
इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । गाउँपालिकाले हिजो (बुधबार) देखि वडामै पुगेर योजना सम्झौता गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले जानकारी दिए ।
गाउँपालिकाले प्रत्येक वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्ने योजनासहित पहिलो दिन बुधबार वडा नं. ४ फुएतप्पामा पुगेर योजना सम्झौता गरेको हो । बुधबार सो वडामा चालु आर्थिक वर्षमा छनौट भएका विभिन्न ११ वटा योजनाको सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिए ।
फाकफोकथुम गाउँपालिकाको कार्यालयबाट विनियोजन भएका गाउँपालिकास्तरीय र वडाबाट छनौट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडा कार्यालयबाटै सम्झौता गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत लिम्बूको नेतृत्वमा पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अखलेश यादव, योजना शाखा प्रमुख माधवप्रसाद दाहालसहितको गाउँपालिकाको कर्मचारी टिम वडा कार्यालय पुगेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत लिम्बूले साना योजना सम्झौता गर्न समेत गाउँपालिका पुग्नुपर्ने भएकाले उपभोक्ताले धेरै दु:ख पाईरहेकाले उपभोक्ताको सहजताका लागि वडा कार्यालयबाटै योजना सम्झौता गर्ने व्यवस्था मिलाईएको बताए ।
गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । फाकफोकथुमले सबै वडा कार्यालयमा पुगेर योजना सम्झौता गरिने जनाएको छ ।
यसैबीच फाकफोकथुमले उपभोक्ता समितिलाई अभिमुखीकरण समेत दिन थालेको छ । सबै वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीलाई एक दिवसीय अभिमुखीकरण सञ्चालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत लिम्बूले बताए ।














































