प्रकाश नेपाल
इलाम : इलाम सदरमुकाम इलामबजारमा केही समययता चहलपहल घट्न थालेको छ ।
बजार सुनसान भएसँगै व्यापारी र व्यवसायी चिन्तित बनेका छन् । व्यापार घाटा हुने देखेपछि व्यापारीहरू पलायन हुने खतरा बढेर गएको छ ।स्थानीय तहको निर्वाचन भएको करिब १ वर्ष पुरा भइसकेको छ ।
साना साना काममा पनि सदरमुकाम र केन्द्रको मुख ताक्नुपर्ने परम्परा स्थानीय निकायले अन्त्य गरेपछि सदरमुकाममको चहलपहल घट्दै जान थालेको हो ।पहिलेपहिले निकै भिडभाड र चहलपहल हुने सदमुकाम अहिले सुनसान जस्तै भएपछि व्यापारीलाई चिन्ता थपिएको छ ।
सदरमुकाममा मानिसको आवतजावत् र बसोवास कम हुन थालेपछि व्यापारिक कारोबार पनि ओरालो लागेको छ ।४ नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा स्थानीय सरकार बनेपछि गाउँपालिका र नगरपालिकाका केन्द्रमा चहलपहल सुरु हुन थालेको छ ।
पहिले सदरमुकाममा हुने काम गाउँमै हुन थालेपछि होटलमा आउने ग्राहक ह्वात्तै घटेको सदमुकाममा होटल चलाउँदै आएका उदय तामाङ बताउँछन् ।मानिसहरु गाउँतिर पलायन हुने क्रम जारी रहे सदमुकामका व्यापारी विस्थापित हुने खतरा बढ्न थालेको छ ।
सदरमुकामका साना व्यापारी गाउँपालिकाको केन्द्रमा बसाइँ सरेको बताउँदै आफू भने अन्यौलमा रहेको व्यापारी खगेन्द्र बास्तोलाको भनाइ छ ।सदरमुकाममा चहलपहल घटेपनि स्थानीय तहमा भने कामको चाप बढ्दै गएको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि खतिवडा बताउँछन् ।
गाउँमै सबै सेवासुविधा पाएपछि सदमुकाममा मानिसको चहलपहल घटेको हो । योसँगै सबैजना सदरमुकाममै झुम्मिने परम्पराको अन्त्य हुने देखिन्छ ।साथै सदमुकामबाट व्यापारी पलायन हुने खतरालाई रोक्न सरोकारवाला निकायले चासो दिनु आवश्यक छ ।















































