फाल्गुनन्दमा संचालित खसआर्य कर्मकाण्ड सम्बन्धि प्रशिक्षण सम्पन्न

  युद्धबहादुर बोहोरा
238 Shares

पाँचथरः जिल्लाको फाल्गुनन्द गाउँपालिकामा संचालन गरिएको खसआर्य समुदायको कर्मकाण्ड प्रवर्द्धन र संस्कृति संरक्षण सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ ।

गत सोमबारदेखि पालिकाको ५ नम्बर वडास्थित घुर्बिसे पञ्चमीमा सारथी अनलाइनद्वारा आयोजित अन्तरक्रियात्मक प्रशिक्षण बुधबार समापन गरिएको हो । खसआर्य समुदायले आफ्ना कर्मकाण्ड,संस्कार र संस्कृति मान्दै आए तापनि भुलेर कतिपय रीतिरिवाज ओझेलमा परी नयाँपुस्ताहरु अलमल्लमा नपरुन् भन्ने उदेश्यले पालिकाको आर्थिक सहयोगमा कार्यक्रम तर्जुमा गरिएको  जनाएको छ ।

आयोजक संस्थाका प्रतिनिधि राम योङ्हाङको अध्यक्षतामा समापन कार्यक्रमका  प्रमुख अतिथि पालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङ,विशेष अतिथि उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्बे,प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक र ६ नम्बर वडाका अध्यक्ष नारायणप्रसाद आङ्देम्बेको उपस्थितिसंगै मन्तव्य राखेका थिए । कार्यक्रममा उत्साहजनक उपस्थितिसहितको सहभागीले कर्मकाण्ड प्रतिको चासो राखेको देख्दा पालिकाबाट तर्जुमा गरिएको योजना उपलब्धिमुलक भएकोमा अतिथिले सबैलाई धन्यबाद ज्ञापन गरेका छन् । आगामी दिनमा सबै जातजतीलाई सम्मान र सद्भावको एउटै सुत्रमा बाँध्न पालिका अग्रसर रहेको उनीहरुले बताए ।

कार्यक्रममा पालिकाका विभिन्न वडाबाट करिब ६० जना खसआर्य समुदायका अग्रजहरुको सहभागिता रहेको प्रशिक्षणमा पण्डित द्वय कमल प्रसाद दाहाल र कमल भण्डारीले सहजीकरण गरेका थिए । जन्मदेखि मृत्यसम्मका संस्कार, कर्मकाण्ड,साईत हेर्ने,चिना टिपनको महत्व तथा संस्कृतिहरु बालन,संगीनी,भजन,कृतन,लगायतमा प्रशिक्षण दिंदै प्रष्ट्याएका छन् ।

प्रशिक्षणमा ७५ वर्षसम्मका महिला र पुरुषदेखि कक्षा १२ मा अध्ययनरत विद्यार्थी समेतको सहभागीता रहेको थियो । समापनमा सहभागी मध्येबाट ३ नम्बर वडाका तुलसी आचार्यले प्रशिक्षणबाट पाएको उपलब्धि सहित मन्तव्य राखेका थिए ।

समापनमा आयोजक संस्थाले गाउँपालिकालाई धन्यवादपत्र र सहजकर्तालाई कदरपत्र प्रदान गरेको छ भने अतिथिहरुबाट सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

आदिवासी लिम्बू समुदायको बाहुल्यता रहेको फाल्गुनन्द गाउँपालिकामा पहिलो पटक खसआर्य समुदायलक्षित कार्यक्रम संचालन हुँदा यस समुदायका नागरिक उत्साहित देखिएकोले समावेशी कार्यक्रमको तर्जुमा प्रति पालिकालाई आयोजक संस्थाका प्रतिनिधि योङ्हाङ्ले अन्त्यमा धन्यावाद ज्ञापन गर्दै समापन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार