वाम आन्दोलनको निर्णायक मोड : संरक्षक पुराना, नेतृत्व नयाँ पुस्तामा र विखण्डित शक्तिको एकता

  प्रवास शर्मा आचार्य
91 Shares

नेपालको वामपन्थी आन्दोलन लामो संघर्ष, त्याग र वैचारिक प्रतिबद्धताबाट निर्माण भएको एउटा ऐतिहासिक धरोहर हो । यो आन्दोलनले केवल शासन परिवर्तन मात्र गरेन, समाजको चेतना, संरचना र शक्तिको सन्तुलनमै गहिरो हस्तक्षेप गर्‍यो । सामन्ती सोच, राजतान्त्रिक निरंकुशता र वर्गीय विभेदविरुद्धको संघर्षबाट जन्मिएको वाम आन्दोलनले नेपाली समाजलाई नयाँ दिशातर्फ डोर्‍यायो । तर, इतिहासको यही गौरव बोकेको आन्दोलन आज गम्भीर संक्रमणकालमा उभिएको छ, जहाँ यसको भविष्य नेतृत्वको स्वरूप, पुस्तान्तरणको साहस र विखण्डित शक्तिहरूलाई एकतामा बाँध्ने क्षमतामा निर्भर छ । वाम आन्दोलनलाई यहाँसम्म ल्याउन पुराना पुस्ताका नेताहरूको भूमिका अस्वीकार गर्न सकिँदैन । उनीहरूले कठिन संघर्षका चरणहरू पार गर्दै, जेलनेल र भूमिगत जीवन बिताउँदै आन्दोलनलाई संस्थागत रूप दिएका हुन्। उनीहरू केवल नेता होइनन्, आन्दोलनका जीवित इतिहास हुन् ।

त्यसैले उनीहरूको योगदानलाई नकार्ने होइन, सम्मान गर्दै उचित भूमिकामा स्थापित गर्नु आजको आवश्यकता हो। तर, समयले नयाँ माग अघि सारेको छ । आजको समाज प्रविधिमुखी, सूचनामुखी र परिणाममुखी बनिसकेको छ । नयाँ पुस्ता परम्परागत नारामा होइन, पारदर्शिता, उत्तरदायित्व र प्रत्यक्ष उपलब्धिमा विश्वास गर्छ । यस्तो अवस्थामा पुरानै शैलीको नेतृत्व संरचनाले आन्दोलनलाई अगाडि बढाउन सक्दैन । लामो समयसम्म एउटै नेतृत्वको निरन्तरताले संगठनभित्र जडता पैदा गरेको छ ।

निर्णय प्रक्रियामा केन्द्रीकरण, नयाँ विचारप्रति असहजता र आलोचनाप्रति असहिष्णुता जस्ता प्रवृत्तिहरूले आन्दोलनको ऊर्जा कमजोर बनाएको छ । यसले जनतासँगको सम्बन्धलाई पनि असर पुर्‍याएको छ, जसका कारण वाम शक्तिहरू आज रक्षात्मक अवस्थामा पुगेका छन् । अबको समाधान पुराना नेताहरूलाई विस्थापित गर्नु होइन, उनीहरूको भूमिकालाई पुनःपरिभाषित गर्नु हो । उनीहरूलाई संरक्षकको रूपमा स्थापित गर्दै वैचारिक मार्गदर्शन, अनुभवको हस्तान्तरण र रणनीतिक सन्तुलन कायम गर्ने जिम्मेवारी दिन सकिन्छ । तर, कार्यकारी नेतृत्व, नीतिगत निर्णय र संगठन सञ्चालनको जिम्मेवारी भने नयाँ पुस्तामा हस्तान्तरण गर्नैपर्छ । नयाँ पुस्तामा ऊर्जा, नवीन सोच र समयअनुकूल क्षमता छ । उनीहरू प्रविधिसँग नजिक छन्, विश्व परिवेश बुझ्छन् र जनतासँग नयाँ ढंगले संवाद गर्न सक्छन् । तर, अवसर बिना उनीहरूको नेतृत्व विकास सम्भव हुँदैन । आजको युवा पुस्ता केवल सहभागी होइन, नेतृत्वको दावेदार बनेको छ ।

यदि वाम आन्दोलनले उनीहरूको आकांक्षालाई सम्बोधन गर्न सकेन भने, उनीहरू वैकल्पिक राजनीतिक शक्तितर्फ आकर्षित हुनेछन्। यसै सन्दर्भमा वाम आन्दोलन कमजोर हुनुको अर्को प्रमुख कारण हो, विखण्डन । एउटै विचारधारा बोकेका शक्तिहरूबीच निरन्तरको टुटफुट, विभाजन र आपसी अविश्वासले आन्दोलनको समग्र शक्ति क्षय भएको छ । व्यक्तिवाद, साना स्वार्थ र नेतृत्व प्रतिस्पर्धाले विचार र उद्देश्यलाई पछाडि धकेलेको छ। यसको परिणामस्वरूप जनतामा भ्रम, निराशा र अविश्वास बढेको छ । त्यसैले, अबको अनिवार्य कार्यभार हो, वाम शक्तिहरूबीचको वास्तविक र दिगो एकता । यस्तो एकता केवल चुनावी समीकरणमा सीमित हुनुहुँदैन, बरु वैचारिक स्पष्टता, साझा कार्यक्रम र दीर्घकालीन प्रतिबद्धतामा आधारित हुनुपर्छ । एकता भनेको आत्मसमर्पण होइन, साझा लक्ष्यका लागि सहकार्य हो । जब विचारलाई केन्द्रमा राखिन्छ र स्वार्थलाई सीमित गरिन्छ, तब मात्र सुदृढ एकता सम्भव हुन्छ । नेतृत्वको पुस्तान्तरण र वाम एकता यी दुई आधार विना आन्दोलनको पुनर्जागरण सम्भव छैन ।

पुस्तान्तरणले नयाँ ऊर्जा र नविनता दिन्छ भने एकताले शक्ति र प्रभाव दिन्छ। यी दुबैको अभावमा आन्दोलन केवल औपचारिक संरचनामा सीमित हुन्छ, जनजीवनमा प्रभावकारी हुन सक्दैन । त्यसैले वाम आन्दोलनको पुनर्जीवनका लागि अब स्पष्ट दिशा आवश्यक छ, आत्मआलोचना र शुद्धीकरण, संरचनागत सुधार, नेतृत्वको पुस्तान्तरण र विखण्डित शक्तिहरूको एकता । यदि यी आधारहरूलाई व्यवहारमा उतार्न सकियो भने, वाम आन्दोलन फेरि पनि समाज परिवर्तनको अग्रणी शक्ति बन्न सक्छ । अन्यथा, यो आन्दोलन क्रमशः ऐतिहासिक स्मृतिमा सीमित हुने जोखिममा पर्नेछ। अन्ततः, समयले स्पष्ट सन्देश दिइरहेको छ, संरक्षकका रूपमा पुराना पुस्ताको अनुभव, नेतृत्वका रूपमा नयाँ पुस्ताको ऊर्जा र शक्तिका रूपमा वामपन्थीहरूको एकता यही नै अबको अपरिहार्य बाटो हो। यही बाटो अपनाइएमा भविष्य निर्माण हुन्छ, नत्र इतिहासले फेरि अर्को विकल्प खोज्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार