चितवन : भरतपुरबाट काठमाडौँका लागि आज अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ ।
अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा इन्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रवन्धक राजेश सिंहले जानकारी दिए ।
यति एयरलाइन्सको ९एन एआइएस कलसाइनको जहाज २२ यात्रु लिएर काठमाडौँका लागि उडेको थियो ।
प्रबन्धक सिंहका अनुसार क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने बित्तिकै इन्जिनमा चरा छिरेको आशंका गरेपछि तत्कालै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराउनुभएको थियो ।
समयमै अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जहाज जोगिएको भरतपुर विमानस्थलले जनाएको छ । यात्रुहरु सकुशल रहेका छन् ।उनीहरुलाई अर्को जहाज झिकाएर काठमाडौँ पठाइएको सिंहले बताउनुभयो । अर्को जहाजमा इन्जिनियर पनि आएका छन् ।
चरा ठोक्किएको जहाजको परीक्षण गरेपछि तत्काल उडान गर्न सकिने कि नसकिने भन्ने यकिन हुने भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले बताए ।यसअघि पनि तारा एयरको विमान भरतपुरबाट मेघौली जाँदा चरा ठोक्किएपछि जहाजमै प्वाल परेको थियो ।



















































