
इलाम : फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसले इलाम-१ का लागि ९ जनाको नाम सिफारिस गरेको छ ।
मङ्गलबार बसेको क्षेत्रीय कार्यसमितिको क्षेत्रीय संसदीय बोर्डको बैठकले पूर्वराज्यमन्त्रीद्वय बेनुपराज प्रसाईं र केशव थापालाई सिफारिस गरेको छ ।
यस्तै संविधानसभा सदस्य टीकाराम लाप्चा, जिल्ला सभापति डम्बरबहादुर खड्का, महासमिति सदस्य भेषराज आचार्य, नेताहरू नगेन्द्र बुढाथोकी‚ प्रदेशसभा क्षेत्रीय सभापति निष्कल राई‚ भूपेन्द्र कट्टेल र हरिप्रसाद लुइँटेललाई सिफारिस गरेको छ ।
यस्तै, महिला समानुपातिकतर्फ अनिता श्रेष्ठ र कुसुम दाहालको नाम सिफारिस गरेको छ । पुरूष समानुपातिकतर्फ चक्र एक्तेन (अभिषेक) र भीष्म प्रधानको नाम सिफारिस गरिएको प्रदेशसभा १ (ख) का क्षेत्रीय सभापति निश्कल राईले जानकारी दिए ।
नेपाली वर्णानुक्रम अनुसार सबैलाई समान प्राथमिकतामा जिल्ला समितिमा सिफारिस गरी पठाइएको राईले जानकारी दिए । बोधार्थ कोशी प्रदेश समिति र केन्द्रीय समितिलाई समेत पठाइएको उनले बताए ।
उता इलाम-२ का लागि भने अन्तिम नाम टुङ्गो लाग्न नसकेकाले सिफारिस गर्न सकेन । बुधबार विहान अन्तिम नाम टुङ्गो लगाएर सिफारिस गरिने क्षेत्रीय सचिव सुवास घिमिरेले जानकारी दिए ।





















































