
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा विद्यालयको भौतिक पूर्वाधार विकास, मातृभाषा शिक्षाको विस्तार, सूचना प्रविधिको प्रयोग तथा शिक्षक क्षमता विकासलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । संघीय तथा प्रदेश सरकारको सहयोग र गाउँपालिकाको समन्वयमा शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको शिक्षा शाखाले जनाएको छ ।
शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाका अनुसार संघीय सरकारको १ करोड २० लाख रुपैयाँ बजेटबाट गाउँपालिकाका ६ वटा विद्यालयमा तीन-तीन कोठे पक्की विद्यालय भवन निर्माण कार्य अघि बढाइएको छ । प्रत्येक विद्यालयका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यसवर्ष माङसेबुङ-१ को वरभञ्ज्याङ आधारभूत विद्यालय र माण्डिका आधारभूत विद्यालय, माङसेबुङ-२ को इभाङ आधारभूत विद्यालय, माङसेबुङ-३ को जनकल्याण आधारभूत विद्यालय, माङसेबुङ-४ सरस्वती आधारभूत विद्यालय र माङसेबुङ-६ को चन्द्रेश्वरी आधारभूत विद्यालयमा भवन निर्माण भएका छन् । भवन निर्माणपछि विद्यार्थीले सुरक्षित, व्यवस्थित र गुणस्तरीय सिकाइ वातावरण पाउने अपेक्षा गरिएको छ ।
त्यसैगरी कोशी प्रदेश सरकारको ७ लाख ५० हजार रुपैयाँको लागतमा माङसेबुङ-४ को सरस्वती आधारभूत विद्यालयमा आधुनिक शौचालय निर्माण गरिएको छ । यसले विद्यालयको सरसफाइ तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा सहयोग पुगेको गाउँपालिकाको विश्वास छ ।
मातृभाषा शिक्षाका लागि आवश्यक शिक्षक व्यवस्थापनअन्तर्गत गाउँपालिकाले लिम्बू भाषा शिक्षक तीन विद्यालयमा व्यवस्थापन गरेको छ । माङसेबुङ-१ को गजुरमुखी आधारभूत विद्यालय र मण्डिका आधारभूत विद्यालय एवम् माङसेबुङ-३ को दुर्गा माध्यमिक विद्यालयमा लिम्बू भाषा शिक्षकको व्यवस्था गरिएको शिक्षा शाखा प्रमुख खतिवडाले जानकारी दिए ।
त्यस्तै वान्तवा (बान्तवा) भाषा शिक्षक पनि तीन विद्यालयमा व्यवस्थापन गरिएको छ । माङसेबुङ-२ को सरस्वती आधारभूत विद्यालय, माङसेबुङ-४ को जनता आधारभूत विद्यालय र माङसेबुङ-६ को सिंहेश्वरी आधारभूत विद्यालयमा वान्तवा भाषा शिक्षकको व्यवस्था गरिएको छ । मातृभाषा शिक्षक नियुक्ति प्रक्रिया अघि बढाइएको शिक्षा शाखा प्रमुख खतिवडाले बताए ।
प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्न गाउँपालिकाले ११ वटा विद्यालयमा स्मार्ट टिभी वितरण गरेको छ । स्मार्ट टिभीमार्फत डिजिटल सामग्री प्रयोग गरी शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।
खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो, जसमा गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालय सहभागी भएका थिए । प्रतियोगिताले विद्यार्थीको प्रतिभा विकाससँगै खेल संस्कृतिको प्रवर्द्धनमा सहयोग पुर्याएको शिक्षा शाखाले जनाएको छ ।
यसैगरी प्रतिभा पहिचान कार्यक्रम, शिक्षक क्षमता अभिवृद्धि तालिम तथा मन्टेसरी तालिम समेत सञ्चालन गरिएको शाखा प्रमुख खतिवडाले जानकारी दिए । उनका अनुसार यस्ता कार्यक्रमले शिक्षण विधिलाई आधुनिक, प्रभावकारी र बालमैत्री बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
शिक्षा शाखाले भौतिक पूर्वाधार निर्माण, मातृभाषा शिक्षाको प्रवर्द्धन, सूचना प्रविधिको प्रयोग, शिक्षकको क्षमता विकास तथा अतिरिक्त क्रियाकलापलाई सन्तुलित रूपमा अघि बढाउँदै गाउँपालिकाको शिक्षा क्षेत्रलाई थप गुणस्तरीय, समावेशी र प्रविधिमैत्री बनाउने अभियानलाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।


















































