
इलाम : विगतका वर्षमा जस्तै यस पटक पनि इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने धार्मिक क्षेत्र माईबेनीमा माघे सक्रान्ति मेला सुरु भएको छ । माइवेनीमा वर्षेनी तीन दिनसम्म भव्य रुपमा माघे सङ्क्रान्ति मेला लाग्ने गर्दछ ।
मेला आयोजक समितिका अनुसार माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम तथा सीमावर्ती भारतको दार्जि्लिङ, सिक्किम, मिरिकबाट हजारौं सर्वसाधारण एक साता देखि नै माईबेनी आइपुगेका छन् ।
माइवेनी मेला भर्न आउनेको भीडसंगै स्थानीयस्तरमा उत्पादन हुने उखु र सुन्तलाको धेरै किनबेच भएको छ । मेलामा दुई सय भन्दा धेरै अस्थायी पसल खोलिएका छन् ।
मेलामा भएको जनसहभागीता देखेर मेला लोप हुने डर हराएको मेला आयोजक समितिको दावी छ । इलाम जिल्लाको माईजोग्माई गाउपालिका र ईलाम नगरपालिका अन्तर्गत माईबेनीमा यो मेला वर्षौ अघिदेखि लाग्दै आएको छ ।
















































