाह, विकास आयोजना तथा स्थानीय तहका गतिविधिबारे आफ्ना जिज्ञासा र सुझाव राख्न सक्ने व्यवस्था गरिएको छ ।
सार्वजनिक सुनुवाइमार्फत प्राप्त सुझाव र प्रतिक्रियालाई आगामी योजना तर्जुमा तथा सेवा सुधारका आधारका रूपमा उपयोग गरिने नगरपालिकाको भनाइ छ । यस कार्यक्रमले स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्नुका साथै जनप्रतिनिधि र कर्मचारीलाई थप उत्तरदायी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहनेछ ।

















































