हुक्वापूजामा ज्येष्ठ आङदेम्बे सम्मानित, एकता र बन्धुत्वको सन्देश

  नयाँ बुलन्द
273 Shares

पाँचथर: पापोहाङ आङदेम्बे सामाजिक कल्याण समिति झापाले शनिबार कनकाई नगरपालिकास्थित भुरुङ्गामा हुक्वापूजा तथा सम्मान कार्यक्रम आयोजना गर्दै ज्येष्ठ आङदेम्बे वंशजहरूलाई सामूहिक रूपमा सम्मान गरेको छ।

समितिको वार्षिक कार्यक्रमअन्तर्गत जिल्लाभरिका आङदेम्बे दाजुभाइ, दिदीबहिनी तथा चेलीबेटीहरूको उल्लेख्य उपस्थितिमा गालीश्राप पूजा सम्पन्न गरिएको हो। सो अवसरमा एक दर्जनभन्दा बढी ज्येष्ठ अग्रजहरूलाई सम्मान गरिएको थियो भने आङदेम्बे चेलीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको समितिका सचिव देवेन्द्र आङदेम्बेले जानकारी दिए।

सम्मानित हुने ज्येष्ठ नागरिकहरूमा काकडभिट्टाका खगेन्द्र, दाम्राभिट्टाका रामप्रसाद, माईधारका कालुमान, बुद्धशान्तिका मानबहादुर, चन्द्रबहादुर, ज्ञानबहादुर, ज्ञानमाया, छत्रबहादुर, चन्द्रमाया र कुमार आङदेम्बे लगायत रहेका छन्।

संस्थाका अध्यक्ष सन्तवीर आङदेम्बेको अध्यक्षता तथा समाजसेवी मनप्रसाद आङ्देम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले आङदेम्बे समुदायबीच एकता, सहकार्य र संस्थागत विकासका लागि सामूहिक भावना आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथि  आङदेम्बे, देवित्रा आङदेम्बे, भवानी विक्रम चेम्जोङ, किरात याक्थुङ चुम्लुङ झापाका पूर्व अध्यक्ष टेकबहादुर आङदेम्बे, जयश्वर आङदेम्बे तथा पत्रकार विष्णु आङदेम्बे लगायतले मन्तव्य राखेका थिए। वक्ताहरूले आङदेम्बे समुदायबीचको बन्धुत्वलाई थप बलियो बनाउँदै सामाजिक र सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

अध्यक्ष सन्तवीर आङदेम्बेले संस्थाले स्थापना भएयता समुदायका सदस्यहरूबीच एकता कायम गर्ने, सामाजिक कार्यमा सहकार्य बढाउने तथा विभिन्न अवसरमा सहयोग आदानप्रदान गर्ने कार्य गर्दै आएको जानकारी गराए।

हुक्वापूजाका क्रममा आङदेम्बे परिवारले किरात धर्म तथा परम्पराअनुसार पूजापाठ गरेका थिए। परिवार, समाज र देशमा सुख, शान्ति तथा समृद्धि कायम होस् भन्ने उद्देश्यले हरेक वर्ष विशेष कार्यक्रमसहित हुक्वापूजा मनाउने गरिएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा गायिका नविना आङदेम्बे ले भाषिक धाननाच गीत प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेकी थिइन्। साथै, कार्यक्रममा सहभागीहरूबीच पारिवारिक भेटघाट, चिनजान तथा विशेष खानपिनको व्यवस्था पनि गरिएको थियो।

चार वर्षअघि स्थापना भएको पापोहाङ आङदेम्बे सामाजिक कल्याण समितिले झापामा छरिएर रहेका आङदेम्बे समुदायबीच बन्धुत्व, एकता र सामाजिक सहकार्यलाई बलियो बनाउन विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार