
इलाम : किरात याक्थुङ चुम्लुङ इलामले जिल्लाका उत्कृष्ठ चारवटा पालिका, दुईवटा वडा शाखा र चारजना आन्दोलन योद्धलाई सम्मान गरेको छ । शुक्रबार चुम्लुङको नवौं जिल्ला अधिवेशनको अवसरमा सम्मान गरेको छ ।
इलाम क्षेत्र नं. २ मा २०८१ वैशाख १५ गते भएको ‘उपनिर्वाचन’, २०८१ माघ १२ गते ताप्लेजुङको मुक्कुमलुङमा भएको ‘मुक्कुमलुङ बचाउ’ आन्दोलन एवम् विभिन्न समयमा भएको प्रदेश १ को नाम ‘कोशी खारेजी’ आन्दोलनमा सक्रिय सहभागी भएका किरात याक्थुङ चुम्लुङ सूर्योदय नगर शाखा, माई नगर शाखा, देउमाई शाखा र माईजोगमाई गाउँ शाखालाई सम्मान गरिएको छ ।
त्यसैगरी किरात याक्थुङ चुम्लुङको नाममा जग्गा खरिद एवम् चुम्लुङहिम निर्माण गरी कार्यालय समेत सञ्चालन गरेका चुम्लुङ इलाम नगरपालिका-५ वडा शाखा र माङसेबुङ गाउँपालिका-१ वडा शाखालाई सम्मान गरिएको छ ।
त्यस्तै २०८१ माघ १२ गते ताप्लेजुङको मुक्कुमलुङमा भएको ‘मुक्कुमलुङ बचाउ’ आन्दोलनमा सक्रिय सहभागिता जनाउने क्रममा राज्यतर्फबाट भएको दमनमा घाइते बनाइका योद्धाहरु रामकुमार राई, अमृत तामाङ र मिलन साँवालाई सम्मान गरिएको छ । त्यस्तै सोही आन्दोलनमा प्रहरीको नियन्त्रणमा परी हिरासतमा बस्न बाध्य बनाइएका योद्धा योगेन्द्र लावतीलाई सम्मान गरिएको चुम्लुङले जनाएको छ ।
उनीहरुलाई चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मी, प्रमुख अतिथि संघीय उपाध्यक्ष चन्द्रबहादुर आङदेम्बे, विशेष अतिथि संघीय सचिव चक्र येक्नेन (अभिषेक) येक्तेनलगायतले सम्मानपत्रसहित सम्मान गरेका थिए ।
त्यस्तै अधिवेशनको व्यवस्थापक चुम्लुङ इलाम नगर शाखा एवम् के:लाङ (च्याब्रुङ नाच) समूह सेक्मुरी केलाङ क्लब इलाम र किरात याक्थुङ चुम्लुङ माईजोगमाई गाउँ शाखालाई प्रसशांपत्र प्रदान गरिएको थियो ।
अध्यक्षमा सोङ्मी
किरात याक्थुङ चुम्लुङ इलामको अध्यक्षमा पुन: बुद्धमाया सोङ्मी निर्वाचित भएकी छन् ।
शुक्रबार इलाम सदरमुकाममा सम्पन्न किरात याक्थुङ चुम्लुङ इलामको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुन: बुद्धमाया सोङ्मी निर्वाचित भएकी हुन् । अधिवेशनबाट दोस्रो कार्यकालका लागि सोङ्मी निर्वचित भएको चुम्लुङ्का केन्द्रीय सचिव एवम् निर्वाचन समिति संयोजक चक्र येक्तेन (अभिषेक) ले जानकारी दिए ।
आठौं जिल्ला अधिवेशनबाट समेत सोङ्मि अध्यक्षमा निर्वाचित भएकी थिइन् । येक्तेनका अनुसार अधिवेशनले सोङ्मीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरको छ ।
उपाध्यक्षमा याम माबोहाङ र संगीता थलङ, सचिवमा राम लिङदम, सहसचिवमा रुद्र थेवे र अतित योङहाङ एवम् कोषाध्यक्षमा माया लिम्बू निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । सदस्यहरुमा नविनसुन्दर सेर्मा, डम्बरबहादुर लिम्बू, खगेन्द्र योङहाङ, मनबहादुर लिम्बू, फूलकुमारी सेर्मा, शिव थेगिम, दुर्गा थेगिम, रामविर लिम्बू र कुमार फत्र निर्वाचित भएको छ ।
त्यसैगरी राष्ट्रिय चुम्लुङ सदस्यमा राम योङहाङ र एन्जेस येक्तेन निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक येक्तेनले जानकारी दिए ।
१३ बुँदे इलाम घोषणापत्र जारी
अधिवेशनले ‘१३ बुँदे इलाम घोषणापत्र’ जारी गरेको छ । घोषणापत्र जारी गर्दै चुम्लुङले लिम्बू समुदायको बाहुल्य रहेको दुई स्थानीय तहमा लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरी कार्यान्वयन गर्न माग गरेको छ । लिम्बू समुदायको बाहुल्य रहेको माङसेबुङ र चुलाचुली गाउँपालिकामा लिम्बू भाषालाई सरकारी कामकाजी घोषणा गरी कार्यान्वयन गर्न माग गरेको हो ।
‘लिम्बू जातिको बाहुल्यता रहेको माङसेबुङ र चुलाचुली गाउँपालिकामा लिम्बू भाषा सरकारी कामकाजी घोषणा गरी कार्यान्वयन गर्न यो अधिवेशन जोडदार माग गर्दछ,’ अधिवेशनबाट जारी घोषणापत्रमा उल्लेख छ ।
अधिवेशनले ताप्लेजुङको पाथीभरामा सुरु गरिएको केवलकार परियोजना खारेज गर्न, लिम्बू भाषा र लिपि पठनपाठनमा शिक्षक दरबन्दी सिर्जना गरी पठनपाठन सहज बनाउन, लिम्बू भाषा लिपिका लागि स्थानीय तहबाट बजेट विनियोजन गर्न, लिम्बू जातिको साँस्कृतिक सम्पदा, दाहसंस्कारस्थल, समाधिस्थल, पुरातात्विकस्थल आदिमा हुने अतिक्रमणको अन्त्य गर्नलगायको माग गरेको छ ।
अध्यक्ष सोङ्मीको अध्यक्षता र चुम्लुङ संघीय उपाध्यक्ष आङदेम्बेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा संघीय सचिव येक्तेनसहित लिम्बुवान प्रदेश समिति उपाध्यक्ष तिर्थ साउदेन, किरात याक्थुङ चुम्लुङ इलामका सल्लाहकार, नेपाल आदिवासी जनजाति महासंघ इलामका सचिव रञ्जिता याख्खालगायतले शुभकामना मन्तव्य राखेका थिए । चुम्लुङ सचिव राम योङहाङले सञ्चालन गरेको कार्यक्रमको स्वागत सहसचिव याम माबोहाङले गरेका थिए ।
तस्बिरहरु :
‘ 
































































