
इलाम : सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना बाल बचतकर्तामा नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यले शनिबार स्टेशनरी सामग्री वितरण गरेको छ ।
संस्थाको सेवा केन्द्र इलाम अन्तर्गत रहेका ९४ जना नियमित बाल बचतकर्तालाई प्रोत्साहनस्वरूप कापी, कलमलगायतका स्टेशनरी सामग्री वितरण गरिएको संस्थाले जनाएको छ । बालबालिकामा सानैदेखि बचत गर्ने संस्कार विकास गर्न तथा नियमित बचतलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम इलाम नगरपालिका-७ का वडा सदस्य विमल वैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै वडा सदस्य वैद्यले बालबालिकामा बचतको बानी बसाल्न सहकारीले सञ्चालन गरेको यस्तो कार्यक्रम प्रशंसनीय रहेको बताउँदै यस्ता अभियानले भविष्यमा आर्थिक अनुशासन र जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।
सहकारीका प्रतिनिधिहरूले बाल बचत कार्यक्रमले बालबालिकामा आर्थिक सचेतना अभिवृद्धि गर्नुका साथै भविष्यका लागि बचत गर्ने संस्कार स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । संस्थाले आगामी दिनमा पनि सदस्यहरूको हितलाई केन्द्रमा राखी यस्ता प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
कार्यक्रममा बाल बचतकर्ता, अभिभावक, सहकारीका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।




















































