
इलाम : प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि इलाममा ६ हजार ९ सय ३२ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङ्क अनुसार इलाममा २ लाख ३१ हजार ८ सय ९ जना मतदाता रहेका छन् । १ लाख १९ हजार ६ सय ४८ पुरुष, १ लाख १२ हजार १ सय ५८ महिला र ३ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
यो अघिल्लो प्रतिनिधिसभा निर्वाचन-२०७९ को मतदाता सङ्ख्या भन्दा ६ हजार ९ सय ३२ ले बढी हो । अघिल्लो निर्वाचनमा इलाममा २ लाख २४ हजार ८ सय ७७ मतदाता थिए । जसमध्ये १ लाख १५ हजार ९ सय ५२ पुरुष, १ लाख ८ हजार ९ सय २३ महिला र २ जना तेस्रो लिङ्गी मतदाता थिए । फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने व्यक्तिले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
१० वटा पालिका रहेको इलाममा प्रतिनिधिसधा निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र छन् । आउँदो निर्वाचनका लागि क्षेत्र नम्बर-१ मा १ लाख १२ हजार ३ सय २० मतदाता रहेका छन् । ५८ हजार ६ सय ७३ पुरुष, ५३ हजार ६ सय ४६ महिला र १ जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिए ।
क्षेत्र नम्बर-२ मा १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेका छन् । ६० हजार ९ सय ७५ पुरुष, ५८ हजार ५ सय १२ महिला र २ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
निर्वाचनका लागि इलाममा एक सय ९० मतदानस्थालमा २ सय ५० मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुएँलले जानकारी दिए ।






















































