
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-१ मा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन गरिएका विकास योजना तथा कार्यक्रममध्ये अधिकांश सम्पन्न भएका छन् भने केही योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेका छन् ।
वडा कार्यालयले सार्वजनिक गरेको हालसम्मको प्रगति विवरणअनुसार चालु आर्थिक वर्षमा कुल १९ वटा योजना तथा कार्यक्रम सञ्चालनमा रहेका छन् । ती योजनाका लागि ३२ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
पूर्वाधार विकासतर्फ वडा क्षेत्रका सडक मर्मत, विद्यालय भवन मर्मत, खानेपानी योजना सुधार तथा खेल मैदान निर्माणका काम सम्पन्न भएका छन् । वडा कार्यालयका अनुसार २०८३ जेठ मसान्तसम्म १ नम्बर वडा सडक मर्मत, जनता आधारभूत विद्यालय पाटीगाउँको गेट निर्माण, गजुरमुखी आधारभूत विद्यालय भवन मर्मत, सिसिर बोटे, तामाङ-श्रेष्ठ गाउँ खानेपानी योजना मर्मत, गजुरमुखी खेल मैदानमा स्टेज निर्माण तथा गजुरमुखी आधारभूत स्वास्थ्य केन्द्रको घडेरी सम्याउने लगायतका योजना सम्पन्न भइसकेका छन् ।
सामाजिक विकासतर्फ महिला विकास कार्यक्रम, विपद् व्यवस्थापन कार्यक्रम तथा खेलकुद विकास कार्यक्रम पनि सम्पन्न भएको वडा कार्यालयले जनाएको छ।
यस्तै, जनता आधारभूत विद्यालय पिपलडाँडा सडक निर्माण, कृषि तथा पशुपक्षी विकास कार्यक्रम, बालबालिका, दलित, ज्येष्ठ नागरिक तथा आदिवासी जनजाति लक्षित कार्यक्रम, सुशासन प्रवर्द्धन कार्यक्रम, आचार्य गोलाई-महेन्द्रोदय माध्यमिक विद्यालय लुम्दे सिमाना सडक स्तरोन्नति, फिजारा मूल सडक मर्मत तथा नावालुङ-ढुङ्गासिङतप्पे-वालागाउँ सडक मर्मत लगायतका योजना कार्यान्वयनको क्रममा रहेका छन् ।
खानेपानीतर्फ सुतार गैरी खानेपानी योजना मर्मत सम्पन्न भए पनि भुक्तानी प्रक्रिया बाँकी रहेको जनाइएको छ । छाँगे खोला खानेपानी योजना मर्मत भने विभिन्न कारणले हालसम्म सञ्चालन हुन नसकेको विवरणमा उल्लेख गरिएको छ ।
यी योजनाबाट वडा क्षेत्रका विद्यालय, उपभोक्ता समूह तथा स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक, आदिवासी जनजाति, कृषक तथा खेलकुद क्षेत्रमा समेत कार्यक्रम सञ्चालन गरिएकाले सामाजिक र पूर्वाधार विकासलाई समान प्राथमिकता दिइएको देखिन्छ ।
वडा कार्यालयले बाँकी रहेका योजनाहरू पनि चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जनाएको छ ।
भिडियो :















































