इलामको उत्तरी क्षेत्रमा चितुवाको आतङ्क

 

चितुवाले मारेको सन्दकपुर गाउँपालिका-५ पिप्लेका किसान घनश्याम थेवेको माउ गाई ।

इलाम : इलामको उत्तरी क्षेत्रमा पछिल्लो समय चितुवाको आतङ्क बढेको छ । जिल्लाको सन्दकपुर गाउँपालिकाको पिप्ले र माईजोगमाई गाउँपालिको खोलागाउँमा चितुवाले घरपालुवा जनावर मार्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

सन्दकपुर गाउँपालिका-५ पिप्लेका किसान घनश्याम थेवेको ब्याउन लागेको गाई चितुवाले मारेको छ । चरनका लागि घरनजिकै जङ्गलमा गएको गाई नफर्केपछि खोजतलास गर्ने क्रममा चितुवाले मारेर केही भाग खाएको अवस्थामा फेला परेको किसान थेवेले बताए ।

‘दिउँसो अन्य गाईहरु चरनका लागि घरनजिकैको जङ्गलमा छोडेका थियौं । बेलुका नफर्केपछि खोजतलास गर्ने क्रममा शरीरको केही भाग चितुवाले खाएको अवस्थामा भेटिएको छ,’ थेवेले भने । विगतका वर्षहरुमा समेत चितुवाले उहाँको पशुमा क्षति पुर्‍याएको थियो ।

सो क्षेत्रमा बर्सेनि चितुवाले किसानका घरपालुवा जनावर मार्ने गरेको अर्का किसान देव साउदेनले गुनासो गरे । चितुवाले साउदेनको एउटा बाच्छा र अर्का किसान हर्कबहादुर थेवेको दुईवटा माउ बाख्रा मारेको छ । ‘रातभरि निगरानी गरेर बस्न पनि सकिदैँन । कतिबेला आएर गोठ-खोरमा नै पसेर मारिदिन्छ,’ साउदेनले भने, ‘जङ्गली जनावरको आतङ्कले अब बसाइँ नै सर्नुपर्ने अवस्था आइसकेको छ ।’

चितुवाले केही समय अघिमात्र सन्दकपुर गाउँपालिका-४ माबुका किसान पासाङ शेर्पाको एउटा बाच्छा र  साङ्गे शेर्पाको ब्याडे बोका मारेको थियो । चितुवाले उता सन्दकपुर गाउँपालिका-५ र माईजोगमाई गाउँपालिका-२ को सीमाक्षेत्र खोलागाउँका दुई किसानको चार वटा माउ बाख्रा समेत मारेको थियो ।

सन्दकपुर र माइजोगमाईका किसानलाई घरपालुवा जनावर मात्र होइन, अन्नबाली समेत जोगाउन धौधौ पर्ने गर्छ । हुलका हुल आउने बाँदर, दुम्सी, बँदेल र भालुले बारीमा लगाएको अन्नबाली नै नष्ट गर्ने गरेको सन्दकपुर-५ जमुनाका किसान रुद्र थेवेको गुनासो छ ।

‘लगाएको बाली कतिबेला जङ्गली जनावरले सखाप पार्ने हो भन्ने चिन्ता किसानलाई सधैँ लागिरहन्छ,’ उनले भने, ‘सरकारले जङ्गली जनावर नियन्त्रण गर्ने प्रभावकारी नीति ल्याए किसानलाई केही राहत हुने थियो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार