सेवाग्राहीमैत्री शासनसँगै विकासको गतिमा अघि बढ्दै फाकफोकथुम गाउँपालिका २ नं. वडा कार्यालय

  नयाँ बुलन्द
210 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका वडा नं. २ ले आर्थिक वर्ष २०८२/०८३ मा विकास निर्माण, सेवा प्रवाह र सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । आइतबार वडा कार्यालयमा फाकफोकथुम गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा सार्वजनिक गरिएको प्रगति विवरणले वडा कार्यालयले स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र प्रशासनिक सुधारका क्षेत्रमा महत्वपूर्ण काम गरेको देखाएको छ।

सेवाग्राहीमैत्री सेवा प्रवाह

वडा कार्यालयले सेवाग्राहीमैत्री प्रशासनिक अभ्यासलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाएको जनाएको छ ।  ‘पहिले आउने सेवाग्राहीलाई पहिले सेवा’ को सिद्धान्तअनुसार सेवा दिइँदै आएको वडा अध्यक्ष यामबहादुर खत्री पौडेलले बताए । यस्तै अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकालाई विशेष प्राथमिकता प्रदान गरिएको छ ।

भूमिकर, राजस्व तथा सेवा शुल्कको अनलाइन भुक्तानी व्यवस्था लागू गरिएको छ । नागरिकता सिफारिससमेत अनलाइन प्रणालीमार्फत प्रदान गरिँदै आएको छ । जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय वा अन्य सरकारी निकायमा आवश्यक कागजात ईमेलमार्फत पठाएर नागरिकलाई सहजता प्रदान गरिएको वडा अध्यक्ष पौडेलले बताए ।

योजना सम्झौतासम्बन्धी सम्पूर्ण कागजात वडा कार्यालयबाटै तयार गरिदिने व्यवस्था मिलाइएको छ । सेवाग्राहीलाई आवश्यक फोटोकपी सेवा पनि कार्यालयले निःशुल्क उपलब्ध गराउँदै आएको छ । अत्यावश्यक कामका लागि सार्वजनिक बिदाका दिनसमेत सेवा प्रदान गरिएको जनाइएको छ ।

सामाजिक सुरक्षा भत्ता नवीकरण तथा बायोमेट्रिक प्रमाणीकरणका लागि वडाका विभिन्न स्थानमा घुम्ती शिविर सञ्चालन गरिँदै आएको छ । उपभोक्ता समिति गठन गर्दा कम्तीमा तीन दिनअघि सूचना प्रकाशन गरी पारदर्शी ढंगले गठन गर्ने अभ्यासलाई निरन्तरता दिइएको छ ।

स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि

स्वास्थ्य पूर्वाधार विकासतर्फ प्रदेश सरकारको करिब १८ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको १५ शैयाको आधुनिक अस्पताल अन्तिम चरणमा पुगेको छ । अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले सामान्यदेखि आधारभूत स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा पाउने अपेक्षा गरिएको छ ।

हालसम्म स्वास्थ्य सेवाका लागि जिल्ला सदरमुकाम वा अन्य स्थानमा जानुपर्ने बाध्यता कम हुने स्थानीयवासीको विश्वास छ । अस्पताल निर्माणलाई वडाको विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।

सडक स्तरोन्नतिले बढ्यो पहुँच

पूर्वाधार विकासतर्फ प्रदेश सरकारको सहयोगमा प्रति योजना ५० लाख रुपैयाँभन्दा बढी लागतका तीन प्रमुख सडक स्तरोन्नति योजनाहरू अन्तिम चरणमा पुगेका छन् । पसल-कोलबोटे-साप्तिन सडक, फलाटे-चुहानडाँडा-खाम्बाङ सडक तथा पसल-फुस्रे हुँदै साप्तिन सडक स्तरोन्नति भइरहेको छ ।

त्यस्तै आमचोक-त्रिवेणी हुँदै कन्सिरी-साप्तिन-डोकानडाँडा सडकमा समेत निर्माण कार्य जारी रहेको छ । वर्षायाममा बिग्रिएका सडकहरूको मर्मत, सरसफाइ र सञ्चालनको काम पनि सम्पन्न गरिएको छ ।

वडास्तरीय योजनाअन्तर्गत फुएल गाउँ-भट्टराई गाउँ-तिवाखोला सडक, कन्सिरी घाट जाने मोटरबाटो तथा अन्य सडक स्तरोन्नति कार्यक्रम सञ्चालन गरिएका छन् । केही योजनाहरू विपद्का कारण बजेट कटौती भएपछि प्रभावित भएका छन् ।

धार्मिक तथा पर्यटन सम्भावनाले भरिएको वडा

वडा नं. २ धार्मिक तथा पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण क्षेत्रका रूपमा रहेको छ। यहाँ रहेका चुहानडाँडा शिवालय मन्दिर, सिंहकाली देवीस्थल, ढुलपुजे देवस्थल, एकचुले डाँडा, साब्लिथुम्की डाँडा, छाँगेटार झरना र जोरधारा जस्ता स्थलहरूलाई पर्यटन विकासका आधारका रूपमा हेरिएको छ ।

स्थानीय सरकारको उचित लगानी र प्रचारप्रसार भए यी क्षेत्रहरूले ग्रामीण पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको छ ।

कृषिमा व्यवसायिकरणको प्रयास

कृषि तथा पशुपालन क्षेत्रलाई व्यावसायिक बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । २५ प्रतिशत लागत साझेदारीमा प्लास्टिक टनेल वितरण गरिएको छ भने कृषकलाई मोटरसहित च्यापकटर उपलब्ध गराइएको छ ।

गोठ सुधार कार्यक्रमअन्तर्गत १५ वटा सुधारिएको गोठ निर्माण गरिएको छ। महिला उद्यमशीलता विकास कार्यक्रममार्फत पराल तथा मुडे च्याउ सम्बन्धी तालिम सञ्चालन गरिएको छ । किसान सूचिकरण शिविर सञ्चालन गरी कृषकहरूको तथ्यांक अद्यावधिक गरिएको छ ।

तरकारी पकेट विकास कार्यक्रमका लागि नवकिरण सहकारी संस्थालाई ६ लाख रुपैयाँ प्रदान गरिएको छ । जैविक मल उत्पादन तथा उपयोग प्रवर्द्धन कार्यक्रम सञ्चालनमा रहेको छ भने चिया प्रशोधन केन्द्रलाई वृद्धि-मुखी कार्यक्रमअन्तर्गत सहयोग गरिएको छ ।

पशु स्वास्थ्यमा विशेष ध्यान

वडामा पशु स्वास्थ्यलाई प्राथमिकता दिँदै ४ हजार ३० वटा साना तथा ठूला पशुमा विभिन्न रोगविरुद्ध खोप लगाइएको छ । जसमा १ हजार २०० पशुलाई खोरेत, ४५० पशुलाई लम्पी स्किन, २ हजार साना पशुलाई पीपीआर, ८० पशुलाई रेबिज तथा ३०० पशुलाई स्वाइन फिभर विरुद्ध खोप लगाइएको छ ।

यसले पशुधन संरक्षण र कृषकको आर्थिक सुरक्षामा टेवा पुगेको वडा कार्यालयको भनाइ छ ।

सामाजिक विकास र लक्षित कार्यक्रम

वडाले जनजाति, दलित, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित कार्यक्रम सञ्चालन गरेको छ । दलित समुदायका लागि कृषि आयआर्जन कार्यक्रम सञ्चालन गरिएको छ भने महिला सञ्जालमार्फत आयआर्जनमूलक कार्यक्रम कार्यान्वयन गरिएको छ ।

अपाङ्ग एकता समाजलाई झोल तथा डल्ले साबुन उत्पादनका लागि कच्चा पदार्थ उपलब्ध गराइएको छ । गाउँपालिकाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूलाई साबुन निर्माण तालिमसमेत प्रदान गरिएको छ ।

राजस्व संकलनमा उत्साहजनक प्रगति

आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म वडा नं. २ ले कुल ९ लाख ८७ हजार १५४ रुपैयाँ राजस्व संकलन गरेको छ । भूमी तथा मालपोतबाट १ लाख ५२ हजार ४२२ रुपैयाँ र प्रशासनिक तथा सेवा शुल्कबाट ८ लाख ३४ हजार ७३२ रुपैयाँ संकलन भएको छ ।

व्यक्तिगत घटना दर्ता र प्रशासनिक सेवा

जेठ मसान्तसम्म ४४ जन्मदर्ता, ११ मृत्यु दर्ता, २३ विवाह दर्ता तथा ११ सम्बन्ध विच्छेद दर्ता भएका छन्। एक परिवारका तीन जना बसाइँ सरेर आएका छन् भने ११ परिवारका २४ जना अन्यत्र बसाइँ सरेका छन् ।

वडा कार्यालयबाट ५४८ वटा पत्र चलानी भएका छन्। जसमा ४७ नागरिकता सिफारिस, ५६ नागरिकता प्रतिलिपि सिफारिस, २१ नाता प्रमाणित, १२५ घरजग्गा सिफारिस तथा २४८ अन्य सिफारिस रहेका छन् ।

सुशासनलाई प्राथमिकता

वडाले सुशासन प्रवर्द्धनका लागि नागरिक वडापत्र, सूचना पाटी, सुझाव तथा उजुरी पेटिका र सामाजिक सञ्जालमार्फत सूचना प्रवाहलाई प्रभावकारी बनाएको छ । योजनाहरूको प्राविधिक निगरानी, जनप्रतिनिधिको अनुगमन तथा पाँच लाख रुपैयाँभन्दा माथिका योजनामा गाउँपालिकाको उपाध्यक्ष नेतृत्वको टोलीबाट अनुगमन गर्ने अभ्यास लागू गरिएको छ ।

वडाले जनसहभागितामूलक शासन प्रणालीलाई आत्मसात गर्दै पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वमा आधारित सेवा प्रवाहलाई प्राथमिकता दिएको जनाएको छ ।

स्थानीय सरकारको सात वर्षे यात्रामा वडा नं. २ ले विकास र सुशासनलाई सँगसँगै अघि बढाउँदै नागरिकको विश्वास जित्ने प्रयास गरेको देखिन्छ । स्वास्थ्य, पूर्वाधार, कृषि र प्रशासनिक सुधारमा हासिल भएका उपलब्धिले आगामी वर्षहरूमा वडालाई थप समृद्ध र आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ ।

फाकफोकथुम गाउँपालिकाको उत्तर-पश्चिम क्षेत्रमा अवस्थित वडा नं. २ साविक फाकफोक गाविसका वडा नं. ५ देखि ९ सम्मका क्षेत्र समेटेर संघीय संरचना निर्माणसँगै स्थापना भएको हो । १३.५८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडामा ६४५ घरधुरी रहेका छन् भने राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्या २ हजार ६३६ रहेको छ । जसमा १ हजार ३२८ पुरुष र १ हजार ३०८ महिला रहेका छन् ।

भौगोलिक रूपमा पहाडी क्षेत्र रहेको यो वडा बहुजातीय, बहुभाषिक र बहुधार्मिक समुदायको साझा बसोबास क्षेत्र हो । यहाँका अधिकांश नागरिक कृषि तथा पशुपालन पेशामा आबद्ध छन् । चिया, अलैँची, अदुवा, अकबरे खुर्सानी, अम्लिसो, किवी, धान तथा दुग्धजन्य उत्पादन स्थानीय अर्थतन्त्रका मुख्य आधार बनेका छन् । गाई, भैँसी, बाख्रा, सुँगुरलगायत पशुपालनले ग्रामीण अर्थतन्त्रलाई टेवा पुर्याइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार