पाँचथरः भाषा, साहित्य, कला, संस्कृति तथा स्थानीय पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘दोस्रो फाल्गुनन्द साहित्य महोत्सव–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ। फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडास्थित तिजोक बहुसाँस्कृतिक पार्कमा आयोजित महोत्सवले साहित्यिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधिमार्फत विशेष रौनक थपेको थियो।
फाल्गुनन्द गाउँपालिकाको सहयोग तथा फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न महोत्सवमा गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बे प्रमुख अतिथि तथा उपाध्यक्ष ठाकुरसिं नेम्बाङ विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य राज दिलाञ्लीले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष केहेरसिं चेम्जोङले राखेका थिए।
महोत्सवको प्रमुख आकर्षणका रूपमा यस वर्षको महोत्सवमा दुई जना विशिष्ट स्रष्टालाई सम्मानसमेत गरिएको छ। ‘फाल्गुनन्द प्रज्ञा साहित्य पुरस्कार’ कवि, गीतकार, लेखक तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ भने ‘फाल्गुनन्द प्रज्ञा मातृभाषा पुरस्कार’ लिम्बू मातृभाषाका अभियन्ता, कवि तथा राजनीतिज्ञ वीर नेम्बाङलाई प्रदान गरिएको छ।
फाल्गुनन्द गाउँपालिका साविक आङ्साराङ–८ हाल ६ नम्बर वडामा जन्मिएका उपेन्द्र सुब्बा नेपाली साहित्य र चलचित्र क्षेत्रमा स्थापित व्यक्तित्व हुन्। उनी ‘जारी’, ‘कबड्डी’ जस्ता चर्चित चलचित्रका पटकथा लेखक हुन् भने ‘जारी’ चलचित्रका निर्देशक पनि हुन्। ‘लाटो पहाड’ जस्तो चर्चित कथाका लेखक रहेका उनी ‘सृजनशील अराजकता’ साहित्यिक आन्दोलनका प्रवर्तक तथा पद्मश्री साहित्य पुरस्कार प्राप्त स्रष्टा हुन्। महोत्सवमा उनको व्यक्तित्वमाथि साहित्यकार सूर्य याक्थुङ्बा (योङहाङ) ले चर्चा गरेका थिए।
त्यसैगरी फाल्गुनन्द गाउँपालिका–२ इम्बुङमा जन्मिएका वीर नेम्बाङ लिम्बू मातृभाषाका प्रखर अभियन्ता, उम्दा कवि तथा लिम्बुवान आन्दोलनका अगुवा व्यक्तित्वका रूपमा परिचित छन्। राजनीति, भाषा र साहित्यसम्बन्धी उनका दर्जनौं कृति प्रकाशित छन्। मातृभाषा संरक्षण, पहिचान र साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको हो। महोत्सवमा उनको परिचय लालबहादुर नेम्बाङ (एलबी) ले प्रस्तुत गरेका थिए। महोत्सवमा प्रजातान्त्रिक सेनानी स्वर्गीय भूविक्रम नेम्बाङको व्यक्तित्वमाथि प्रतिष्ठानकी सदस्य बबिता नेम्बाङ गुरुङले चर्चा गरेकी थिइन्।
महोत्सवमा डा. मधुराज केरुङले ‘फाल्गुनन्द गाउँपालिकाभित्रका साहित्यकारहरू र तिनका योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने साहित्यकार प्रेम ओझाले ‘फाल्गुनन्द गाउँपालिकाभित्रका पर्यटन सम्भावना र चुनौतीहरू’ विषयमा प्रस्तुति दिएका थिए। त्यस्तै, मानवशास्त्री दिलविक्रम आङ्देम्बेले ‘मुक्कुहाङको मिथकसँग सम्बन्धित स्थान नामहरू निबुखोलादेखि सुकेपोखरीसम्म’ विषयमा सम्भाषण प्रस्तुत गरेका थिए।
यसैबीच कवि गजेन्द्र सोजे राईद्वारा लिखित कविता संग्रह ‘नलेखिएको तमसुक’ को विमोचन गरिएको थियो। उक्त कृतिमाथि साहित्यकार रबिन कोर्काली तिम्सिना तथा हाङ्युग अज्ञातले समीक्षा प्रस्तुत गरेका थिए। पुस्तक विमोचनसँगै नयाँ पुस्ताका लेखक तथा सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्य व्यक्त गरिएको थियो।
कार्यक्रममा उपेन्द्र सुब्बा, हाङ्युग अज्ञात, सुन्दर कुरुप, बेकामे इन्द्र, डा. मधुराज केरुङ, पूर्णकुमार खड्का, रबिन कोर्काली तिम्सिना, श्याम तुफान, हेम सेमेक्वा, मनेन्द्र केरुङ ‘आहुती’ तथा मनिराज नेम्बाङलगायतका स्रष्टाहरूको सहभागिता रहेको थियो। सहभागी कविहरूले आफ्ना सिर्जना प्रस्तुत गर्दै भाषा, पहिचान, संस्कृति र समकालीन समाजका विषयमा विचार व्यक्त गरेका थिए।
महोत्सवमा विभिन्न जातजातिका सातवटा सांस्कृतिक झाँकी तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो। राई समुदायको साकेला, मगर समुदायको हुर्रा र कौडा, तामाङ समुदायको डम्फुसेलो, लिम्बू समुदायको केलाङ नाच, खसआर्य समुदायको संगीनी, नेवार समुदायको लाखे नाच तथा नेपाली पञ्चेबाजा प्रस्तुत गरिएको थियो। उत्कृष्ट प्रस्तुति दिने सबै समूहलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
महोत्सव सम्पन्न भएको तिजोक बहुसाँस्कृतिक पार्कलाई भविष्यमा महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याइएको छ। पार्क व्यवस्थापन समितिका अध्यक्ष राजकुमार आङ्देम्बे (राज दिलाञ्ली) का अनुसार यहाँ अलवेदर सडक, विद्युत, खानेपानी तथा सोलार ग्रिडको आवश्यकता रहेको छ। साथै जिपलाइन, होमस्टे तथा रिसोर्ट सञ्चालनको सम्भावना पनि रहेको जनाइएको छ।
वरिपरि सल्लाका रुखले घेरिएको रमणीय डाँडामा रहेको यस स्थानमा दृश्यावलोकनका लागि भ्यूटावर निर्माण गर्न सके अझ आकर्षक बन्ने स्थानीयको विश्वास छ। यस क्षेत्रलाई बहुसाँस्कृतिक पार्कका रूपमा विकास गर्ने दीर्घकालीन योजना अनुसार थेवा र युमाको शालिकसहितको पार्क, फाउन्टेन पोखरी तथा विभिन्न जातजाति र समुदायका सांस्कृतिक चिन्हहरू निर्माण गर्ने अवधारणा अघि सारिएको छ। हाल विभिन्न महानुभावहरुले यस ठाउँमा संरचना निर्माण गर्न साथ सहयोग गरिरहेको जनाइएको छ ।
संघ, प्रदेश, स्थानीय तह तथा विभिन्न महानुभावहरूको सहयोगमा यहाँ विभिन्न संरचना निर्माण भइसकेको जनाइएको छ। साहित्य, संस्कृति र पर्यटनलाई एकैसाथ जोड्दै सम्पन्न भएको दोस्रो फाल्गुनन्द साहित्य महोत्सवले तिजोक बहुसाँस्कृतिक पार्कको पहिचानलाई थप उचाइमा पुर्याएको आयोजकको विश्वास छ।


























































