मनाङ र मनाङबासीका संस्कृति

  निनाम लोवात्ती
7 Shares

मनाङ जिल्ला नेपालको पछिल्लो प्रशासनिक र भगौलिक विभाजनअनुसार गण्डकी प्रदेशमा पर्छ । नेपालका २१ वटा हिमाली जिल्ला मध्ये एकमा पर्ने मनाङ जिल्लामा गुरुङ जातिको मुख्य बसोवास रहेको छ । हुनत नेपालको सबैभन्दा कम जनसंख्या भएको जिल्ला पनि हो, मनाङ । २०७८ सालको १२ औं राष्ट्रिय जनगणनाको तथ्यांकमा उल्लेख भएअनुसार मनाङ जिल्लाको जनसंख्या ५,६५८ जना रहेको छ भने, मनाङ जिल्लामा गुरुङ जातिबाहेक कामी, दमाई, बाहुन, क्षेत्री, घले, मगर, तामाङ, भोटे, नेवार, राई समेतका बसोवास रहेको देखिन्छ । मनाङवासीहरुलाई बाहिरियाले चिन्दा, भन्दा–बुझ्दा ‘गुरुङ’ भनेर चिन्ने गरे तापनि, बुझे तापिन मनाङवासहरुी आफैले आफैलाई चाहिँ ‘निस्याङ्÷निस्याङ्बा’ भनी भन्छन्, बोलाउने गरेका छन् । अझ मनाङ जिल्लाको भूगोल र मनाङवासीहरु दुई भागमा रहेका छन् भन्नुपर्ने हुन्छ । जस्तै मनाङ जिल्लाको सदरमुकाम चामे बजारदेखि उँधोको भागलाई तल्लो मनाङ भनिन्छ भने, चामेदेखि उँभोको भागलाई माथिल्लो मनाङ माथिल्लो भन्ने गरिन्छ । हुन पनि माथिल्लो मनाङ र माथिल्लो मनाङवासीका रहनसहन, वेषभुषा, गरगहना, पोशाक, चाडपर्व, संस्कार, संस्कृति, जात्रामात्रा, रीतिथिति, चालचलन, खेतीपाती गर्ने तरिका, सिचाई वा कुलो, पशुपालन गर्ने तरिका, घर निर्माणको शैली आदि नेपालका गुरुङ वा अन्य जातजातिहरुको भन्दा पनि उत्तरी छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बत क्षेत्र र तिब्बती मानिसहरुसँग बढी मिल्दोजिल्दो र नजिक रहेको देखिन्छ ।

त्यसरी मनाङ अझ त्यसमा पनि माथिल्लो मनाङ र त्यहाँको भगौलिक बनोटको कुरा गर्दा सर्वप्रथम राजा महेन्द्रले २०१७–१८ सालतिर (सन् १९६० ताका) मनाङ जिल्लामा भ्रमण गर्न गरेपछि मात्रै बाहिरी दुनियाँमा मनाङ अझ माथिल्लो मनाङले चर्चा पाउन थालेको थियो, हो । ऊ वेला राजा महेन्द्र मनाङ जिल्लाको भ्रमण गर्न जाने क्रममा त्यहाँको कठिन भूगोल अनि त्यहाँका वासिन्दाहरुको खेतीपाती गर्ने, पशुपालन गर्ने तरिका, उनीहरुको आर्थिक कठिनाई अनि विकराल अवस्था एवम् जीवनशैली देखिसकेपछि माथिल्लो मनाङवासीहरुका लागि राजा महेन्द्रले थाईल्यान्डको राजधानी बैकक, बंगलादेशको राजधानी ढाका, हङकङ, दक्षिण–पूर्वी एसियाली देश आदिबाट नेपालमा सौदर्य प्रशाधनका सरसामान, सुन, चाँदी, लत्ता–कपडा र अन्य सरसामान पैठारी गर्नका लागि शुल्क नलाग्ने (भन्सार शुल्क मिनाहासहित) व्यवस्था गरिदिएका थिए । साथै त्यसका लागि माथिल्लो मनाङवासीहरुलाई विशेष खालको राहदानी (स्पेसल पासपोर्ट) को व्यवस्था गरिदिए । हुनत संयोगले राजा महेन्द्र त्यसरी २०१७÷०१८ सालतिर (सन् १९६०) पश्चिमाञ्चल विकास क्षेत्र भ्रमण गर्न जाने क्रममा पश्चिमाञ्चल विकास क्षेत्रको सदर मुकाम पोखरा सहरलाई भ्रमणको मुख्य मुकाम बनाएर पश्चिमाञ्चल विकास क्षेत्रको सबै जिल्ला भ्रमण गर्ने क्रममा राजा महेन्द्र हेलिकप्टरमार्फत मनाङ जिल्ला भ्रमण गर्न गर्ने क्रममा माथिल्लो मनाङ पनि पुगेपछि माथिल्लो मनाङवासीहरुको भाग्य पनि खुल्यो । त्यो वेला राजा महेन्द्रले मनाङ जिल्ला खास गरिकन मनाङजिल्लाको पनि माथिल्लो मनाङको भूगोल एवम् त्यहाँका वासिन्दाहरुको अवस्थालाई ध्यानमा राख्दै गरिदिएको विशेष राहदानीको व्यवस्था एवम् भन्सार मिनाहासहित व्यापार गर्न पाउने सहुलियतको व्यवस्थाको फलस्वरुप माथिल्लो मनाङवासीहरुको आर्थिक अवस्था छिट्टै कायापलट भयो । अहिले त मनाङ र मनाङवासीहरुको आर्थिक अवस्थालाई नेपालका केही तुलना गर्न योग्य जिल्लासँग तुलना गर्न सकिन्छ । त्यो वेला राजा महेन्द्रको दया–मायाले माथिल्लो मनाङ र माथिल्लो मनाङवासीहरुका लागि व्यवस्था गरिएको विशेष राहदानीको व्यवस्थालाई २०४६ सालको राजनैतिक परिवर्तनपछि बनेको सरकारले गरिदियो । त्यसरी विशेष राहदानीको व्यवस्था र भन्सार मिनाहासहित व्यापार गर्न पाउने सहुलियतको व्यवस्थालाई खारेज भएपछि माथिल्लो मनाङवासीहरुको आय आर्जनमा पनि असर पर्न थाल्यो ।

२०४६ सालको राजनैतिक परिवर्तनसँगै नेपाल पनि बाहिरिया देशहरुमा अलि बढी चिनिन थाल्यो, नेपालका बारेमा अलि बढी नै प्रचारप्रसार पनि हुन थाल्यो । फलतः नेपालमा विदेशी पर्यटकको आगमन पहिलेभन्दा बढ्न थाल्यो । त्यसको प्रत्यक्ष फाइदा मनाङवासीहरुले पनि मनग्यै लिए, लिई रहेका छन् । भनाइको मतलब सन् १९९०–९१ पछि नेपालमा पर्यटक भई भ्रमण गर्न आउने विदेशी पर्टकको संख्या ठूलो पैमानामा बढ्न थाल्यो । अझ मनाङ जिल्ला त छिट्टै नेपालको प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्न सफल भयो । त्यसो हुनुमा यो क्षेत्रमा विश्वका १४ अग्ला हिमाल मध्ये अन्नपूर्ण–१ का साथै यो हिमालको श्रृङ्खला, थोरोङ हिमाल एवम् थोरोङ घाँटी (थोरोङ–ला, थोरोङ–पास), जुन घाँटी विश्वकै अग्ला केही पदयात्रा मार्ग–पास मध्येमा पर्छ । त्यस्तै ११ औं शताब्दीमै प्रसिद्धि कमाएका तिब्बती बौद्ध धर्मालम्बी योगी (जोगी) मिलारेपाले ध्यान गरेर बसेको (मिलारेपा गुफा) गुफा, गंगापूर्ण ताल, तिलिचो ताल, हालसम्म आधिकारिक रुपमा विश्वकै अग्लो स्थानमा रहेको मानिएको ताल) र सो ताल हुँदै पदयात्रा गरी मुस्ताङ निक्लिने बाटा आदिलाई लिन सकिन्छ । एवम् आठ हजार मिटरभन्दा कम उचाइ भए तापनि पर्वतारोहीहरुमाझ चीरपरिचित हिमलुङ हिमाल, लमजुङ हिमाल, रत्न चुली, पिसाङ पिक (झोङ–री), जुलु पश्चिम, जुलु मध्य र जुलु सुदूर–पूर्व (चुलु चुलु वेस्ट, मिडल र चुलु फार इस्ट) का साथै नार र फू गाउँ हुँदै मुस्ताङ जिल्लाको माथिल्लो भाग निक्लने पदयात्रा मार्गका साथै अनेकौं स–साना र ठूल–ठूला हिमालको वरिपरि रहेको मनाङ जिल्ला विश्वकै उत्कृष्ट पदयात्रा मार्गमा दरिएको ‘अन्नपूर्ण फेरो (अन्नपूर्ण सर्कट) को पदयात्रा गर्न जाने मुख्य गन्तव्य पनि हो । पछिल्ला दिनमा आएर (विगतका वर्षहरुमा) हरेक एक वा दुई–तीन वर्षमा ‘अन्नपूर्ण फेरो (अन्नपूर्ण सर्कट रुट) को पदयात्रा मार्गले ‘विश्वकै उत्कृष्ट गन्तव्य एवम् विश्वका हरेक पदयात्रीले एक पटक पदयात्रा गर्नैपर्ने पदयात्रा मार्गमा दर्ज हुने मौका पाई रहन्थ्यो, कयौं पटक पाएको थियो ।

हुन पनि मनाङ जिल्लाका उपल्लो मनाङका वासिन्दाहरुलाई राजा महेन्द्रले २०१७÷०१८ सालतिर (सन् १९६० ताका) त्यहाँका वासिन्दाहरुको ज्यादै नै नाजुक आर्थिक अवस्थालाई ध्यानमा राख्दै गरिदिएको विशेष राहदानीको व्यवस्था एवम् भन्सार मिनाहासहित व्यापार गर्न पाउने सहुलियतको व्यवस्था गरिदिनुअघि उपल्लो मनाङवासीले खेतीपाती र पशुपालन गरेर बढो कठिन जीवन धान्ने गर्थे । यसरी उपल्लो मनाङका वासिन्दाहरुले विगतमा जीवन धान्ने प्रमुख आधारसँग सम्बन्धित रहेको एक पर्व को नाम हो — ‘यार्तुङ ।’ खासमा ‘यार्तुङ’ पर्व मुस्ताङ जिल्लाको माथिल्लो भाग, डोल्पा जिल्लाको माथिल्लो भेग र अन्य केही हिमाली जिल्लाका मानिसले पनि सांस्कृतिक पर्वका रुपमा मनाउने गरेका छन् । ‘यार’ र ‘तुङ’ मिलेर बनेको हो ‘यार्तुङ’ शब्द । तिब्बती भाषामा ‘यार’को अर्थ र ‘बर्खा÷वर्षा’ एवम् ‘तुङ’को अर्थ चाहिँ ‘रमाईलो वा विदाई’ भन्ने हुन्छ । त्यसैले ‘यार्तुङ’ पर्व मनाउनु भनेको वर्षालाई विदाई गर्नु वा वर्षा याम सकिएपछि रमाईलो मनाउनु÷गर्नु हो भन्ने बुझिन्छ ।

