वडामै पुगेर योजना सम्झौता गर्दै फाकफोकथुम, उपभोक्तालाई सहज

  राम योङहाङ
2.9k Shares

योजना सम्झौता गर्न इलामको फाकफोकथुम गाउँपालिका-४ नं. वडा कार्यालय पुगेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अखलेश यादव, योजना शाखा प्रमुख माधवप्रसाद दाहालसहितको गाउँपालिकाको कर्मचारी टिम । 

इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । गाउँपालिकाले हिजो (बुधबार) देखि वडामै पुगेर योजना सम्झौता गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बूले जानकारी दिए ।

गाउँपालिकाले प्रत्येक वडा कार्यालयमा पुगेर योजना सम्झौता गर्ने योजनासहित पहिलो दिन बुधबार वडा नं. ४ फुएतप्पामा पुगेर योजना सम्झौता गरेको हो । बुधबार सो वडामा चालु आर्थिक वर्षमा छनौट भएका विभिन्न ११ वटा योजनाको सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिए ।

फाकफोकथुम गाउँपालिकाको कार्यालयबाट विनियोजन भएका गाउँपालिकास्तरीय र वडाबाट छनौट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडा कार्यालयबाटै सम्झौता गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत लिम्बूको नेतृत्वमा पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अखलेश यादव, योजना शाखा प्रमुख माधवप्रसाद दाहालसहितको गाउँपालिकाको कर्मचारी टिम वडा कार्यालय पुगेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत लिम्बूले साना योजना सम्झौता गर्न समेत गाउँपालिका पुग्नुपर्ने भएकाले उपभोक्ताले धेरै दु:ख पाईरहेकाले उपभोक्ताको सहजताका लागि वडा कार्यालयबाटै योजना सम्झौता गर्ने व्यवस्था मिलाईएको बताए ।

गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । फाकफोकथुमले सबै वडा कार्यालयमा पुगेर योजना सम्झौता गरिने जनाएको छ ।

यसैबीच फाकफोकथुमले उपभोक्ता समितिलाई अभिमुखीकरण समेत दिन थालेको छ । सबै वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारीलाई एक दिवसीय अभिमुखीकरण सञ्चालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत लिम्बूले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार