सुशासनदेखि पूर्वाधारसम्म: फाकफोकथुम गाउँपालिका ६ नं. वडा कार्यालयको एक वर्षे उपलब्धि सार्वजनिक

  नयाँ बुलन्द
56 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ६ ले आर्थिक वर्ष २०८२/०८३ मा पूर्वाधार विकास, सेवा प्रवाह, कृषि तथा पशु विकास, सामाजिक सुरक्षा र सुशासनका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको जनाएको छ । सोमबार फाकफोकथुम गाउँपालिका वडा कार्यालयमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार वडाले सडक, खानेपानी, विद्युत विस्तार, स्वास्थ्य, कृषि र सामाजिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।

कार्यक्रममा वडा अध्यक्ष टंकनाथ खनालले  एक वर्षको प्रगति प्रतिदेवन प्रस्तुत गर्दै वडाले सेवा प्रवाहलाई प्रविधिमैत्री र नागरिकमैत्री बनाउने प्रयासस्वरूप व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्तालाई अनलाइन प्रणालीमार्फत सञ्चालन गरिरहेको जनाएको छ । ‘पहिले आउनेलाई पहिले सेवा’ को अवधारणा लागू गरिएको छ भने सेवाग्राहीलाई आवश्यक कागजातको फोटोकपी तथा विद्युतीय माध्यमबाट कागजात पठाउने व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडाभित्रै चार स्थानमा शिविर सञ्चालन गरिएको छ भने भत्ता बैंकिङ प्रणालीमार्फत वितरण हुँदै आएको छ । योजना कार्यान्वयनमा पारदर्शिता कायम गर्न पाँच लाख रुपैयाँभन्दा माथिका योजनाको गाउँपालिकाको उपाध्यक्षसहितको टोलीबाट अनुगमन गर्ने व्यवस्था गरिएको छ ।

वडाले गाउँ–गाउँमा पुगेर घुम्ती शिविर सञ्चालन गर्दै घटना दर्ता, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा पशु सेवा प्रदान गरिरहेको जनाएको छ । पशुमा देखिने लम्पी स्किन, खोरेत, पीपीआर र रेविजजस्ता रोगविरुद्ध खोप कार्यक्रम पनि सञ्चालनमा रहेको छ ।

प्रतिवेदनअनुसार यस आर्थिक वर्षमा सडक पूर्वाधारमा उल्लेख्य प्रगति भएको छ । वडाभित्र १ हजार ४ सय ५० मिटर सोलिङ तथा ५ हजार २ सय मिटर सडक ग्राभेल सम्पन्न गरिएको छ । कमेरे-वडा कार्यालय सडकमा ग्राभेल तथा ग्रेडरको काम गरिएको छ भने फलाटे, तिलपुङ र मेतालुङ-वडा कार्यालय सडक स्तरोन्नतिको काम प्रदेश सरकारको २५ लाख रुपैयाँको बजेटमा सम्पन्न हुने चरणमा रहेको छ ।

विद्युत विस्तारअन्तर्गत काबेली करिडोर परियोजनामार्फत तीनवटा ट्रान्सफर्मर जडान, ४ सय वटा एलटी पोल र विद्युत लाइन विस्तारको काम भइरहेको छ । यसले ग्रामीण बस्तीमा विद्युत पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा पोखरी सामुदायिक स्वास्थ्य इकाइको नयाँ भवन निर्माण सम्पन्न भई सेवा प्रवाह सुरु भएको छ । विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकलाई निःशुल्क सेवा प्रदान गरिएको छ भने आवश्यकताअनुसार एम्बुलेन्स सेवा पनि उपलब्ध गराइँदै आएको छ ।

कृषि तथा पशु विकासतर्फ ४३ वटा स्प्रे ट्याङ्की वितरण गरिएको छ भने आठ वटा गोठ र पाँच वटा पशुखोर निर्माण भएका छन् । बाँदर नियन्त्रणका लागि ११ वटा खोर निर्माण गरिएको छ । वडामा अलैंची पकेट कार्यक्रम र तोरी खेती प्रवर्द्धन कार्यक्रम पनि सञ्चालनमा छन् ।

खानेपानी क्षेत्रमा छ वटा योजना सञ्चालनमा रहेका छन् भने सहायता संस्थासँगको साझेदारीमा फलाटे बजार क्षेत्रमा दुई वटा ट्याङ्की र २४ वटा हिलट्याङ्क वितरण गरिएको छ । वडा कार्यालय परिसरमा खानेपानी ट्याङ्की तथा धारा व्यवस्थापनसमेत गरिएको छ ।

महिला सञ्जाल भवन निर्माण सम्पन्न भई उद्घाटन गरिएको छ भने जनजाति भवन फिनिसिङ, माङ्खिम संरक्षण, विद्यालय भवन मर्मत, कल्भर्ट निर्माण तथा पर्यटन क्षेत्र सरसफाइका कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।

उद्यमशीलता विकासतर्फ वडा नं. ६ का मनबहादुर थापा र तारा खनाल शीर्ष १० उद्यमीमा छनोट भई साझेदारी कार्यक्रममार्फत आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गरेका छन्। उनीहरूले विराटनगरमा दुई पटक तालिमसमेत लिएका छन् ।

राजस्व संकलनतर्फ वडाले चालु आर्थिक वर्षको चैतसम्म नगदी रसिदबाट ३ लाख ९९ हजार ४ सय ३१ रुपैयाँ र मालपोतबाट १ लाख १६ हजार ९ सय २७ रुपैयाँ गरी कुल ५ लाख १६ हजार ३ सय ५८ रुपैयाँ राजस्व संकलन गरेको छ ।

व्यक्तिगत घटना दर्ताअन्तर्गत ३५ जन्मदर्ता, ९ मृत्यु दर्ता, २४ विवाह दर्ता र पाँच सम्बन्ध विच्छेद दर्ता भएका छन्। तीन परिवार बसाइँ सरेर वडामा आएका छन् भने सात परिवार अन्यत्र बसाइँ सरेका छन् ।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत २ सय ५६ जना लाभग्राहीले भत्ता प्राप्त गरिरहेका छन् । जेष्ठ नागरिक १६८ जना, दलित जेष्ठ नागरिक १७ जना, एकल महिला १५ जना, विधवा महिला १६ जना तथा अपाङ्गता भएका व्यक्तिहरू लाभग्राही सूचीमा रहेका छन् ।

वडाले हालसम्म ६१४ वटा विभिन्न प्रकारका सिफारिस जारी गरेको छ भने २७८ वटा पत्राचार गरिएको जनाएको छ । पाँच वटा उजुरी परेकामध्ये दुई वटाको फर्छ्योट भइसकेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४ लाख ६६ हजार रुपैयाँ र गाउँपालिकाको २ लाख रुपैयाँ साझेदारीमा चार टोलमा २०० मिटर सोलिङ निर्माण गरिएको छ ।

यद्यपि केही योजनाहरू अझै अधुरै छन्। पाथीभरा मन्दिर देउराली, सबडिभिजन वन कार्यालय भवन, भिमसेन मन्दिर भजनकीर्तन हल तथा वडा कार्यालय परिसरको सिँढी, रेलिङ र पर्खाल निर्माणका काम सम्पन्न हुन बाँकी रहेको वडाले जनाएको छ ।

वडाले नागरिक सहभागिता, सूचना प्रवाह, जवाफदेहिता र पारदर्शितालाई प्राथमिकतामा राख्दै सुशासन प्रवर्द्धनमा जोड दिएको जनाएको छ । नागरिक वडा पत्र, सूचना पाटी, सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण तथा जनउत्तरदायी शासन प्रणालीको अभ्यासले स्थानीय सरकारप्रतिको विश्वास अभिवृद्धि भएको वडा सचिव सर्मिला राईले बताएन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार