
इलाम : इलामको सूर्योदय नगरपालिकाको चालू आर्थिक वर्ष २०८२।०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई मङ्गलबार श्रीअन्तुमा सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको सहजीकरणमा सूर्योदय नगरपालिका-४ र ५ को सीमाक्षेत्र अन्तु भञ्ज्याङमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
नगर कार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा १२८ जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा १० जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए । कार्यक्रममा सूर्यप्रसाद तिम्सिना, खगेन्द्र घिमिरे, विपीन पोख्रेल, धनकुमार आले, मनप्रसाद प्रधान, एकरमज घिमिरे, धनप्रसाद दुलाल, प्रविण तिम्सिना, रंजित प्रधान र ललित तामाङले नगरपालिकाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा विभिन्न प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए । त्यस्तै ९ जनाले लिखित सो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
प्रश्नकर्ताको प्रश्नको जवाफ सूर्योदय नगरप्रमुख रणबहादुर राई, ५ नं. वडा अध्यक्ष उर्गेन बम्जन, सहरी पूर्वाधार तथा बस्ती विकास शाखा प्रमुख सृजन गदान, शिक्षा अधिकृत नविनराज पौडेललगायतले दिएका थिए । उनीहरुले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रमुख राईले सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले नगरबासीहरुको सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले नगरपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट एवम् ४ नं. वडा सचिव तीर्थ घिमिरे र वडा नं. ५ का वडा सचिव सञ्जय ढुङ्गेलले वडाबाट चौमासिक अवधिमा भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रस्तुत गरेका थिए ।

त्यस्तै बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट सहजकर्ता राम योङहाङले ३२ जना नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन र नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा ३२ जनासँग लिएको बहिर्गमन अभिमत नतिजा प्रस्तुत गरेका थिए ।
नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो । त्यस्तै, अघिल्लो सार्वजनिक सुनुवाईमा उठेका सवालको कार्यान्वयनको अवस्थाको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो बुद्धवाणी एफएम, सूर्योदय नगरपालिका र नयाँ बुलन्द डटकमको अफिसियल फेसबुक पेजबाट भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :
कार्यक्रमको तस्बिरहरु :






























