त्यसैले त ‘यार्तुङ पर्व’लाई हरेक वर्ष वर्षा याम सकिएपछि मनाईने गरिन्छ । यसको मतलब यो पर्व वर्षा यामलाई विदाई गरेर हिउँद यामलाई स्वागत गर्नु रहेको हुन्छ । हुनत खासमा ‘यार्तुङ’ शब्द चाहिँको व्युत्पत्ति चाहिँ तिब्बती भाषा हो भने, यो पर्व मनाउनुको खास अर्थ प्रकृतिलाई धन्यवाद दिनु पनि रहेको हुन्छ । वर्षातको समयमा बाढी पहिरो र अन्य प्राकृतिक विपत्तिबाट बचाएको खुसीयालीमा प्रकिृतिलाई धन्यवाद दिने मुख्य पर्वका रुपमा पनि ‘यार्तुङ पर्व’लाई लिईन्छ । त्यसैले हरेक वर्षको वर्षात् सकिएपछि कुनै प्रकारका प्राकृतिक विपत्तिहरु आई नलागोस् भन्ने कामना गर्दै प्रकृतिलाई आजा–पूजा गरेर, धूप–बत्ती बालेर, नाचगान गर्दै, विभिन्न खाले खेलहरु खेल्दै यस पर्वलाई मनाईने गरिन्छ । बर्षात्को समयमा मानिसहरु दुःख–कष्ट, भेल–बाढी, पहिरो लगायत प्राकृतिक प्रकोपले आफ्नो खेती, बाली एवम् पशु–धन नाश गर्ने हो कि ? भनेर मनभरि डर र चिन्ता पालेर बाँच्नुपर्ने स्थिति रहेको हुन्छ । त्यसैले त यो पर्व बर्षात्को समय सकिने छेका अर्थात् जनै पूर्णीमा (साउन–भदौ महिना, प्रायः भदौ महिनामा पर्ने गर्छ) ताका मनाईने गरिन्छ । ‘यार्तुङ पर्व’ मान्दा व्व्यक्ति–यक्तिले एक्लै–एक्लै नमनाएर सामूहिक रुपमा गाउँलेहरु मिलेर मनाईन्छ । तीन दिनसम्म विभिन्नि कार्यक्रमहरु आयोजना गरेर ‘यार्तुङ पर्व’ भव्य रुपमा मनाईने गरिन्छ । सो क्रममा सबै गाउँलेहरु मिलेर विभिन्न खालका मनोरञ्जनात्मक कार्यक्रमहरु पनि गर्ने गरिन्छ । जस्तो कि, स्थानीय नाच स्याब्रु, धनु–वाण हान्ने प्रतियोगिता, घोडा दौड प्रतियोगिता, लामा–गुरुले प्रकृतिलाई धन्यवाद दिन गर्ने पाठ–पूजा आदि । ‘यार्तुङ पर्व’ मनाउने क्रममा पहिलो दिन लामा–गुरुले प्रकृतिलाई धन्यवाद दिनलाई विशेष पाठ–पूजा गर्छन् भने दोस्रो दिन चाहिँ सबै गाउँलेहरु मिलेर गोलो घेरा बनाएर वा लामो लाईन लागेर स्याब्रु नाच नाच्छन् । तेस्रो दिन धनु–वाण हान्ने खेलका साथै घोडा दौड प्रतियोगिता गरिन्छ । आजभोलि चाहिँ धनु–वाण हान्ने प्रतियोगिता, घोडा दौड प्रतियोगिता, पहिलो हुने प्रतियोगीलाई नगद पुरस्कारको पनि व्यवस्था गर्न थालिएको छ । यसरी हेर्दा ‘यार्तुङ पर्व’ स्थानीयस्तरका सबै गाउँलेहरु मिलेर मनाईने सामुहिक पर्व मात्रै नभएर उत्सव हो भन्न सकिन्छ । त्यस्तै गरेर विगत केही वर्षदेखि ‘यार्तुङ पर्व’को अवसरमा हुने स्थानीय नाच स्याब्रु, धनु–वाण हान्ने प्रतियोगिता, घोडा दौड प्रतियोगिता हेर्न स्वदेशी एवम् विदेशी पर्यटकहर समेत आउन थालेका छन्, मनाङ, मुस्ताङ, डोल्पालगायत जिल्लामा हुने ‘यार्तुङ पर्व÷उत्सव’को अवसरमा ।

मथि नै एक प्रसंगमा भनियोकि, ‘यार’ र ‘तुङ’ मिलेर बनेको हो, ‘यार्तुङ ।’ साथै तिब्बती भाषामा ‘यार’को अर्थ र ‘बर्खा÷वर्षा’ एवम् ‘तुङ’को अर्थ चाहिँ ‘रमाईलो वा विदाई’ भन्ने हुन्छ भन्ने पनि उल्लेख गरिएकै छ । त्यसैले सामान्य अर्थमा हेर्दा एक पर्व र उत्सव जस्तो मात्रै देखिए तापनि ‘यार्तुङ’ पर्व मनाउनु भनेको वर्षालाई विदाई गर्नु अथवा वर्षा सकिएपछि धुमधामका साथ रमाईलो मनाउनु÷गर्नु हो भन्ने बुझिन्छ । साथै सबैमा सुख र शान्ति होस् । प्राकृतिक विपत्ति आई नलागोस् । अन्नबालीमा ‘सह’ लागोस् । पशु–धन जस्तै याक, नाक, चौरीं, घोडा, च्याङग्रा पालन राम्रो होस् । गाउँघरमा कसैलाई रोग–व्याधी नलागोस् । गाउँमा नराम्रो घटना नघटोस् भन्नलाई पनि ‘यार्तुङ’ पर्व मनाईने गरिछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार