
इलाम : इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरामा तीन वर्षमा चार करोड ६४ लाख २५ हजार ७८२ रुपैयाँ भेटी संकलन भएको छ । सानो पाथीभरा मन्दिरले परिचित यहाँ आर्थिक वर्ष २०७९/०८० को फागुन १ गतेदेखि आव ०८२/०८३ फागुन मसान्तसम्म सो परिमाणमा भेटी संकलन भएको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए ।
अध्यक्ष स्याङ्बोका अनुसार आव ०७९/०८० मा ८५ लाख २८ हजार १८७, आव ०८०/०८१ मा एक करोड ५६ लाख ६१ हजार ४८८, आव ०८१/०८२ मा एक करोड ३८ लाख ११ हजार ५६० र चालु आव ०८२/०८३ को फागुन मसान्तसम्म ८४ लाख २४ हजार ५४७ रुपैयाँ भेटी संकलन भएको छ । स्वदेश तथा विदेशबाट पाथीभरा मन्दिर दर्शनका लागि आउने भक्तजनले भेटीका रुपमा चढाएको रकम संकलन गरिएको उनले बताए ।
यस्तै सो अवधिमा लाखौं मुल्यको धातुहरु समेत संकलन भएको छ । सो अवधिमा ८ तोला १२ आना १ लाख सुन (सुद्धिकरण पछि) र ३०७ तोला चाँदी (सुद्धिकरण पछि) संकलन भएको अध्यक्ष स्याङ्बोले जानकारी दिए । सुद्धिकरण गर्न बाँकी रहेका काँसको घण्टी १३६७ किलोग्राम, तामाको त्रिसुल ५३२ किलोग्राम, तामाको लोटी १०६ किलोग्राम, दियो २९१ किलोग्राम, मानापाथी १११ किलोग्राम, पित्तलको थाली/प्लेट/बत्ती २२ किलोग्राम र झर्के थाल/लोटाहा २८ किलोग्राम संकलन भएको छ ।
पाथीभराबाट प्राप्त आम्दानी पाथीभराकै विकासमा खर्च
रोङ गाउँपालिकाले पाथीभरा मन्दिरबाट प्राप्त आम्दानी पाथीभराकै विकास, संरक्षण एवम् व्यवस्थापनमा खर्च गर्दै आएको छ । पाथीभरबाट प्राप्त आम्दानीमा रोङ गाउँपालिकाको बजेटबाट थप गरेर गाउँपालिकाबाट वार्षिक बजेट तथा कार्यक्रममार्फत पूर्वाधार विकास र संरक्षणमा लगानी गर्दै आएको अध्यक्ष स्याङ्बोले बताए ।
‘पाथीभरामा स्वदेश तथा विदेशबाट आउनुभएका भक्तजनहरुले दिनुभएको सहयोग यही क्षेत्रको विकास, संरक्षण एवम् व्यवस्थापनमा खर्च गर्दै आएका छौं’ अध्यक्ष स्याङ्बोले भने, ‘यहाँबाट संकलित रकमबाहेक गाउँपालिकाको बजेटबाट समेत रकम थपेर यसको पूर्वाधार विकार र संरक्षणको काम गर्दै आएका छौं ।’
अध्यक्ष स्याङ्बोका अनुसार मन्दिरमा रिटर्निङ वाल, पूजा सामग्री विक्री केन्द्र निर्माण, पुजारी किचन, कार्यालय एवम् भण्डारकक्षसहितको भवन निर्माण, नजिकै हाँसपोखरीको ब्युटीफिकेशन, हाँसपोखरीमा पूजा सामग्री विक्री केन्द्र निर्माण, सिंहदेवी मन्द्रिर प्रांगण व्यवस्थापन, कुँटीडाँडाको ब्युटिफिकेशन, सार्वजनिक शौचालय निर्माण, पाथीभरा भवन रङरोकन, मर्मतसम्भार र व्यवस्थापन, मन्दिर जाने सिँढी निर्माणलगायतको काम गरिएको छ ।
रोङ गाउँपालिकाले २०७९ फागुन १ गतेदेखि पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ लागू गरी पाथीभरा मन्दिरको सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । पालिकाले दिलिपकुमार राईको अध्यक्षतामा पाथीभरा संरक्षण तथा व्यवस्थापन समिति गठन गरी पाथीभराको संरक्षण एवम् प्राप्त भेटी र जिन्सीको व्यवस्थापन गर्दै आएको छ । सो मन्दिरबाट संकलन भएको भेटी गाउँपालिकाको आन्तरिक राजस्व खातामा जम्मा हुँदै आएको अध्यक्ष राईले बताए । त्यसअघि एक गैरसरकारी संस्थाको नाममा सञ्चालन हुँदै आएको थियो ।
उक्त समयमा मन्दिरबाट संकलन भएको भेटी अनियमितता भएको भन्दै रोङ गाउँपालिकाले प्रश्न उठाएको थियो । रोङ गाउँपालिकाले ताकेता गरेपछि त्यस समयमा जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेको थियो । छानबिनको क्रममा ८८ लाख हिनामिना भएको प्रतिवेदन सार्वजनिक भएको थियो । उक्त प्रतिवेदनमा चित्त नबुझेको भन्दै पुरानो समितिले उच्च अदालत विराटनगर, इलाम इजालसमा रिट दायर गर्यो । उच्च अदालतले उक्त समितिलाई सफाइको मौका नदिई असुल उपरको ताकेता गरेको भन्दै रिट जारी गर्यो । त्यसपछि सफाइको प्रमाणको आधारमा पुनः प्रमाणलाई अध्ययन गरी हुन आउने रकम असुल गर्न अदालतले २७ साउनमा आदेश दिएको थियो । उक्त आदेशपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरी काम गरिरहेको छ ।
पाथीभरा मेची राजमार्गअन्तर्गत कुटीडाँडा बजारबाट १ किलोमिटर माथिको डाँडामा पर्दछ ।



















































