
माङसेबुङ : एग्रो इलाम प्रालिको नवौं वार्षिकोत्सवको अवसरमा शनिबार इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखी रंगिन थियो । हर्षित मुद्रामा सयौंको सङ्ख्यामा कृषकहरुको भीडभाड, त्यही भीडभाडको बीचमा १०० वर्षीया जमुना कार्कीको मुस्कान विशेष आकर्षण थियो । कार्यक्रमले समुदायका बयोवृद्धदेखि युवा उद्यमीसम्म सबैलाई एकै मञ्चमा ल्याई सम्मान, प्रेरणा र सम्बन्धको सन्देश फैलायो ।
एग्रो इलामले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमार्फत स्थानीय ज्येष्ठ नागरिक सम्मानदेखि उत्कृष्ठ किसान सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा १०० वर्षीया जमुना कार्कीसहित ८० वर्ष माथिका २६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । स्थानीय समुदायमा बयोवृद्धको आदर, सम्मान र प्रेरणालाई केन्द्रमा राखेर उनीहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको आयोजक एग्रो इलामका संस्थापक याम कार्कीले बताए । आयोजकले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै सम्मान-संस्कारलाई प्रवर्द्धन गरेको हो ।
त्यस्तै कृषकहरूको मेहनत र मिहिनेतको कदर गर्दै १९ जनालाई सफल कृषकको रूपमा सम्मान गरिएको छ । कफी खेतीमा योगदान पुर्याउँदै आएका कृष्णबहादुर लिम्बू, जेष्ठ नागरिक उद्यमी तिलकर्ण लिम्बू र सेवा निवृत्त उद्यमी तिलक कार्कीलाई विशेष सम्मान प्रदान गरिएको छ ।
उद्यमशीलता क्षेत्रमा प्रेरणा बनेका देउमाई नगरपालिका–८ का चित्रबहादुर राई सफल उद्यमीका रूपमा र देउमाई–५ की डिल्लीमाया कार्की सफल महिला उद्यमीका रूपमा सम्मानित भए ।
त्यस्तै मोरिङ्गा खेतीलाई स्थानीय तहमा लोकप्रिय बनाएका जीवन राईदेखि अमलामा उत्कृष्ट प्रदर्शन गर्ने जसोदा राई र बेसार खेतीमा उत्कृष्ट प्रदर्शन गर्ने बीना थेबे र सरिता लिम्बूलाई पनि सम्मान गरियो । सम्मानित कृषकहरुका अनुहारमा देखिएको गर्व र खुसीले कृषि पेशाले जीवन परिवर्तन गर्न सक्ने सम्भावना झन् स्पष्ट पार्थ्यो ।
उत्कृष्ठ कृषकलाई पुरस्कार
त्यसैगरी कफी तथा दुग्ध उत्पादनमा उत्कृष्टता देखाउने कृषकहरूलाई उक्कृष्ट किसान पुरस्कारबाट पुरस्कृत गरिएको छ । कफी उत्पादनतर्फ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका पृथबहादुर कार्की, दिलकुमार लिम्बू र गणेश लिम्बूलाई पुरस्कृत गरिएको छ ।
दूध उत्पादनमा क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका डम्बरबहादुर भण्डारी, छत्रबहादुर थापा र हिमादेवी भण्डारीलाई पुसरक्त गरियो ।
उनीहरूलाई कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, वडा अध्यक्ष भूपाल योङहाङ तथा एग्रो इलामका संस्थापक याम र्कीलगायतले दोसल्ला, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरे ।
एग्रो इलामका संस्थापक याम कार्कीले कृषकहरूलाई प्रोत्साहन र प्रेरणा दिने उद्देश्यले सम्मान र पुरस्कार वितरण गरिएको बताए । ‘कृषक नै राष्ट्रको मेरुदण्ड हुन् । मेहनत, समर्पण र लगनसाथ उत्पादन गर्ने किसानलाई सम्मान गर्नु हाम्रो दायित्व हो,’ उनले भने, ‘कृषिमा आधुनिक प्रविधि, व्यावसायिक सोच र गुणस्तर वृद्धि गर्न हामी निरन्तर साथ रहन्छौं ।’
स्थानीयबासीहरूको उत्साह, किसानको हर्ष र ज्येष्ठ नागरिकको आशीर्वाद मिसिएको कार्यक्रमले कृषि उद्यमशीलता, उत्पादन र स्थानीय विकासमा सकारात्मक ऊर्जा थपेको आयोजकले जनाएको छ ।
एग्रो इलाम माङसेबुङको एक अगुवा कृषि कम्पनी हो ।
तस्बिरहरु:







































































